साउने सङ्क्रान्तिमा घन्किए देउडा

कृष्ण कुमार शाही, बैजनाथ

बाँकेको बैजनाथ गाउँपालिका १ गाभारमा साउने सङ्क्रान्तिमा देउडा घन्किएका छन् । साउन १ गते अर्थात देउडा तथा साउने सङ्क्रान्ति पर्वमा कर्णाली लगायत देशरभरी नै यो पर्व मनाइन्छ ।

उहिती छन् भर्‍याली तिजु, उही ति काफल काला
डिब्या कोसी रन्या छैनन्, यही सत्तुर पाला
जइ गोठ जौमती छुइ छ उसै गोठ धनी
कोही हप्काउना कोही दप्काउना, झाडी खाउँला भनी
जौवन गयो पुरुष गयो सबैले हेप्ताछन्
भोका नांगा देख्यापछि सबैले चेप्ताछन्

यी माथिका गीतहरूमा समाजमा व्याप्त अन्याय र अत्याचार छ । गाउँमा सानातिना घटना घट्ने बित्तिकै सरकारी स्वाँठहरूसँग मिलेर गाउँमा अचाक्ली दुःख दिन्छन् । श्रीमती छुइ (नछुने अवस्था) मा पनि गोठमा बसेको बेला समेत दुःख दिने, दैनिकजसो हप्काउने, पीडा खेप्दाखेप्दै जोवन गएको, बाठाहरू यस्तो समस्या खेप्न नसकेर अन्य ठाउँमा गएका र हामी लाटाहरू यतै अल्मलिनु परेको बाध्यता देउडा गीतमा समेटिएको हामी देख्न सक्छौं ।

न्याय निसाफको लागि अड्डा अदालत धाउनेहरूको बिजोगपूर्ण हविगतलाई पनि देउडा समेटेको छ । त्यहाँभित्र पाइने चाकडी, चाप्लुसी, भ्रष्टाचार र बेइमानीको यसले चित्रण गर्दछ । गाभर लगायत वरपर बसोबास गर्ने कर्णालीका बासिन्दाहरुले देउडा कार्यक्रम भाग लिएका थिए । गोलो आकारमा दौडा लगाएर गीत गाउँदै शारीरिक रूपमा विभिन्न हाउभाउ देखाएर देउडा खेलिन्छ । स्वतः स्फूर्तरूपमा खेलिने देउडा खेलका लागि समय निर्धारण तथा रोकछेक गर्नुपर्ने त्यस्तो कुनै बाध्यकारी नियम हुँदैन ।

रारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दान बहादुर थापाले सङ्गीत र नृत्य दुवैको प्रतिनिधित्व देउडाले गर्ने गरेको र यसले समाजको यर्थात बोल्ने र इतिहासको जगेर्ना गर्ने बताए । ‘सुख–दुःख, हाँसो–आँसु, खुसी–पीडा गीत देउडा गीतका माध्यमबाट व्यक्त गरिन्छ’, ‘हरेक शुभ अवसरमा खेलिने देउडाले मानव जीवनका सबै पक्षहरूलाई गीत र तार्किक अभिव्यक्तिका माध्यमबाट व्यक्त गर्दछ’ उनले भने ।

गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले देउडा एउटा परम्परागत साँस्कृतिलाई जोगाउनु नयाँ पुस्ताका लागि चूनौति बन्दै गएको बताए । ‘युवा पुस्ताहरुले अनुसरण नगर्ने हो भने देउडाको भाव, मर्म र स्पर्श यसको महत्व घट्न सक्छ’ उनले भने, ‘अहिले समाजमा आधुनिक प्रविधिको कारणले हराउदै गएको छ ।’ यसले मानिसको जीवनमा घटेका घटना तथा समाजमा रहेको सबै वस्तुस्थितिलाई गीतका माध्यमबाट प्रस्तुत गर्ने चौधरीको भनाई थियो ।

कार्यक्रममा लाइन्स पार्कका अध्यक्ष ईन्द्र शाही, टोल सुधार समितिका अध्यक्ष कपिल जङ्ग शाह लगायत अन्य कणालीबाट बाँके आएका बाँके बासीहरुको समेत उपस्थिति रहेको थियो ।