जेष्ठ नागरिक दिवस पौष ११, कविता : जेष्ठ नागरिकलाई मायाँ गरौँ ।

घनश्याम रेग्मी

बाबा आमा सिर्जनाका मुहान
जन्म्यौँ हामी देख्न पायौँ बिहान
हामी बिर्सी हिँड्न थाल्यौँ भने त
हुन्नौँ सच्चा बुझ्न पर्ने यही छ । १

छोराछोरी भव्यता तर्फ जाऊन्
नौलो नौलो सिर्जनामा रमाउन्
राम्रो राम्रो कीर्ति छाओस् भनेर
सोच्ने आमा बाबुलाई भुलेर । २

पैसा पैसा भन्छ यो नव्य पुस्ता
सेवा बिर्सी हिँड्छ गर्दैन वास्ता
शिक्षा दीक्षा ज्ञान धेरै लिएका
एक्लै पार्छन धेर छन् है सडेका । ३

बन्नै पर्ने वृद्ध हामी सबैले
के सक्ला खै रोक्नलाई कसैले
घुम्दै फिर्दै चक्र यो फर्किने छ
हाम्रो पालो भोलि पक्कै हुनेछ । ४

थालौँ आजैदेखि सेवा यिनैमा
श्रद्धा साथै बस्न केही छिनैमा
केही होलान् पीर बाधा परेका
दुख्दो होला भित्र छाती उनैका । ५

आफ्ना छोरा नातिका साथ बोल्न
इच्छा होला भित्रका मर्म खोल्न
तातो खाना थप्न चाहा थियो कि
जाडो बढ्दा दुःख धेरै भयो कि । ६

हेक्का राख्ने हुन्छ कर्तव्य हाम्रो
बस्दा बोल्दा बेदना खुल्छ राम्रो
राख्दै आफ्नै छेउमा मिष्ठ बोल्दा
पीडा घट्दै मिल्छ केही सुबिस्ता । ७

लौ लौ साथी वृद्ध सेवा गरौँ है
हामी राम्रो भाव भाषा गरौँ है
हामीलाई रम्य धर्ती दिएका
वृद्धा पुस्ता प्यारका धेर भोका । ८

हामी लागी वृद्ध सेवा गरेमा
पक्कै राम्रो छाप पर्ला सबैमा
लोभी दम्भी चाल त्यो छोड्न पर्छ
धेरै पैसा गर्न पर्दैन खर्च । ९