काेहलपुर ।
शुक्रबार मध्यान्हतिर एकाएक एउटा खबर फैलियो । जुन अप्रिय खबर नेपाल प्रहरीका एक वरिष्ठ अधिकारीको मृत्युसम्बन्धी थियो । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुशील कुमार यादवले आत्महत्या गरेको सम्बन्धी खबरले धेरैलाई स्तब्ध बनायो । संघीय प्रहरी इकाइ कार्यालय भैरहवामा कार्यरत उनी आफू बस्दै आएको सरकारी क्वार्टरमै डुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
अवकाशको दिन नजिकिँदै गरेका उनले किन आत्महत्याको बाटो रोजे ? प्रहरीले अहिलेसम्म मुख खोलिसकेको छैन । उनको मृत्युपछि प्रहरीले परिवारलाई बोलाई घटनास्थलबाट शव निकालेर पोस्टमार्टमका लागि पठाएको छ । अहिले प्रहरीले घटनाको अनुसन्धान सुरु भएको मात्रै बताएको छ । सामाजिक सञ्जालमा उनको मृत्युबारे तत्काल सत्यतथ्य बाहिर ल्याउनुपर्ने आवाज उठेको छ । वरिष्ठ प्रहरी अधिकारीले मृत्युको बाटो खोज्नुपर्ने कसरी आयो भन्नेबारे चासो र चिन्ता पनि उत्तिकै सुनिन्छ । कतिपयले उनको मृत्युलाई डिप्रेशनसँग पनि जोडेर हेरेका छन् ।
यसैबीच अपहरण तथा शरीर बन्धक मुद्दाका अभियुक्तलाई उन्मुक्ति दिएको भन्दै एसएसपी यादवलाई कारबाहीको तयारी भइरहेको थियो । २०६४ माघ २९ गते बुटवलका ६२ वर्षीय टिकाराम अर्यालको अपहरणमा संलग्न अमर टण्डनलाई उन्मुक्ति दिएको भन्दै यादवमाथि कारबाहीको माग गरिएको थियो ।
००००
यसैगरी गृहमन्त्री बालकृष्ण खाणले मृत अवस्थामा फेला परेका यादवका परिवारसँग भेट गरेका छन् । शुक्रबार साँझ घटनास्थलमा पुगेर गृहमन्त्री खाणले एसएसपी यादवका परिवारसँग भेट गरेर घटनाबारे जानकारी लिएका हुन् । गृहमन्त्री खाणले उनको मृत्युको कारण खोज्न प्रहरीलाई निर्देशनसमेत दिएका छन् । प्रहरी प्रवक्ता वसन्त कुँवरले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । यादव बिहान ११ बजेतिर झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । अन्य, सहकर्मीहरु खान खान गएको बेला उनले आत्महत्या गरेको बताइएको छ । यादव २०४९ सालमा सेवा प्रवेश गरेका अधिकृत हुन् । उमेर हदका कारण आगामी माघ १५ गते उनले अवकाश पाउँदै थिए । एसएसपी यादवको मृत्युसम्बन्धी दुःखद खबरसँगै हामी ‘लोकान्तर राउण्ड अप’ लिएर आएका छौँ । लोकान्तर राउण्ड अपमा हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनक्रमलाई समेट्ने गर्छौँ ।
००००
नेकपा माओवादी केन्द्रमा पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरिएको छ। पार्टीको अन्तरिम विधानमा पदाधिकारीको व्यवस्था गरिएपनि संख्या नतोकिएको सन्दर्भमा पार्टी अध्यक्ष प्रचण्डले शुक्रबारको स्थायी कमिटी बैठकमा पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरेका हुन् । माओवादीको राष्ट्रिय सम्मेलन आइतबारदेखि सुरु हुँदैछ ।
००००
निर्वाचन आयोगले आगामी वैशाख १४ गते स्थानीय तह निर्वाचनको मिति तोक्न प्रस्ताव गरेको छ । आयोगका पदाधिकारीले शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दै चुनावको मिति प्रस्ताव गरेका हुन् । देशैभर एकै चरणमा चुनाव गर्न सम्भव नभए पहिलो चरण वैशाख १४ गते र दोस्रो चरण वैशाख २२ गते गर्न सकिने प्रस्ताव गरिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।
००००
उर्जामन्त्री भुसालका अनुसार अब ग्राहकले मागेको समयमा सहजै विद्युत् पाउने भएका छन् । १०० केभीएसम्म विद्युत् सबैलाई तथा सामुदायिक डेरी, चिस्यान केन्द्र, खानेपानी, सिँचाइ क्षेत्रलाई २०० केभीएसम्म विद्युत् प्राधिकरणकै ट्रान्सफरमरबाट उपलब्ध हुनेछ । उनले भाडामा बस्नेले पनि विद्युत मिटर पाउने आइतबार बताइन् ।
००००
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकारीहरू अझै पनि षड्यन्त्रकै प्रक्रियामा रहेको बताएका छन् ।
शुक्रवार नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रतिक्रान्तिकारी र प्रतिगमनकारीहरू राजनीतिक परिवर्तनहरूलाई उल्ट्याउने षड्यन्त्रमा लागेको भन्दै अझै पनि ढुक्क हुने स्थिति नरहेको बताएका हुन् ।
००००
पछिल्लो २४ घण्टामा २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८९८ नमूना परीक्षणमध्ये ३४९ पीसीआर र एक जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । सोही अवधिमा १ जनाको मृत्यु भएको छ ।
००००
काठमाडौं उपत्यकाका ट्राफिक प्रहरीले प्रोत्साहन भत्ता पाउने भएका छन् । बिहानदेखि रातिसम्म खटिने ट्राफिक प्रहरीको कोरोना महामारीका कारण भत्ता काटिएको थियो । तर, पुनः भत्ता पाउने गरी प्रक्रिया अघि बढेको छ । अब ट्राफिक प्रहरीले तलबसँगै ४० प्रतिशतसम्म अतिरिक्त भत्ता पनि पाउनेछन् ।
००००
सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । शुक्रवार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
००००
प्रदेश २ को नामकरणमा नेकपा एकीकृत समाजवादी पार्टीले गरेको प्रस्तावमा नेकपा एमालेले समर्थन जनाएको छ । सुरुमा नेकपा एमालेले प्रदेशको नाम ‘जनक प्रदेश’ राख्न प्रस्ताव दर्ता गराएको थियो । तर नेकपा एकीकृत समाजवादीले ‘जानकी प्रदेश’ राख्न प्रस्ताव गरेपछि एमाले पनि सोही पक्षमा उभिएको हो।
००००
बागमती प्रदेश सरकारमा तीन मन्त्री र तीन राज्यमन्त्री थपिएका छन् । शुक्रबार नेपाली काँग्रेसका तर्फबाट प्रदेश सरकारमा ६ सदस्य थपिएका हुन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्