राप्रपाले कुनै पनि पार्टीसंग गठबन्धन नगर्ने : अध्यक्ष राजेन्द्र लिङ्देन

कोहलपुर ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै पनि पार्टीसंग गठबन्धन नगर्ने बताएका छन् । बाँकेको नेपालगञ्जमा भएको पत्रकार सम्मेलनमा बोल्दै लिङ्देनले आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा कुनै पनि पार्टीसंग गठबन्धन नहुने बताएका हुन् ।

‘पछिल्लो समयमा एमाले पार्टीसंग मिलेर अगाडि बढ्छ की भन्ने कुराहरु सुनिरहेका छौं, उनले भने ‘तर यसमा कुनै सत्यता छैन ।’ ‘संघिय निर्वाचनमा राप्रपा बलियो पार्टीको रुपमा स्थापित हुन लागेको छ, उनले थपे, ‘त्यसकारणले अबको सिटको आधारमा कुनै पार्टीसंग कुनै निर्वाचन क्षेत्रसंग तालमेल होला तर पार्टीले गठबन्धन गरेर जाँदैन ।

उनले दुई वटा निर्वाचन क्षेत्रबाट निर्वाचन जितिसकेको जस्तै गरी दुई जना व्यक्तिहरुको नाम लिए । जसमा बाँकेबाट धवल शम्शेर राना र झापाबाट विक्रम पाण्डेको चुनाव जित्ने पक्का भएको ठोकुवा गरे । यति मात्र होइन यो पटकको चुनावमा पहिलेको भन्दा बढि सिट प्राप्त गर्ने उनले पत्रकार सम्मेलनमा बताएका थिए ।

उनले आइतबार प्रतिनिधि सभाको बैठकबाट राजीनामा घोषणा गरेका हुन् । उनले संसदको आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले आफूलाई लज्जित बनाएको बताए । राजिनामा दिएपछि बाँकेमा पत्रकार सम्मेलन गरेका हुन् ।