क्रिसमसको अवसरमा कर्णालीका प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त

निरज सिंह ठकुरी ।

कर्णालीका प्रदेश प्रमुख तिलक परियारले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’को अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । यस अवसरमा उहाँले सम्पूर्ण इसाई धर्मावलम्बी नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामना पनि गर्नुभएको छ ।

जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मका अनुयायीले हरेक वर्ष डिसेम्बर २५ तारिखको दिन धार्मिक र सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमको आयोजना गरी ‘क्रिसमस डे’ मनाउँछन् ।

प्रदेश प्रमुखले यस्ता चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अभिवृद्धि हुने उल्लेख गर्नुभएको छ । प्रदेश प्रमुख परियारले नेपालको जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभएर विश्व समुदायकै लागि महत्त्वपूर्ण पुँजी भएको बताउनुभएको छ ।

जिसस क्राइस्टको जन्मदिनको अवसरमा शुभकामना दिनुहुँदै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधतायुक्त मुलुक हुनु राष्ट्रिय एकताको सूत्रको आधार पनि भएको बताउनुभएको छ । यस्तै शुभकामना सन्देशमा चाडपर्व र संस्कृति परम्पराहरू राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि महìवपूर्ण भूमिका रहेको उल्लेख गर्नुभएको छ । क्रिसमसले सबै नेपालीबीच एकआपसमा विश्वास र बन्धुत्वको भावना कायम राख्न प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि प्रदेश प्रमुख परियारले सन्देशमा व्यक्त गर्नुभएको छ ।