वीरगञ्जको शानदार जित




कोहलपुर ।

नेपाल सुपर लिगमा वीरगञ्ज युनाइटेडले डिफेण्डिङ च्याम्पियन काठमाडौं रेजर्समाथि शानदार जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा वीरगञ्जले काठमाडौंमाथि ४–१ को फराकिलो जित हात पारेको हो ।

नेपाल सुपर लिगको समापन खेलका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्य रहेका थिए ।

खेलमा अग्रता भने काठमाडौंले लिएको थियो । २०औं मिनेटमा एनकुनगुए जुनियरले वन टच गोल गरेका हुन् । ३७औं मिनेटमा अग्रता दोब्बर बनाउन अवसर पनि पाएको थियो । वीरगञ्जका दिपेन्द्र सिंहले हिसुब थपलियालाई लडाएपछि काठमाडौंले पेनाल्टी पाएको थियो । तर सोखरुखले हानेको पेनाल्टी वीरगञ्जका किपर दीप कार्कीले रोके ।

पहिलो हाफको इन्जुरी टाइममा वीरगञ्जले पेनाल्टी पायो । सुशील लामाले हानेको बल बचाउने क्रममा काठमाडौंका आन्द्रेस नियाले ह्याण्ड गर्न पुगे । पेनाल्टीमा वीरगञ्जका विलियम ओपोकुले गल्ती गरेनन् ।

दोस्रो हाफमा वीरगञ्ज हावी भयो । पहिलो मिनेटमै सुनिल खड्काले गोल गर्दै टिमलाई अग्रता दिलाए । ओबेड ओसुवुले बायाँ साइडबाट क्रस गरेको बल काठमाडौंका किपर अञ्जल श्रेष्ठले पूर्ण रुपमा बचाउन सकेनन् । त्यही बलमा मैदान प्रवेश गरेका सुनिलले गोल गरे ।

५६ र ५७ औं मिनेटमा ओपोकुले लगार दुई गोल गर्दै ह्याट्रिक पूरा गरे । ५६ मिनेटमा सुशील लामाको कर्नरमा हेड गोल गरेका उनले अर्को मिनेटमा सुशीलले आफ्नै बक्सबाट दिएको लामो पासमा करिव ३० यार्डबाट भली प्रहार गर्दै उत्कृष्ट गोल गरे ।

यससँगै उनी एनएसएलको यो सिजनमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बन्दा वीरगञ्ज ४–१ को अग्रता बनाउन सफल भयो । खेलमा त्यसपछि कुनै गोल भएन, जितपछि वीरगञ्ज ७ खेलबाट ८ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । पाँचौं स्थानमा रहेको काठमाडौंको ९ अंक छ ।

७ खेलबाट ८ अंकका साथ छैटौं स्थानमा उक्लिएको वीरगञ्ज शीर्ष चारमा रहेर प्लेअफ पुग्ने होडमा सामेल भएको छ । यद्यपि प्ले अफमा स्थान बनाउन अन्तिम खेलमा बुटवललाई हराएर मात्र पुग्दैन, अरुको नतिजामा भर पर्नुपर्छ ।

हारले काठमाडौंलाई पनि प्लेअफ पुग्न कठिन बनाएको छ । अब उसले अन्तिम खेलमा ललितपुरलाई हराउनुपर्नेछ, जो १० अंकसहित तेस्रो स्थानमा छ । त्यसपछि पनि झापा एफसी चितवनसँग पराजित हुनुपर्नेछ वा बराबरीमा रोकिनुपर्नेछ ।

प्रकाशित मिति : २०८० पुस ५ गते बिहीबार