विद्यार्थीहरूको पढाइ र परीक्षा वैकल्पिक माध्यमबाट गराऊ: अनेरास्ववियु (क्रान्तिकारी)

नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु (क्रान्तिकारी)ले विद्यार्थीहरूको पढाइ र परीक्षा वैकल्पिक माध्यमबाट गर्न सुझाव दिएको छ।

बिहीबार अध्यक्ष पञ्चा सिंहले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूको पढाइ र परीक्षा नियमित रूपमा सुचारू गर्न वैकल्पिक योजना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन्।

त्रिवि विश्वविद्यालयले आगामी आइतबारदेखि सञ्चालनमा रहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। सो निर्णयपछि अनेरास्ववियु क्रान्तिकारीले विज्ञप्ति जारी गर्दै शैक्षिकसत्र प्रभावित हुन नदिन ध्यानाकर्षण गराएको हो।

‘महामारीको यो समयमा त्रिवि लगायत अन्य विश्वविद्यालयहरूको भौतिक उपस्थितिमा भइरहेको परीक्षा तत्काल स्थगित गर्नुपर्ने बाध्यात्मक अवस्था भए पनि विद्यार्थीहरूको पढाइ र परीक्षा नियमित रूपमा सुचारू गर्नको लागि वैकल्पिक योजना निर्माण गरी शैक्षिकसत्र प्रभावित हुन नदिनका लागि सम्बन्धित विश्वविद्यालयहरू र सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं,’ विज्ञप्तिमा भनिएको छ।

साथै बुधबार रातिदेखि नेपाल आयल निगमले बढाएको पेट्रोल, मट्टितेल, डिजेल र हवाइ इन्धनमा मूल्यवृद्धिमा अनेरास्ववियु क्रान्तिकारीले आपत्ति जनाएको छ। सो मूल्यवृद्धि तत्काल फिर्ता गर्न उसले माग गरेको छ।