कोहलपुरमा अनुगमन कडा : रोहिणी खोलाका होटलबाट ३ सय ७० लिटरभन्दा बढी छ्याङ नष्ट




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ। सोमबार कोहलपुर नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, इलाका प्रहरी कार्यालय कोहलपुर तथा उद्योग, वाणिज्य तथा आपूर्ति कार्यालयको संयुक्त टोलीले कोहलपुर–१२ चप्परगौडीका होटलहरूमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा न्यू प्यूठानी होटलबाट घरेलु मदिरा उत्पादनका लागि राखिएको ३ सय ७० लिटरभन्दा बढी छ्याङ बरामद गरिएको थियो। टोलीले उक्त छ्याङ तत्काल नष्ट गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका सानु श्रेष्ठ  बताइन् । साे होटलले आफ्नो व्यवसाय सञ्चालन गर्दा ब्यानरसमेत नराखी लामो दूरीका सवारीसाधनका यात्रुलाई खाना खुवाउँदै आएको पाइएको थियो।

टोलीले न्यू प्यूठानी होटलसँगै रोहिणी होटल, दंगाली होटल, सुदूरपश्चिम धनगढी होटल, रोयल ग्यालेक्सी होटल तथा मेची–महाकाली होटलमा समेत अनुगमन गरेको थियो। अधिकांश होटलमा सरसफाइको अवस्था सन्तोषजनक नरहेको, मूल्यसूची नराखिएको तथा उपभोक्ता हितसम्बन्धी मापदण्ड पालना नगरेको पाइएको जनाइएको छ। अनुगमन टोलीले ती होटलहरूलाई सात दिनभित्र सुधार गर्न निर्देशन दिएको छ।

होटल अनुगमनपछि टोलीले कोहलपुर क्षेत्रका केही रेष्टुरेन्टहरूमा पनि निरीक्षण गरेको थियो। लाहुरे रेष्टुरेन्टमा खाद्य पदार्थमा प्रयोग गर्न नहुने रंग र रासायनिक पदार्थ प्रयोग गरिएको भेटिएपछि त्यस्ता सामग्री प्रयोग गरी बनाइएका खाजा तथा खाद्यवस्तु नष्ट गरिएको काेहलपुर नगरपालिकाका बजार अनुगमन संयोजक अग्नि आचार्यले जानकारी दिए।

उपभोक्ताको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिइने आचार्यले बताए ।

अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका रामहरी लामिछाने, उद्योग, वाणिज्य तथा आपूर्ति कार्यालयका लोकेन्द्र विसी, जिल्ला प्रशासन कार्यालयका विक्रमकुमार सुनार, इलाका प्रहरी कार्यालय कोहलपुरका सानु श्रेष्ठ तथा कोहलपुर टुडे डटकमका कार्यकारी सम्पादक डिल्ली शाही सहभागी रहेका थिए।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ जेठ २० गते बुधबार