दाङमा सिस्ने अनलाइन डटकम सञ्चालन

काेहलपुर ।

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित सिस्ने अनलाइनको कार्यालय उद्घाटन गरिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएमले रिवन काटेर कार्यालय उद्घाटन गर्नुभएको हो । ‘सबैका समाचार, सबैका विचारः युगको आव्हान डिजिटल सञ्चार’ भन्ने नारासहित बिगत चार बर्षदेखि सञ्चालित अनलाइनले अहिले कार्यालय स्थापना गरेर सञ्चालन गर्न थालेको अनलाइनका प्रबन्धक सम्पादक जंगबहादुर रेउलेले जानकारी दिनुभयो ।

प्रमुख अतिथि जीएमले विश्व मिडियाको विश्वब्यापी प्रभावसँगै सिस्ने अनलाइनलाई पनि प्रभावकारी बनाउन सुझाव दिनुभयो । अबको प्रभावकारी मिडिया डिजिटल अनलाइन भए पनि यसको प्रभावकारिता अबको दायित्व भएको बताउँदै उहाँले यसलाई जनताको सबैभन्दा नजिकको साथी बनाउनुपर्ने बताउनुभयो ।

पत्रकार आचारसंहितालाई पालना गर्दै ब्यवसायिक विकासका लागि अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिंदै उहाँले त्यसका लागि पत्रकार महासंघले सहजीकरण र अगुवाइ गरिरहेको बताउनुभयो ।

अनलाइनका सम्पादक नरेन्द्र केसीले केही बर्षअघिदेखि आफूहरुले थालेको पहल संस्थागत हुँदै गएकोमा खुशी व्यक्त गर्दै यसको नाराले भनेजस्तै सबैका समाचार र सबैका विचार समेट्ने प्रयास हुने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश सदस्य केशरमान बुढाथोकी, महासंघ दाङका जिल्ला कार्यसमिति सदस्य एवं फोटो पत्रकार कुलदीप न्यौपानेलगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रम सञ्चालन अनलाइनका संवाददाता एवं फोटो पत्रकार हिमाल महराले गर्नुभएको थियो ।