कोहलपुर । नेकपा (माओवादी केन्द्र) कोहलपुर नगर समितिले कोहलपुर नगरपालिकालाई ४१ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ। नगर अध्यक्ष बल बहादुर खड्का (अबिरल) को नेतृत्वमा नगर प्रमुख पूर्ण प्रसाद आचार्यलाई बुधबार उक्त ध्यानाकर्षण पत्र बुझाइएको हो।
नगर अध्यक्ष खड्काका अनुसार उक्त पत्रमा नगरपालिकाभित्र देखिएका समग्र समस्या, आगामी सुधारका दिशा र योजनामा समेटिनुपर्ने महत्वपूर्ण एजेन्डाहरू समेटिएको छ। समिक्षा र सुझावसहित तयार गरिएको यो पत्र नगरको विकास र जनजीवन सहज बनाउन केन्द्रित रहेको बताइएको छ। त्यसैगरी, प्रशासनिक सेवा, रोजगार व्यवस्था, प्राकृतिक प्रकोप व्यवस्थापन, सञ्चार लगायत विभिन्न क्षेत्रका सुझावहरू पनि पत्रमा उल्लेख गरिएको छ।
अध्यक्ष खड्काले कोहलपुरमा पछिल्लो समय लागुऔषधको अवैध प्रयोग, चोरी, डकैतीजस्ता घटनाहरू बढ्दो क्रममा रहेको जनाउँदै ती समस्याको नियन्त्रणका लागि स्थानीय सरकारले तत्काल कठोर कदम चाल्नुपर्नेमा जोड दिए। साथै, वर्षायाममा दोहोरिने धनजनको क्षति रोक्न समयमै विपद् व्यवस्थापनमा ध्यान दिन आग्रह गरे।
ध्यानाकर्षण पत्र ग्रहण गर्दै नगर प्रमुख पूर्ण प्रसाद आचार्यले सबैको सुझावका आधारमा आगामी नीति तथा कार्यक्रम तय गरिने बताए। साथै, उनले कोहलपुरको समग्र विकासका लागि सबै राजनीतिक दल र समुदायको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै, उठाइएका विषयप्रति आफु सधैं संवेदनशील रहेको प्रतिवद्धता जनाए।
प्रतिक्रिया दिनुहोस्