कोहलपुरमा सामाजिक उत्तरदायित्व सम्बन्धी छलफल र अन्तक्रिया

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा सामाजिक उत्तरदायित्व सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम गरिएको छ ।

शुक्रबार कोहलपुर नगरपालिकाको सभाहलमा सामाजिक, न्यायिक र समतामुलक समाजकाे स्थापना गर्ने परिकल्पनाका साथ त्रिवेणी विकास समाजको आयोजना, सहकर्मी समाजको प्राविधिक सहयोग र विकास कोष नर्वेको सहयोगमा सामाजिक उत्तरदायित्व सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा कार्यकारी व्यवस्थापक पतिराम थारुले उपेक्षित तथा सीमान्तिकत समदायका मानिसहरुका जीवनस्तर अभिबृद्धिका लागि ज्ञान, सीप, धारणा र सूचनाका आदान–प्रदान, जनवकालत तथा संगठनात्मक सबलीकरण गर्नु त्रिवेणी विकास समाजका मुख्य ध्येय रहेको बताए ।
दिगो जिविकोपार्जन सुधार, सक्रिय र समावेशी सहभागिताको सुनिश्चितता यस संस्थाको मुख्य उद्देश्य रहेको थारुले बताए ।

सहकर्मी समाजका संस्थागत विकास अधिकृत घनश्याम आचार्यले खाद्य सुरक्षा, सामुदायिक सु–शासन सबलीकरण, सामुदायिक स्वाथ्य तथा सरसफाई, संस्थागत विकास, गुणस्तरीय शिक्षा, प्रकोप पूर्वतयारी तथा ब्यवस्थापन सम्बन्धी काम गरिरहेको बताए ।

समस्या पहिचान गर्ने, विश्लेषण गर्ने र सामाजिक उत्तरदायित्व वहन गरेको छ या छैन भनी त्यसको अध्ययन गरी कार्यक्रमहरुलाई कार्यान्वन गर्ने काम गरिरहेको बताए ।

यस्तै उत्तरदायित्व कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले सामाजिक संघसंस्थाहरुले विद्यालय, सार्वजनिक क्षेत्रहरुमा सहयोग र सहकार्यमा सहयोग गर्ने अनुरोध गरेका थिए ।

कार्यक्रममा नागरिक वडापत्र, सामुदायिक स्कोर कार्ड, सार्वजनिक सुनुवाई(बहस संचालन), सामाजिक परिक्षण, खरिद अनुगमन, गुनासो निवारण संयन्त्र जस्ता विषयहरुमा समेत चर्चा र छलफल भएको थियो ।

कार्यक्रममा कोहलपुर नगरपालिकाकी आर्थिक विकास संयोजक अनिता बुढाक्षेत्री, वडा नं. १ का वडा अध्यक्ष बद्रि प्रसाद जैसी, १३ का वडा अध्यक्ष डम्बर खड्का, वडा नं. २ का वडा अध्यक्ष हरि कठायत, वडा नं. ७ का वडा अध्यक्ष ठग्गा थारु, वडा नं.४ का वडा अध्यक्ष मुवारक अलि गुजर, लगायत शाखाका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।