एसीसी महिला प्रिमियर कप क्रिकेट : नेपालको लगातार दोस्रो जित, भुटानलाई आठ विकेटले हरायो

काठमाडौँ ।

मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले आइतबार खेलिएको आफ्नो दोस्रो खेलमा भुटानलाई आठ विकेटले पराजित गरेको हो ।

यसअघि आफ्नो पहिलो खेलमा नेपालले हङ्कङलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो । पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ६५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ११.५ ओभरमा २ विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो ।

नेपाली टोलीको जितमा ओपनर सीता रानामगरले अविजित ३२ रनको योगदान गरिन् । उनले ३७ बलमा एक छक्का र दुई चौका पनि प्रहार गरिन् । रुबिना क्षेत्रीले पनि अविजित १७ रनको योगदान गरिन् । उनले २४ बलमा एक छक्का र एक चौका हिर्काइन् ।

ओपनर कविता कुँवर पाँच र कप्तान ईन्दू बर्मा एक रनमा पेभेलियन फर्किएका थिए । नेपालले अतिरिक्त रुपमा पनि ११ रन पाएको थियो । भुटानका बलर अञ्जु गुरुङ र अञ्जुली चालीले एक–एक विकेट हात पारेका थिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भुटानका लागि नगावाङ चोडेनले २५, कप्तान डेचेन वाङ्मोले १७ र छिरिङ जाङ्मोले १६ रन बनाए । नेपाली टोलीका बलर कविता कुँवर, सीता रानामगर, ईन्दू बर्मा र कविता जोशीले एक–एक विकेट लिए ।

लगातार दुई जितसँगै नेपालले क्वार्टरफाइनल प्रवेशको सम्भावना पनि बलियो बनाएको छ । नेपाल चार अंकसहित तालिकाको पहिलो स्थानमा छ । दुईमध्ये एक खेलमा जित हात पारेको भुटान दुई अंकसहित तालिकाको दोस्रो स्थानमा छ । भुटानले शनिबार भएको आफ्नो पहिलो खेलमा मालदिभ्सलाई ९४ रनले हराएको थियो ।

एक–एक खेलेका हङ्कङ र माल्दिभ्सले भने खाता खोल्न सकेका छैनन् । यी चारवटै टोली प्रतियोगिताको समूह ‘डी’ मा परेका छन् । नेपाली टोलीले समूहगत चरणमा आफ्नो तेस्रो तथा अन्तिम खेल मंगलबार मालदिभ्ससँग खेल्नेछ ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो । यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ ।

एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् । फेब्रुअरी १८ तारिखसम्म सञ्चालन हुने महिला प्रिमियर कपमा कुल १६ वटा राष्ट्रको सहभागिता रहेको छ ।

प्रतियोगिताको समूह ‘सी’ मा बहराइन, इन्डोनेसिया, आयोजक मलेसिया र कतार रहेका छन् । समूह ‘बी’ मा चीन, जापान, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) परेका छन् । समूह ‘ए’ मा भने कुवेत, म्यानमार, सिंगापुर र थाइल्यान्ड रहेका छन् ।

समूहगत चरणको खेलपछि प्रत्येक समूहबाट दुई–दुई टोली प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । चारवटै क्वार्टरफाइनल खेल फेब्रुअरी १४ तारिखमा खेलिने छ । सेमिफाइनल खेल फेब्रुअरी १६ र फाइनल खेल १८ तारिखमा हुनेछ ।

उक्त प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले इन्दु बर्माको कप्तानीमा टोलीको घोषणा गरेको छ । नेपाली टोलीमा बिन्दू रावल, रुविना क्षेत्री, सीता रानामगर, काजोल श्रेष्ठ, पूजा महतो, संगीता राई, अप्सरी बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, रोमा थापा, डली भट्ट र अस्मिना कर्माचार्य रहेका छन् ।