प्रभात माविलाई बैजनाथ उपप्रमुख कपको उपाधि




कृष्ण कुमार शाही, बैजनाथ ।

बैजनाथ गाउँपालिकाको प्रथम उपप्रमुख कपको उपाधि प्रभात माविले लिएको छ । पुष ६ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको पालिका स्तरीय खेलकुद प्रतियोगितामा ९ स्वर्ण, ३ रजत, ३ कास्य प्राप्त गरी उपप्रमुख कपको उपाधि हात पारेको हो । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ओरिलालपूरले ४ स्वर्ण, २ रजत र १ कास्य प्राप्त गरेको छ भने नेपाल राष्ट्रिय मावि नौलापुरले २ स्वर्ण, १ रजत र १ कास्य प्राप्त गरेको छ ।

उपप्रमुख कपको समापन कार्यक्रममा बोल्दै बैजनाथ गाँउपालिका अध्यक्ष प्रकाश बहादुर शाहीले गुणस्तरीय शिक्षा प्रदान गर्न खेलकुदको अपरिहार्य रहेको बताए । ‘प्रत्येक वडामा खेलमैदान तयार गर्ने योजना निर्माण गरेका छौं’ उनले भने, ‘शिक्षा संगसंगै खेलकुदमा पनि पालिकाले ठुलो लगानी गरेको छ ।’ पालिकाले विद्यालय स्तरबाट नै खेलाडि उत्पादन गरी राष्ट्रिय स्तरमा पुर्‍याउने पालिकाले लक्ष्य लिएको पालिका अध्यक्ष शाहीले बताए ।

यस्तै बैजनाथ गाउँपालिका उपप्रमुख निर्मला रोकायाले उपप्रमुख कप प्र्रत्येक वर्ष निरन्तरता पाउने बताइन् । ‘पालिकामा खेलकुदको सुरुवात मात्र गरेका छौं, ‘अब सबै विद्यालयमा खेल सप्ताह अनिवार्य सञ्चालन गर्नुपर्ने छ’ उनले भनिन् ।

यस्तै कार्यक्रमको समापन गर्दै खेलकुद विकास समितिका संयोजक महाविर थारुले शिक्षा शाखाका प्रमुख, विद्यालयका प्रअ, खेल शिक्षक, विव्यस अध्यक्ष, विभिन्न समितिका संयोजक, सुरक्षाकर्मी र पत्रकार तथा सम्पूर्ण उपस्थित महानुभावहरुलाई समेत प्रतियोगिता सञ्चालनमा सहयोग गर्नुभएको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।

खेदकुद प्रतियोगितामा संस्थागत र सामुदायिक विद्यालय गरी ४४ वटा विद्यालयहरुको सहभागिता रहेको थियो भने १५ विधामा खेल भएको कार्यक्रम सञ्चालक लाल बहादुर बोहराले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ पुस १० गते आइतबार