अंकमै अड्कीएको गुणस्तरीय शिक्षा




डिल्ली शाही

नेपाल एउटा विकासउन्मुख देश हो । शिक्षा विकास हो भने विकास शिक्षा हो । यि दुवै एकअर्कोमा परिपुरक छन् । ‘गुणस्तरीय क्षिक्षा आजको आवश्यकता’ यो नारा हामीले सुन्दै आइरहेका छांै तर गुणस्तरीय शिक्षाको अर्थ के हो ? कुन कलेज, विश्वविद्यालय वा विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दछ ?’ जस्ता प्रश्नहरुको उत्तरमा भने प्राय अनविज्ञनै रहेको पाइन्छ । तर कोहलपुर नगरपालिकाले विगतदेखि नै कोहलपुरलाई शैक्षिक हब बनाउने भनेर निति तथा कार्यक्रम पनि अगाडि सारेको छ । विभिन्न कार्यक्रम तथा गोष्ठिहरुमा पनि शिक्षा अति आवश्यक हो भन्ने केही कार्यक्रम बाहेक धेरै कार्यक्रममा बोलीरहेका हुन्छौं । गुणस्तरीय शिक्षा हासिल गर्न विभिन्न तत्वहरुले प्रत्येक्ष वा अप्रत्यक्ष रुपमा प्रभाव पारेको हुन्छ । कलेज वा विश्वविद्यालयहरुको महँगो शैक्षिक शुल्क हुँदैमा गुणस्तरीय शिक्षा प्रदान गर्दछ भन्ने होइन ।

शुल्कको आधारमा शिक्षाको गुणस्तर भने मापन गर्न सकिदैन । कोहलपुरका रहेका सरोकारवालाहरुको मुखबाट अचेल जताततै गुणस्तरीय शिक्षाको कुरा उठिरहेको छ । तर गुणस्तरीय शिक्षाको परिभाषा के हो ? यस्तो यस्तो भयो भने गुणस्तरीय शिक्षा हुन्छ भनेर कसैले पनि परिभाषित गरेको पाइँदैन । नेपाल सरकारले परीक्षामा नतिजा राम्रो ल्याउन सक्नेलाई गुणस्तरीय मान्ने गरेको छ । सरकारले पनि पुरस्कार दिनका लागि मूलतः परीक्षाको नतिजालाई नै आधार बनाउने गरेको छ ।

बालबालिकाले पाठ्यक्रम अनुसार रटाएर परीक्षामा राम्रो अंक ल्याएर उर्तिण हुने विद्यालर्थीको संख्यालाई आधार मानेर गुणस्तरीय शिक्षा भएको निर्धारण गर्ने वा विद्यार्थीले सिकेका कुराहरु व्यवहारमा उतारेपछि गुणस्तरीय शिक्षा मान्ने । कक्षाकोठामा गएर शिक्षकले तोकिएको पाठ्यक्रम अनुसार आधार मानी सरसर्ती पढाएको कुरालाई आधार मान्ने वा पाठ्यपुस्तकका साथसाथै व्यावहारिक ज्ञान दिएर विद्यार्थीलाई आफ्नो जीवनसँग शिक्षालाई जोड्न सक्ने बनायो भने गुणस्तरीय मान्ने ? वा पृष्ठभूमिमा उल्लेख गरिए जस्तै छोराले आफ्नो नाम अंग्रेजीमा भन्दा आमा खुशी भएको कुरालाई गुणस्तरीय शिक्षा मान्ने ? कोहलपुर नगरपालिका भित्र ३० वटा सामुदायिक विद्यालय छन् भने ५० वटा संस्थागत विद्यालयहरु रहेका छन् । कोहलपुर नगरपालिकाले पनि प्रथामिक तहसम्म निशुल्क पनि गरेको छ । सामुदायिक विद्यालयमा ३२८ जना शिक्षक छन् भने ३१ जना कर्मचारी छन् भने सबैभन्दा बढि त्रिभुवन माध्यामिक विद्यालयमा १० जना कर्मचारी रहेका छन् । कोहलपुर नगरपालिकाले आधारभुत तहसम्म ९५ जना शिक्षक छन् भने १८ कर्मचारी रहेका छन् । कोहलपुर नगरपालिकामा अहिले हामीले गुणस्तरीय शिक्षा पढाइ र परीक्षा प्रणालीमा सुधार गरेर होइन, परीक्षाको नतिजा सार्वजनिक गर्ने तरीकामा सुधार गरेर खोज्दैछौं ।

नगरभित्रका ३० वटा विद्यालयमा परीक्षा प्रणाली उस्तै छ, अध्ययन— अध्यापन प्रणाली पनि उस्तै छ, पढाउने विधि पनि उस्तै छ, पाठ्यक्रम उस्तै छ, पाठ्यपुस्तक उस्तै छ, विद्यालयमा शिक्षण सिकाइ सामग्रीको अवस्था उस्तै छ, शिक्षकको अवस्था पनि उस्तै छ, विद्यालयको भौतिक पूर्वाधारको अवस्था पनि उस्तै छ, अनि हामीले ९० अङ्कको ठाउँमा ‘ए’ लेखिदिने वित्तिकै कसरी गुणस्तरीय शिक्षा हुन सक्छ ? नेपाल सरकारले तोकिएको पाठ्यवस्तु एक विद्यार्थीले वर्ष भरीनै उत्कृष्ट हुन्छ । त्रैमासिक, अर्धवार्षिक परीक्षामा उसले नतिजा पनि राम्रै ल्याएको हुन्छ । तर अन्तिम परीक्षा सञ्चालनको क्रममा कुनै एक विषयको परीक्षाको दिन बिरामी भयो भने ऊ असफल हुन्छ । विद्यार्थीको उत्कृष्टता, उसको योग्यता, उसको क्षमता कुनै काम लाग्दैन । ऊ अक्षम घोषित हुन्छ, आफ्नो साथीहरूका बीचमा आफू एक्लो महसूस गर्छ अनि उसले आफ्नो पढ्दा पढ्दै अनपढ झै गरेर भारतका गल्लीहरूमा डण्डा बजाउन पुग्छ । तर हामी परीक्षाको नतिजा प्रकाशन प्रणालीलाई परिवर्तन गरेर उत्कृष्ट भन्दैछौं ।

नेपालीको अझै पनि धारण परिवर्तण हुन सकेको छैनन् । हामी अंग्रेजीमा आफ्नो नाम भन्न सक्ने वा अंग्रेजीमा कुरा गर्न सक्ने सक्षम जनशक्ति उत्पादन भयो भने गुणस्तरीय शिक्षा भएको मान्दछौं । तर अंग्रेजी बोल्नु नै गुणस्तरीय शिक्षाको आधार हुन सक्दैन । गुणस्तरीय शिक्षा हुनका लागि भाषाले होइन, व्यक्तिको व्यवहारले अर्थ राख्छ । शिक्षा नै विकास हो भने विकास शिक्षा हो । वर्गीय अनुसारको शिक्षा दिई राखेको नेपाल सरकारले । शिक्षा प्रदान गर्नका लागि दुई किसिमले हेरेको छ । एउटा धनी वर्गको शिक्षा र अर्को गरिब बर्गको शिक्षा । जुन सामुदायिक विद्यालयमा पढ्नपाढ्न गर्ने विद्यार्थीहरुले लिएको शिक्षा गरिव वर्गका छोराछोरी भनिन्छ भने संस्थागत भएका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई धनी वर्गका छोराछोरीको रुपमा मानेका छौं । कोहलपुरमा शैक्षिक क्षेत्रमा सुधार गर्नका लागि विगतदेखि सागर गैरे, शंकर अशान्त लगायत वर्तमानमा कलम चलाउने एकराज शर्मा, सूर्य ढकाल र दामोदर पौडेल लगायतको महत्वपूर्ण योगदान दिएका छन् ।

कोहलपुर नगरपालिकाले आ.व. २०७६ ÷०७७ बाट कोहलपुरमा सम्पूर्ण आधारभुत तह सम्मको शिक्षक तलब कोहलपुर नगरपालिकाले दिने योजना बनाएको छ । कोहलपुर नगरपालिकाले अब सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षालाई व्यक्तिको जीवनसँग प्रत्यक्ष रूपमा जोडिनु जरूरी छ । अहिलेको शिक्षाले अटेरी, समाजप्रति अनुत्तरदायी, बेरोजगार जनशक्ति उत्पादन गरेको छ । साधारण शिक्षाका उत्पादनहरूमध्ये धेरै थोरै मात्रै, त्यो पनि आफ्नै परिश्रमले गर्दा सफल भएका देखिन्छन् । अन्यथा, प्रमाणपत्र बाकसमा थन्काएर मजदूरीका लागि भारत र तेस्रो मुलुकमा भौंतारिहनुपर्ने अवस्था छ । कोहलपुर नगरपालिकाले अब शिक्षा निति निमार्णमा शिक्षा त्यस्तो हुनुप¥यो व्यक्तिमा भएका सबै प्रकारका मानसिक विकारको अन्त्य गर्न सक्ने । हाम्रो शिक्षा प्रवेशिका उत्तीर्ण गर्ने बित्तिकै हलो जोत्नुहुन्न भन्ने खालको छ । यसमा सुधार हुनु जरूरी छ । शिक्षा जागिर गर्नका लागि मात्र होइन् भन्ने सन्देश पनि हाम्रो शिक्षा प्रणालीले दिन सकेको छैनन् ।
कुनै विद्यार्थी पिएडी गरी घरमा बसेर समाजमै पनि ‘फलानाको छोरो यति पढेर पनि हलो जोत्नु परेको छ, पढेर के काम ?’ वा ‘फलानाको छोरी यति पढेर पनि घरधन्दामै लागेकी छे, पढेर के गर्नु ?’ यस्ता यस्तै कुराहरू सुनिन्छिन् । मानौं, पढेर हलो जोत्नु वा घरधन्दा गर्नु अपराध हो । यो सामाजिक बुझइलाई चिर्न सके मात्रै हामीले गुणस्तरीय शिक्षा मान्न सक्छौं । अर्थात् शिक्षाबाट आर्जन गरेको ज्ञान व्यावहारिक जीवनमा उतार्ने बनाउन सक्यौं भने त्यतिवेला शिक्षा गुणस्तरीय भएको मान्न सकिन्छ । शिक्षा, सामाजिक जीवन हो, शिक्षा नैतिक मूल्यमान्यता हो, शिक्षाले व्यक्तिलाई सामाजिकीकरण गर्छ भन्ने खालको विश्वास हामीले जगाउन सकेका छैनौं ।

युनिसेफले विद्यार्थीहरुको वाह्य अनुभव, सिकाइ गर्ने वातावरण, शैक्षिक विषयवस्तु, सिकाइ प्रक्रिया र शैक्षिक परिणाम, जस्ता पाँचवटा तत्वहरुको आधारमा गुणस्तरीय शिक्षालाई परिभाषित गरेको छ । विद्यार्थीहरु स्वस्थ, राम्रो पालन पोषण भएको, सिकाइको लागि विद्यार्थी स्वयम अग्रसर रहनुको साथै समाज र परिवारले पनि अध्ययन क्रियाकलापमा पूर्ण सहयोग गरेको हुनुपर्दछ । शिक्षण सिकाई क्रियाकलाप स्वस्थ, सुरक्षित, आधारभुत सुविधा सम्पन्न, सौहार्दपूर्ण वातावरण, शिक्षण विधि विद्यार्थी मैत्री हुनुपर्दछ । नेपालमा गुणस्तर मापन गर्नको लागि परिक्षाको परिणाम जाँचबुझ गरिन्छ । विद्यार्थीको शैक्षिक उपलब्धि, उनीहरुको उमेर, शैक्षिकस्तर र राष्ट्रिय मापदण्ड अनुसारको हुनुपर्दछ ।

यथार्थ के हो ?

कोहलपुर नगरपालिकामा पनि अंग्रेजी माध्यमको लहर चलिरहेको छ । केही सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमबाट पनि लिने गरेका छन्् जस्तै त्रिभुव नमूना माध्यामिक विद्यालयमा अंग्रेजी र नेपाली गरी दुई तरीकाबाट अध्यापन भईरहेको छ । गुणस्तरीय शिक्षा सुधार गर्नका लागि एक मात्र अचूक औषधिको रुपमा लिएको पाइन्छ । तर यो नीतिसँग जोडिएका शिक्षण–सिकाइ र शिक्षक–विद्यार्थीसँग सम्बन्धित मुद्दाहरूमा गहिरो विश्लेषण गरिएको छैन । मेरो आफ्नै अध्ययनको सिलसिलामा संकलन गरिएका तथ्यहरूको आधारमा निम्न यथार्थहरू प्रस्तुत गरिएका छन्:

१. रटेका कुराहरू ओकल्नु नै गुणस्तरीय सिकाइ हो भन्ने गलत सन्देश अंग्रेजी माध्यमको प्रयोगसँगै आम जनमानसमा गइरहेको छ ।

२. शिक्षण–सिकाइलाई झन बढी पाठ्ययपुस्तक र शिक्षक केन्द्रित बनाएको छ । अंग्रेजी भाषा नबुझने भएर शिक्षकहरूले जे भन्यो र पाठ्यपुस्तकमा जे लेख्यो त्यही सार्ने भन्दा अरू उपलब्धि केही भएको छैन ।

३. आधारभूत तहमा (निजी र सामुदायिक दुवैमा) अंग्रेजी माध्यमले विद्यार्थीहरू खुलेर सिक्ने र शिक्षकले खुलेर पढाउने अवसर बन्द गरेको छ । अंग्रेजी माध्यमको बोझ्ले शिक्षण–सिकाइ यान्त्रिक र सुगारटाइमै सीमित भएको छ ।

४. शिक्षकहरूसँगको कुराकानीको आधारमा यो नीति गुणस्तरीय सिकाइको लागि भन्दा पनि निजी स्कूलहरूको गलत अभ्यासहरूको नक्कल र फेसनको रूपमा लिइएको पाइन्छ । मुख्यतः कुनै पनि विषयहरूको तहगत, कक्षागत र विषयगत उद्देश्यहरू अंग्रेजी माध्यमबाट पढाउदा पूरा गर्न नसकिने देखिन्छ ।

५. अंग्रेजी माध्यमले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सामुदायिक विद्यालयहरू गुणस्तरहीन छन् । नेपाली माध्यममा पढ्ने विद्यार्थीहरू कमजोर हुन्छन् र अंग्रेजी भाषा पनि राम्रो सिक्दैनन् भन्ने गलत धारणाको पक्षपोषण गरिरहेको छ ।

८. विद्यार्थीको रचनात्मक तथा सोच्ने क्षमता र सीपको विकासमा नकारात्मक प्रभाव परेको देखिन्छ ।

निष्कर्ष

अंग्रेजी भाषा सिकाइको महत्व रहेको कुरामा दुईमत छैन । तर यसलाई सबै विषय पढाउनको लागि माध्यम भाषाको रूपमा प्रयोग गर्दा गुणस्तरीय सिकाइ हुन सक्दैन । आधारभूत तहमा अनिवार्य अंग्रेजी भाषा विषयलाई नै प्रभावकारी रूपले पढाउने हो भने पनि अंग्रेजी भाषा सिकाइको आवश्यकतालाई सम्बोधन गर्न सकिन्छ । यसको लागि दक्ष भाषा शिक्षकहरूको आवश्यकता पर्दछ । अहिले अनिवार्य अंग्रेजी भाषाको पढाइ नै एकदमै कमजोर भैरहेको अवस्थामा सबै विषय अंग्रेजी माध्यममा पढाउने नीति तर्कसंगत छैन । हचुवाको भरमा अंग्रेजी माध्यम लागू गर्दै जाने हो भने न त विद्यार्थीले राम्रो सिक्छन् न त शिक्षकहरूले नै प्रभावकारी शिक्षण गर्न सक्छन् । यस सन्दर्भमा बुझनुपर्ने एउटा तीतो यथार्थ के हो भने निजी स्कूलहरूमा पनि अंग्रेजी माध्यममा गुणस्तरीय शिक्षण सिकाइ हुनसकेको छैन ।

विद्यार्थीलाई आफूले मनलागेको भाषा बोल्न नदिएर विद्यालयलाई जेल जस्ता बनाइएको छ । विद्यार्थीको सृजनशीलता, संज्ञान, प्राज्ञिक सीप, सोच्ने क्षमता, लेखाइ, पढाइ तथा सामाजिक सीपहरूको विकास नभएको शिक्षाले सुगा विद्यार्थी मात्र उत्पादन गर्दछ । आज अंग्रेजी माध्यमको लहडमा फसेर हामीले शिक्षाका आधारभूत सिद्धान्तहरू मात्रै कुल्चिएका छैनौं कि गुणस्तरीय शिक्षा पाउने अधिकारबाट हाम्रा विद्यार्थीलाई वञ्चित गरेका छौं र गर्ने दिशामा अघि बढेका छौं । यसको साथसाथै मातृभाषामा आधारभूत शिक्षा पाउनुपर्ने अधिकारबाट विद्यार्थीलाई वञ्चित गरेका मात्र छैनौं कि कमजोर सिकाइको आधार भएका विद्यार्थी उत्पादन गरेर विद्यालय शिक्षालाई दीर्घकालीन रूपमा तहसनहस पार्ने कोशिश गरिरहेका छौं । तसर्थ यो विषयमा कोहलपुर नगरपालिका, शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाविद् तथा अन्य सरोकारवालाबीच यथार्थपरक छलफल हुन आवश्यक छ ।

प्रकाशित मिति : २०७८ मंसिर १ गते बुधबार