नेपालगञ्जलगायत आसपासका क्षेत्रमा अत्याधिक चिसो

नेपालगञ्जलगायतको आसपासका क्षेत्रमा बिहीवार अत्याधिक चिसो महशुस गरिएको छ । जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार नेपालगञ्जको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियसमा झरेको छ ।

न्युनतम तापक्रम घट्दा चिसो बढी महसुस भएको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख वरिष्ठ जल अधिकृत विनोद पराजुलीले जानकारी दिए । घाम लागेपनि चिसो हावाका कारण तापक्रम घटेको उनको भनाइ छ ।

यद्धपि नेपालगञ्जमा दुई दिन अघि न्यूनतम तापक्रम ६.४ डिग्री सेल्सियसमा झरेको थियो । सन् २०१३ जनवरी १० मा नेपालगञ्जको तापक्रम ०.३ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ ।

चिसोका कारण आम जनजिवन कष्टकर बनेको छ । खासगरी विपन्न तथा मजदुरहरु जाडो कसरी छल्ने भन्ने ठूलो समस्या छ । विकल्पविहीन गरिब तथा ज्येष्ठ नागरिक अत्यधिक चिसोले कठ्यांग्रिन बाध्य छन् ।

यस्तो अवस्थामा तात्नु पर्ने जनताको सबैभन्दा नजिकको स्थानीय सरकार गुमनाम छ । बाँकेका सहयाक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले गरिब तथा निमुखालाई न्यानो उपलब्ध गराउन काम भइरहेको बताए ।

त्यसका लागि ६ सय कम्वल खरिद गरेर वितरण भइरहेको उनको भनाइ छ । जवकी विपद् व्यवस्थापन समितिले शीतलहरबाट २६ हजार ३६ परिवारका १ लाख ६६ हजार प्रभावित हुनसक्ने आकलन गरेको छ ।