कान्छो उमेरका श्रीमानसँग घरजम

समाज गतिशील छ । समयको गतिसँगै सामाजिक मूल्य मान्यता पनि परिवर्तन भइरहेका हुन्छन् । मानिसको चेतना, शिक्षा, आर्थिक अवस्था, विश्वव्यापीकरण लगायतका कुराले समाजका परम्परागत चालचलन परिमार्जित हुँदै जान्छन् ।

सामाजिक परम्परा विवाह पनि समय अनुसार परिवर्तन हुँदै गएको पाइन्छ । पुरुष र महिला औपचारिक रुपमा एकअर्काको जीवनको सारथी बन्न गरिने विवाहमा उमेरले पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

केही वर्षअघिसम्म विवाह गर्न महिलाभन्दा पुरुष बढी उमेरको हुनुपर्ने, जागिर वा स्वरोजगार भई आर्थिक रुपमा श्रीमतीभन्दा सबल हुनुपर्ने जस्ता मान्यता थिए । तर अब विस्तारै यो मान्यतामा परिवर्तन आउन थालेको छ । युवापुस्तामा आफैंले मन मिल्ने जीवनसाथी छनोट गरेर विवाह गर्ने प्रचलन बढेको छ । उनीहरुका लागि उमेर र आर्थिक हैसियत गौण हुन थालेको छ ।

आफूभन्दा कान्छो श्रीमानसँग घरजम गर्ने क्रमले महिलाहरु आत्मनिर्भर र सक्षम बन्दै गएको संकेत मिल्छ ।
महिला भन्दा पुरुष सानो उमेरको, पुरुष भन्दा महिला आर्थिक रुपमा सक्षम भएका जोडीहरुले विवाह गर्ने क्रम बढेको छ । यसलाई सामाजिक रुपान्तरणको एउटा स्वरुप मान्छिन् समाजशास्त्री नमिता पौडेल । यसका लागि शिक्षाको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ । उनी भन्छिन्, ‘शिक्षाका कारण मान्छेमा चेतना, आर्थिक सक्षमता बढ्दै गइरहेको छ । आत्मनिर्भर भएपछि स्वनिर्णय गर्छन् । चेतना सहितको स्वनिर्णयले समाजमा सकारात्मक परिवर्तन ल्याउँछ । ल्याइरहेको पनि छ ।’

समाजशास्त्री नमिता विवाहमा देखिएको यस्तो परिवर्तनको अर्को कारण विश्वव्यापीकरणको प्रभाव पनि मान्छिन् । कतिपय अवस्थामा अरुले गरेको कार्यले समाजमा आउने सकारात्मक परिवर्तनले पनि ठूलो प्रभाव पार्छ । विवाहको सवालमा त्यस्तो प्रभाव पनि देखिएको उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘सामाजिक सञ्जालको बढ्दो प्रयोगले संसार नै गाउँ बन्दै गइरहेको छ । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय सेलिब्रिटी, पब्लिक फिगरहरुले उमेर अन्तर (विशेषगरी पुरुषभन्दा महिलाको उमेर बढी हुने अन्तर)ले समाजमा पनि सामान्यीकरण गर्दै लगिरहेको छ ।’

अहिलेका पुस्ताले उमेरभन्दा महत्वपूर्ण एकअर्काबीचको बुझाइले सम्बन्ध बलियो, आत्मीय बनाउँछ भन्ने देखिरहेका छन् । त्यसैले पनि विवाहमा उमेर बाधक बन्न छाडेको छ ।

अहिले महिलाको उमेर बढी र पुरुषको उमेर कम हुनेहरु एकअर्काप्रति आकर्षित हुनेको संख्या बढिरहेको मनोविद् विजया विजुक्छेको अनुभव छ । पहिला सन्तान बढी जन्माउनुपर्ने, काम बढी गर्नुपर्ने लगायतका कारणले श्रीमती कम उमेरको हुनुपर्छ भन्ने मान्यता रहेको उनको बुझाइ छ । तर अहिलेका पुस्ताले आफूलाई केन्द्रमा राखेर निर्णय गर्छन् जसका कारण विवाहमा उमेरले महत्व पाउन छाडेको छ । आफ्नो मन, विचार मिल्ने व्यक्ति भेट भएको अवस्थामा उमेर बढी वा कम हुनुले फरक पार्न छाडेको छ ।

आफूभन्दा बढी उमेरका महिला आर्थिक तथा भावनात्मक रुपमा बलियो हुँदा आफूलाई र परिवारलाई सम्हाल्ने सोच भएका पुरुषहरुका कारण पनि महिलाको बढी र पुरुषको कम उमेरबीच विवाह गर्ने क्रम बढेको मनोविद् विजुक्छे बताउँछिन् ।

समाजको डरले निर्णय गर्न नसकेको तर सेलिब्रिटीहरुको उमेर अन्तरप्रति समाजले देखाउने स्वीकारोक्ति, सकारात्मक प्रतिक्रियाले पनि यस्तो निर्णयमा पुग्न सजिलो भइरहेको देखिन्छ । तर बढी उमेर अन्तर हुँदा भविष्यमा समस्या आउन सक्ने जोखिम पनि रहेको विजुक्छे बताउँछिन् । ४० वर्षपछि महिलाको शरीरमा हुने ‘हार्मोनल चेञ्ज’का कारण श्रीमान–श्रीमतीबीच समस्या आउन सक्ने उनको भनाइ छ । ‘अधिकांश महिलाको शरीरमा ४० वर्ष पछि हार्मोनल चेञ्जको कारण इरिटेसन हुने लगायत अन्य समस्या हुनसक्छ । यौन क्रियाकलापमा रुचि घट्छ । पुरुष साथीले बुझ्न सकेन भने सम्बन्धमा समस्या आउन सक्ने जोखिम हुन्छ,’ उनी भन्छिन् ।

१० वर्षभन्दा माथि उमेर अन्तर भएमा यस्ता समस्याहरु आउन सक्ने मनोविद् विजुक्छे बताउँछिन् ।