मौलो चुडाल्न खोजेका नवीन र नवीनहरुको कथा

साँच्चै कविता के हो, यसको सामर्थ्यको आयतन कति हुन्छ । यसका मापकहरु के के हुन। के कविता फगत कविता मात्रै हुनसक्छन। यो समाजको स्तर नाप्ने ब्यारोमिटर कविता बन्न सक्छन कि सक्दैनन ।

यस्तै सवालहरुको उत्तर बोक्ने एकमुष्ट दष्ताबेज हो कवि नवीन अभिलाषीकृत मौलामा बाँधिएको राँगो । सँग्रह मैले तीन पटक पढेँ , निष्कर्ष यहि हो कि कविताको क्षेत्रमा यो समय सबैभन्दा उम्दा बौद्धिक चेत भएको सक्षम र क्रान्तीकारी नाम अरु कुनै छ भने त्यो नाम नवीन अभिलाषी नै हो । यो कविता सँग्रह मौलो चुडाल्न खोजेका नबिनहरुको कथा हो । औसत कविताहरु लेख्न सकिने हैसियत जोसँग पनि हुनसक्छ तर काव्य सँवेदनाले भरिएका कविता लेख्ने कवि नै वास्तविक कवि हुनसक्छन । अभिलाषि साहित्यको दिग्विजयमा निस्केका घोडा हुन । कसैले रोकेर नरोकिने, उसो त कवि आफुलाई मार्क्सवादी भन्न रुचाउँछन ।

प्युठानी माटोले जन्म दिएर दाङ जिल्लाका खोल्सा कुलेसा नापेका कवि नवीन अभिलाषी सँघर्षका अनेक हुण्डरी खेपेका अद्भुत प्राणि हुन, र पो उनका कविताहरुले भुँईमान्छेलाई बोक्छन ,नव सामन्त र दलालहरुका तख्ता हल्लाउने आँट गरेका छन । बोल्ने आँट गरेका छन उनीहरुको आवाज जसको जिब्रो छ आवाज छैन , जसको पसिना छ मूल्य छैन ।

कृती मौलामा बाँधेको राँगोमा जम्मा जम्मी ४८ वटा कविता छन। कवितासँग्रहको गति शुन्यको सुरुवात बाट प्रारम्भ भएर बक्यौता हिसाबमा पुगेपछि रोकिन्छ ।

कवि पहिलो कविता शुन्यको सुरुवात मै बोल्छन भरखर उठेका र उठ्न खोजेकाहरुको आवाज भएर, जो बर्षौँदेखि दबिएका थिए दबाईएका थिए जात व्यवस्थाको दलनमा ,हुँदा खाने र हुने खानेहरु बिचको गहिराईमा। यस्तो लाग्छ कविता नवीन अभिलाषिले लेखेका होइनन् बरु नवीन अभिलाषीद्वारा लेखिएका हुन ।

 

दस बर्षे शसस्त्र युद्धको बज्रपातले कलिलो उमेरमै पिताको अभिभाबकत्व खोसिएका कवि पिता गुमाउनुको विक्षिप्ततालाई कवितामा मर्मश्पर्शीले ढँगले पोख्छन। जुन अक्षरहरु पढ्दा मन भाबबिहल बनाउँछ। मन एकछिन थामिन्छ आखिर युद्ध जे र जसका लागि लडिएको थियो ती लक्ष्यहरु पूरा भए त ।

पुँजिवादको कुरुपता सबैभन्दा बढी यदि कसैलाई अनुभुती हुन्छ भने घर छोडेहरुलाई हुन्छ , घर छोडेर शहर पस्नेहरु त्यहि कुरुपताभित्र विलिन हुन्छन , बनाईन्छन । त्यो केवल कसैको भौतिक विलिनता मात्र होईन त्यो त सपनाहरुको विलिनता हो ,,रँगिन जिवनको अपुर्णता पनि हो र विसर्जन हो आमाहरुको अपेक्षाहरुको । तेहि विलिनता र पलायनताको भाष्य बोल्छ कविता सहर पसेको छोरोले ।

युद्ध जुन जहाँ र जहिल्यै होस त्यो निर्मम नै हुन्छ तर युद्धका नाममा निहत्था माथीको असमान्य धरपकट मानबताहिन मात्र होईन अक्षम्य अपराध हो । सरकार वा विद्रोहि पक्षको लागि आम मानिस एउटा पात्र वा साधन मात्र हुन सक्ला तर उ कसैको लागि सिँगो जीवन हो यहि भन्छ लोग्ने बेपत्ता पारिएकि भाउजुको कथाले । सरल शब्दहरुलाई उनेर शक्तिशाली कविताको रचना गर्नु कबिको बिशेषता हो । यिनै बिशेषताले समकालीन कवि र कबिताको दुनियाँलाई प्रभाबित पार्ने हैसियत राख्छन ऊनि ।

यस्तै जनताका जिवस्तरमा आमुल परिवर्तन ल्याउँछु भन्दै बन्दुक बोकेकाहरु नै सिमित सत्ताको सुगन्धको पछि लाग्दा जनतामा जागेको चरम निरासा र तेसको तिब्र असन्तोष देख्न सकिन्छ कविता आधी बाटोमा । वास्तविक क्रान्तीको भोक र जोश देखिन्छ सर्जकमा ।

कवितामा घोत्लिरहेका पाठकहरुलाई कवितामै चुर्लुम डुबाउन सक्नु कविका अर्को बिशेषता हुन । कैयौंपटक पाठकले कवितामा आफुलाई पाउँछन् ।

कवि कहिले सँसद भवन भित्र छिर्छन भण्डाफोर गर्छन तेहि सँसद भवनको जसलाई हामी भन्दै आएका छौँ खसीको टाउको देखाएर कुुकुरको मासु बेच्ने थलो । कविको कलम बोल्छ

सँसद एउटा बजार ,
टाउकाहरुको बजार
किन्न र बेचिन तयारहरुको बजार

बिम्बहरुको बौद्धिक र चोटिलो प्रयोग कविता सँग्रहमा भएका कविताहरुको अर्को ओजनदार पक्ष हो ।

निरन्तर तपाईंको मगज हल्लाउने कविताहरुको फेरो समाईरहँदा शिर्ष कविताले तपाईलाई तृप्ती नदिन पनि सक्ला तर तपाईलाई आफुसँगै बगाउन सक्ने कविताहरुको शृङखला यहि रोकिदैन । कबिमा बिद्रोहको चेत कति छ बिरुद्धमा कविता पढेपछि थाहा हुन्छ ऊनी चुडाल्न चाहन्छन दासताका जँजिरहरु, ज्वालामुखी भएर विस्फोट हुन आव्हान गर्छन सामाजिक रुपले उत्पिडनको गर्त भित्र दबिरहेकाहरुलाई ।

हामीले टेकिरहेको एक चिम्टी यो माटो हाम्रो हो,
फेरिरहेको यो एकमुट्ठी श्वास हाम्रो हो ,
देखिरहेको यो एकटुक्रा आकाश हाम्रै हो ,
र यो आवाज हाम्रै हो ,
चुडालौँ
यो दासताको दाम्लो घाँटीहरुबाट

जात व्यवस्थाको बारेमा थोरै मात्र सोच्नु हुन्छ भने पनि तपाईं भित्र आँधी ल्याउने ल्याकत राख्छ कविता शुद्रको प्रश्नले।

शुद्रको प्रश्न फगत एक कविता मात्रै होइन यो त सदियौँ देखि (अ)मानवले मानवमाथी लादिएको व्यवस्था विरुद्धको आवाज हो। कविता यसरी बोल्छ

को जन्मेको छ नाम लिएर यहाँ ?
र सँसारमा ठेगाना बोकेर को आएको छ ?
तर त्यो को हो ?
जसले मेरो नाम मैलाई नसोधी राख्यो
र सदियौँ देखि दास बनायो।

अभिशप्त बनाउने एउटा सत्य घटना

कमलरीहरुमाथी साहु महाजनहरुले गरिने यौनशोषणको
एक प्रतिनिधि पात्र बुझौना थारु,

जो जमिन्दारको रगत बोकेर जिईरहेकी हुन्छिन ताकि भोली तेहि रगत लड्नेछ तेहि शोषकका विरुद्धमा तर त्यो प्रतिज्ञा नवजात लासको कुटुरो सँगै विलिन भएर जान्छ नभेटिएको चिहान पढिरहँदा तपाईंलाई बिझाउँछ यो कविताले ।

कवि यो दृष्टिकोणमा अविचलित छन कि जबसम्म समाजमा बर्ग छ तबसम्म शोषण छ र यहि बर्गिय समाजमा कबि देखाईरहेछन आफ्नै बर्गप्रतिको प्रेम ।

बक्यौता हिसाब:

कि कचाकच काटिनेछ हामीलाई
र हाम्रै लासको मन्च उठाएर भाका सारिनेछ
कि
थुत्नेछौँ हामीले सिँहासनबाट र बर्षौँदेखिको
हिसाब चुक्ता गर्नेछौँ ।
तर
मन्जुर छैन अब,
आफ्नै काँचो रगतले आर्जेको भुगोलमा
आफै
अनागरिक बन्न ।

एउटा कवितामै ईतिहासकै यति ठुलो विनिर्माणको उदघोष ! सामाजिक रुपान्तरणको अनुराग र दायित्व बोध ।

यो कसरी हुन सक्छ ? यहि त हो अभिलाषीका कविताहरुको खास सुगन्ध । किनकी उनले बुझेका छन धुलो हुनुको कुल्चाई ।

सत्तरीको दशकमा लेखिएका अधिकाँस कविता सँग्रहहरु कपि पेष्ट छन तर बौद्धिक टाटपल्टाई भोगिरहेको यो वर्तमानमा बागि लेखक हुन नवीन ।

कवि भन्छन यो सँग्रह उनको बितेको ७ बर्षको दस्ताबेज हो तर गुदी कुरो यति मात्र होइन सँग्रह मौलामा बाँधिएको राँगो विभेदको लामो कालखण्डको माथिको एक प्रहार हो, कथित व्यवस्था विरुद्धको एक झिल्को हो र आफ्नै जिन्दगी सँगको आन्दोलन पनि ।

कबिको कल्पनाहरु निजि हुनसक्छन् तर उसको सृजना कहिलै निजी हुनसक्दैन यसलाई यसो पनि भनौँ सृजना तबसम्म सर्जकको मात्र हुन्छ जबसम्म पाठकमाझ आउँदैन, पाठकको माझ आएपछि त्यो सबैको हुन्छ। जसरी यो कृति अब हाम्रो भएको छ ।

केशव निमेष
कोहलपुर-११ बाँके