खजुरामा सडक कालोपत्रेको माग गर्दै बिरोध प्रदर्शन




बाँकेको खजुराका स्थानीयले सडक कालोपत्रे हुनुपर्ने माग गर्दै बिहीवार राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । खजुरा बजारमा निर्माण भइरहेको १८ सय मिटरको फोरलेन सडक तत्काल कालोपत्रे हुनुपर्ने माग गर्दै स्थानीयले नेपालगन्ज–गुलरिया राजमार्ग अवरुद्ध गरेर बिरोध प्रदर्शन गरेका हुन् ।

उक्त सडक निमार्णको जिम्मा गजुरमुखी कन्स्ट्रक्सन प्रालीले चार वर्ष अघि लिएको हो । तर अहिलेसम्म सडक पीच नहुँदा स्थानीय रुष्ट भएका छन् । राजमार्गमा गरिएको बेस समेत उप्किएपछि धुलो उडेर स्थानीयले सास्ती खेप्नु परेको छ ।

पैदल हिड्नेदेखि साइकल र मोटरसाइकलमा सवार गर्नेहरुले पनि धुलोको सामाना गर्नु परेको छ । चिसोको कारण राजमार्गमा गरिएको बेस उप्किएको सडक डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख होमबहादुर एसीले बताए ।

सडक निर्माणको जिम्मा पाएको गजुरमुखी कम्पनीले म्याद थप गर्न सडक डिभिजनलाई पत्र लेखेका छ । सडक डिभिजनपनि म्याद थप्ने प्रक्रियामा छ । चैतभित्रमा सम्पन्न गर्नेगरी म्याद थपको तयारी भइरहेको एसीले बताए ।

खजुराको धनौली चौकीदेखि खजुरा एक नम्बरसम्मको १८ सय मिटर सडक पीच गरिन लागिएको हो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन ५ गते बिहीबार