बरघर प्रणाली संरक्षण, प्रवर्द्धन र विकास गर्न बैजनाथका ३६ बरघर एकैठाउँमा




सुनिसा चन्द, बैजनाथ ।

बैजनाथ गाउँपालिकामा रहेका बरघरहरु एकैठाउँमा आएका छन् । गाउँपालिकाले बरघर प्रणाली संरक्षण, प्रवर्द्धन र विकास गर्न बनेको विधेयक २०८१ को पूर्ण रुपमा कार्यान्वयन गराउन ३६ बरघर एकैठाउँमा आएका हुन् ।

मंगलबार बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायको प्रमुख अतिथि तथा बरघर बैजनाथका अध्यक्ष चन्द्र बहादुर थारुको अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।

गाउँपालिका उपाध्यक्ष रोकायले थारु परम्परागत कला साँस्कृतिक संरक्षण गर्ने र थारू संग्राहलय निर्माण गर्न प्रतिबद्धता व्यक्त गरिन् ।

थारूहरूको पहिचान हुने गरी आफ्ना गतिविधि गर्नका लागि आफै लाग्नुपर्ने बताउँदै उनले आगामी हुने कार्यक्रममा विभिन्न आत्मानिर्भरका तालिमहरु समेत सञ्चालन गर्ने गरी योजनाहरुको प्रस्ताव पेश गर्न अनुरोध समेत गरिन् ।

‘कला, साँस्कृति, रितिरिवाज, चालचलन, भेषभूषालाई संरक्षण गर्न पालिकाले सबै आर्थिक सहयोग गर्ने भन्ने हुँदन,’ उनले भनिन्, ‘आफूले आफ्नो कला, साँस्कृति, रितिरिवाज, चालचलन, भेषभूषालाई संरक्षण गर्न एकठाउँमा आउनुपर्छ ।’

जसरी आज एकठाउँमा आउनुभएको छ, यसैगरी सधै एकठाउँमा आउन आग्रह गर्दै पालिकाले बनाएको ऐन, नियम कानून समेत पूर्ण रुपमा लागू हुने बताइन् ।

‘थारु साँस्कृतिक संरक्षण गर्न पालिकाले केही बजेट विनियोजन गरेको छ’, उनले थपिन्, ‘त्यो रकम प्रयाप्त नहोला तर केही सहज पक्कै हुनेछ,’ आगामी दिनहरुमा बरघरले आफ्नो योजना बनाएर पालिकामा ल्याउनुहोस्, पालिकाबाट हुने सम्पूर्ण सहयोग हुने विश्वास दिलाएकी थिइन् ।

यस्तै बैजनाथ गाउँपालिका बरघर समितिका अध्यक्ष चन्द्र बहादुर चौधरीले सबै वडामा समिति तयार भइसकेको बताए । उनका अनुसार बरघर ऐन, नियम कानून पालिकाले २०८० माघ १८ गते पालिकाको राजपत्रमा समेत प्रकाशन गरिसकेको छ ।

चौधरीले केही महत्वपूर्ण निर्णय गर्दै बैजनाथ १ चिसापानीमा माघि महोत्सव लगाउने समेत निर्णय भएको बताए । पालिकामा ८ वटामा समेत बरघरको नयाँ कार्यसमिति चयन गरिएको छ ।

जसमा वडा नंं. १ मा खुसीराम थारू, २ वडाका श्यामुवा थारू, ३ वडाका जुगलाल थारू, ४ वडाका सोहनलाल थारू, ५ वडाका प्रेमलाल थारू, ६ वडाका छोटेलाल थारू, ७ वडाका महेश थारू र ८ वडाका राधेश्याम थारू रहेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ मंसिर १८ गते मंगलबार