राप्तीसोनारीमा अज्ञात समूहले स्काभेटरमा आगजनी

कसैसँग आफ्नो दुश्मनी छैन तर किन आगजनी गरियो : गौरब रावल

बाँकेमा एउटा स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मसुरी बगर लामाचौरमा पार्किङ गरि राखिएको गौरब रावलको करिब करोड रुपैयाँ पर्ने भे १ प ११११ नम्बरको स्काभेटरमा मंगलवार राती अज्ञात समूहले आगजनी गरेको ट्राफिक प्रहरी पोस्ट शम्शेरगञ्जका प्रमुख प्रहरी नायब निरीक्षक होमनाथ अधिकारीले जानकारी दिएका छन् ।

मंगलवार राती पौने १० बजे स्काभेटरका चालक तथा सहचालक खाना खान गएको बेला अज्ञात समूहले आगजनी गरेको प्रहरी नायब निरीक्षक अधिकारी बताए । खाना खाइसकेर चालकहरु आएर हेर्दा स्काभेटरमा आगजनी भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपश्चात् आगो निभाएपनि स्काभेटर पूर्णरुपमा जलेको छ । प्रहरीले आगजनी गर्ने समूहको खोजी कार्य जारी रहेको जनाएको छ । स्काभेटर मालिक रावलले आफूले आफ्नो काम गर्दै आएको र कसैसँग पनि आफ्नो दुश्मनी नभएको हुँदा किन आगजनी गरियो भन्नेमा आफैं अचम्मित परेको बताए । रावलले तत्काल दोषीलाई पक्राउ गर्न प्रहरी समक्ष माग गरेका छन् ।

निशान बिल्डर्सले आफ्नो स्टक उठाउनलाई प्रयोग गरेको उक्त स्काभेटर जलाएकोप्रति आपत्ति जनाएको छ । साथै निशान विल्डर्सले दोषीलाई कडा कारबाही गरी उचित क्षतीपूर्ति दिलाउन समेत प्रहरीसमक्ष माग गरेको छ ।