बैजनाथमा प्रथम उप-प्रमुख कप आजदेखि सुरु

कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिका-७ पेडारीमा प्रथम उपप्रमुख कप बैजनाथ गाउँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता-२०७९ आजदेखि सुरु हुन लागेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै आजदेखि प्रथम उपप्रमुख कप बैजनाथ गाउँपालिका स्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता-२०७९ सुरु हुने आयोजक खेलकुद विकास समितिका संयोजक महाविर थारुले जानकारी दिए ।

थारुका अनुसार सम्पूर्ण तयारी पुरा भइसकेको र आजदेखि प्रथम उपप्रमुख कप सञ्चालन हुनेछ । उपप्रमुख कपमा ४३ वटा विद्यालयहरुले सहभागि छन् । सुरक्षा, व्यवस्थापनमा के कस्तो व्यवस्था मिलाइएको बारे पत्रकारहरुको प्रश्नमा प्रमुख प्रकाश बहादुर शाहीले सुरक्षाको लागि समन्वय भइसकेको र तीन वटा एम्बुलेन्स समेत व्यवस्थापन भइसकेको बताए ।

बाहिरबाट आउने विद्यालयलाई नास्ता र खानाको लागि स्टलको समेत व्यवस्थापन गरेको पालिका प्रमुख शाहीले बताए । उपप्रमुख निर्मला रोकायले कार्यविधि अनुसार खेलहरु मर्यादित र भव्य रुपमा हुने विश्वास व्यक्त गरिन् । खेलकुदमा प्रथम, द्धितिय, तृतिय हुनेलाई मेडल, ट्रफि र प्रमाण पत्रहरु उपलब्ध गराउने उपप्रमुख रोकायले बताइन् ।