कोहलपुर ।
राप्तीसोनारी गाउँपालिकाले छात्रालाई साइकल वितरण गरेको छ । गाउँपालिकाले कक्षा ११ र १२ मा अध्ययन गर्ने छात्रालाई आइतबारबाट साइकल वितरण सुरु गरेको छ । गाउँपालिका कार्यालय परिसरमा आइतबार आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लाहुराम थारुले छात्रालाई साइकल हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थारुले छात्राको शैक्षिक अवस्था सुधार्न साइकलले मद्दत पुर्याउने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लाहुराम थारुले बिद्यालयका कक्षामा सुरुमा छात्राको संख्या धेरै हुन्छ, जब कक्षा बढ्दै जाान्छ, तब छात्राको संख्या घट्दै जान्छ, त्यसैले शिक्षामा अझै राम्रो सहज होस् भन्नका लागिसाइकल वितरण गरिएको बताए । थारुका अनुसार चालु आर्थिक वर्ष २०७८-०७९ को बजेटबाट ड्रपआउट रोक्ने उद्देश्यले सो कार्यक्रम गरिएको उनी बताउँछन् ।
यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीका अनुसार पहिलो चरणमा ७ सय ५० वटा साइकल वितरण गर्न करिव ६० लाख बजेट छुट्याइएको छ । ‘पहिलो चरणमा ७ सय ५० वटा साइकल वितरण गर्ने लक्ष्य छ, दोस्रो चरणसम्म १२ सय जति साइकल वितरण गरिनेछ,’ शाहीले भने । गाउँपालिकाले आइतबार पहिलो दिन मात्र नेरा माध्यामिक बिद्यालय अगैया र सरस्वती माध्यामिक बिद्यालय भवानीयापुरमा अध्ययनरत १ सय ९० जना छात्रालाई साइकल हस्तान्तरण गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्