कोहलपुर नगरपालिकालाई फोहोर व्यवस्थापनमा सकस

डिल्ली शाही ।

नेपाल एउटा विकासउन्मुख देश हो । बाँके जिल्ला कोहलपुर नगरपालिका प्रदेश नं. ६ र ७ को केन्द्र विन्दुको रुपमा रहेको छ । यहाँ ७७ जिल्लाका मानिसहरु बसोबास गर्दछन् । कोहलपुर नगरपालिकाले स्मार्ट सिटीको अवधारण अगाडि सारेको छ । कोहलपुरमा पाँच तारे ठूलाठूला होटलहरु पनि बनिसकेका छन् । बाँके राष्ट्रिय निकुञ्ज पनि नजिकै रहेको छ । पर्यटकहरुका लागि कोहलपुर आकर्षकको रुपमा समेत रहेको छ ।

फोहोर व्यवस्थापन कोहलपुर नगरपालिकाका लागि चुनौतिका रुपमा रहन थालेको छ । फोहोर व्यवस्थापन गर्नका लागि यस नगरपालिकाले धेरै लगानी गरेको छ तर लगानी अनुसारको उपलब्धी हुन सकेको छैन । यस नगरपालिकाले कोहलपुरका फुटपाथमा राखिएका निर्माण सामग्री तथा पसलहरु हटाउन धेरै पटक निर्णय गरेको छ तर कार्यन्वयमा उपलब्धी देखिएको छैन ।

फोहोर व्यवस्थापन नभएका कारण यहाँको वातावरणमा गम्भीर असर परिरहेको छ । फोहोरबाट उत्पन्न हुने ‘कार्वनडाइ अक्साइडले’ ले पृथ्वीको तापक्रम वृद्धि हुँदै गएको छ । जसको फलस्वरूप खण्डवृष्टि, अम्लीय वर्षा, अति वर्षा जस्ता समस्या देखा परिरहेका छन् । फोहोर व्यवस्थापन गर्न सकस हुँदा नगरपालिकामा वातावरण प्रदूषित तथा दुर्गन्धित हुने, सहर अव्यवस्थित देखिने समग्र कोहलपुर नगरपालिकाको प्रतिष्ठामा आँच पुग्ने लगायतका कुराहरुमा परिणत हुने गर्दछ ।
यहाँका संघ संस्था, सहकारी संस्था, बैंक, होटल व्यवसायी, उद्योग वाणिज्य संघ, योग एवम् प्राकृतिक स्वास्थ्य समाज नेपाल, युवा सञ्जाल लगायतका संघसंस्थाहरुले फोहोर व्यवस्थापनमा सरसफाई अभियान चलाउँदै आएका छन् । विभिन्न दिवस तथा अवसरमा सन्देश प्रवाह भन्दै थोरधेर बजेट खर्च हुने गरेको छ । वजेट पाउने निहुमा विभिन्न संघसंस्थाहरुले आ आफ्नो नेतत्वमा सरसफाइ गर्ने गरिएका छन् । तर सरसफाइका अभियानहरु फेसबुके फोटोको लागि मात्र सिमित भएका छन् ।

कोहलपुरको चौराहमा अति सुन्दर छ । यो चौराहा कोहलपुरको चिनारी पनि हो । तर चौराहकै वरपरको फोहोरले त्यहाँको सुन्दरतामा निकै कमी ल्याएको छ । यो कुरा कोहलपुरको नेतृत्व तहदेखि वौद्धिक व्यक्ति एवम् पत्रकार सबैलाई थाहा छ तर यथेष्ट पहल भएको देखिदैन । हुनत विगतदेखि नै नगरपालिकाले सरसफाई अभियान प्रायःजसो कोहलपुरको चौराहबाट नै सुरुवात गर्ने गरिरहेको छ । तर हरेक पटकको अवश्था उस्तै हुन्छ ।

पर्यटकहरुले शान्त वातावरणमा आनन्द लिन मन पराउँछन् । कोहलपुरबाट मानसोबर जाने पर्यटकको पनि ताति जस्तै हुन्छ । नेपाल सरकारले ‘भिजिट २०२०’ को अवधारण अगाडि सारेको छ । सोही बमोजिक आफ्ना नियमित कार्यहरु अगाडि सारेको छ । सडक छेउछाउमा फोहोर संकलनका लागि डस्टबिन नराखिनु र जथाभावी फोहोर फाल्ने बानीले गर्दा दिनहुँ पर्यटकीय क्षेत्रमा गम्भीर असर पुगेको देखिन्छ ।

कोहलपुर नगरपालिकामा वडा नं. १ देखि १५ सम्म रहेका मासु पसल, फ्रेस हाउस, डेरी उद्योग तथा दुग्धजन्य पदार्थ बिक्री गर्ने पसल, खाद्यान्न तथा किराना पसल, कपडा तथा फेन्सी पसल, विभिन्न हार्डवेयर पसल, होटल तथा रेष्टुरेन्ट, औषधि तथा एग्रोभेट पसल, विद्युतीय सामग्री तथा ईलोक्ट्रोनिक्स पसल, पुस्तक तथा स्टेशनरी सम्बन्धि पसल र विभिन्न सेवामुलक व्यवसायहरु गरी १६ सय ७० वटा दर्ता भएका छन् ।

कोहलपुर नगरपालिकाले वि.स.२०७४ सालदेखि मातृभूमि नेपाल संस्थासँग फोहोर व्यवस्थापन गर्ने भनी सम्झौता भएको थियो । सम्झौता गरेको संस्थाले फोहोर उठाएको पैसा लिने स्वाभाविक कै हो तर कुन प्रकारले फोहोर उठाइरहेको छ भन्ने बारे यहाँका सरोकारवालाहरु छलफल हुन जरुरी रहेको देखिन्छ । कुहिएको फोहोर र नकुहिने फोहोर राख्नको लागि डस्टविनहरु सडक पेटीमा राखिएको छैनन् । व्यवसायीले फोहोर राख्नका लागि प्लाष्टिकको पोलिथिनमा र बोरामा राखेर सडकका पेडीमा राख्ने गरेका छन् । जबसम्म मातृभूमि नेपालको फोहार फाल्नका लागि गाडि आउँदैन तबसम्म सोही स्थानमा फोहोर छरपष्ट भइरहेको हुन्छ । त्यसलाई न त फोहोर व्यवस्थापन गर्ने संस्थाले नै उठाउँछ न त व्यवसायीले नै । अनि बाटोमा हिड्ने मान्छेहरु नाख थुनेर हिड्न बाध्य हुन्छन् ।

फोहोर व्यवस्थापनका लागि नीति, विधि र नियम ल्याई कडा रुपमा कार्यान्वन नभएमा भविष्यमा कोहलपुर नगरपालिकाले ठुलो मुल्य चुकाउनु पर्ने छ । प्रधानमन्त्री रोजगार कार्यक्रमले पनि फोहोर मैला व्यवस्थापन गर्नेलाई नै प्रमुख आवश्यकता अनुसार काम गरेको थियो । कोहलपुर नगरपालिकाको १५ वटै वडाका सम्पूर्ण वडाहरु सरसफाई गछौं भनेर धेरै सुनियो । जसको ६९ लाख बराबरको लगानीमा ३० जना कर्मचारी ३० दिनको लागि कोहलपुरका १५ वटै वडाहरुमा फोहोर व्यवस्थापन गर्न लगाइयो । प्रधानमन्त्री रोजगार कार्यक्रमको योजनाले कुनै पनि उपलब्धी भएन भन्ने जनगुनासो सुनिइरहेको छ । सरसफाईको निहुँमा झाडु समातेर स्कुटरमा चढको जस्ता विषयले चर्चा पनि पाए ।

सार्वजनिक स्थलमा फोहोरको समस्या

सार्वजनिक स्थलमा फोहोर भयो भने कुनै सरकारी निकाय होस् या गैरसरकारी निकाय सरसफाई कार्य गरिएको भन्दै तस्विर खिच्चेर सामाजिक सञ्जालमा राख्ने बाहेक अन्य काम भएको देखिएको छैन । त्यो सार्वजनिक स्थानमा गुट्खा, बदाम, चुरोट, केराका बोक्रा, चाउँचाउ, विस्कुटका कागज लगायत फोहोर फाल्ने गरेका छन् । त्यो फोहोर कस्ले उठाउने कसैको आखाँ त्यहाँसम्म पुगेका छैनन् । दैनिक फोहार हुँदै जाने र कहिले काँही फेसबुकको लागि सरसफाई गर्ने हो भने कोहलपुर कसरी बन्छ होला सुन्दर ? कहिले बनाउने हरियाली ? मानिसको स्वास्थमा खेलबाड कहिले
सम्म ?, कोहलपुरलाई फोहार मुक्त समाज, रोग मुक्त समाज कहिले बनाउने ? यो विषय जनसरोकारवालाहररुको चासोको विषय बन्न जरुरी देखिन्छ ।

किन आयो त समस्या ?

कोहलपुर चौराह जति सरसफाई गरेपनि स्वच्छ हावा मिल्दैन । चौराहा क्षेत्र बसपार्कभन्दा कम हुँदैन । कोहलपुर नगरपालिकाले चौराहामा सवारी साधनहरु नरोक्ने धेरै पटक निर्णय गरेपनि कार्यान्वय हुन सकेको छैन । यति मात्र होइन यातायात व्यवसायीले पनि यो निर्णय गरेका छन् । कोहलपुर चौराहको एक किलो मिटरसम्मको वरपर गाडी नरोक्ने पनि निर्णय गरेका छन् । तर कागजमा मात्र सिमित भयो । किन ? सरोकारवालाले चिन्ताको विषय बनाएका छन् । दैनिक जसो कोहलपुरको चौराहमा बस्ने व्यक्तिहरुले कोहलपुुुर कति फोहोर भएको भन्ने समेत गरेका छन् ।

चौराहमा जथाभावी गाडी रोक्दा पनि थाहा हुन्छ की यातायात व्यवसायीले गरेको निर्णय कतिको कार्यान्वय भएको भनेर तर पछिल्लो अवस्थामा कोहलपुरको चौराह फोहारको चौराह समेत बन्न थालेको छ । कोहलपुर चौराहको वरपर भएका खाल्डा खुल्डीमा पानी जमेको छ । नयाँ बसपार्कको अवस्था नाजुक छ । स्थानीयहरुले कोहलपुर नगरपालिकाले फोहोर उठाएन भन्ने गुनासो मात्र गर्ने गरेको पाइन्छ । तर आफ्नो घरको वरपर पनि सरसफाई नगर्ने अर्कालाई मात्र दोष दिने प्रचलनले गर्दा सरसफाईमा समस्या आएको छ । मातृभूमि नेपालको तथ्यांक अनुसार कोहलपुरबाट दैनिक २ टन बराबर फोहोर निस्किने गर्दछ ।

फोहोर मैला निस्किने स्रोतहरु

भान्सा

भान्साबाट निस्किने फोहोर वस्तुहरुमा तरकारी केलाएका बोक्रा, तरकारी खुर्केका भूस, विग्रिएका वा कुहिएका बासी खाना, तरकारी मुठ्ठा पारेका पराल, र अन्य पोको परेर ल्याएका कागज, बट्टा, प्लास्टिक झोला, धूलो कसिंगर, आदि ।

घर बाहिरबाट निस्कने फोहोर

हरेक प्रकारका वोटविरुवा, झारपात माटो, इट्टा, ढुङ्गा, काठका टुक्रा, वालुवा, मरेका विभिन्न प्रकारका पशुपंक्षीका अवशेष छाला हड्डी, आदी घरबाहिरबाट निस्किने फाल्तु वस्तुलाई नै घरबाहिबाट निस्कने वस्तु नै फोहोर हुन् ।

विद्यालयबाट निस्निे फोहोर

कोहलपुरका सामुदायिक ३० र संस्थागत ५० वटा विद्यालयबाट निस्किने फोहोर वस्तुहरुमा खास गरेर कागजका विभिन्न प्रकारका टुक्रा, चक, सिसाकलमको धुलो, बिस्कुट, चक्लेट, पाउरोटी, लगायत अन्य खाने वस्तु र खाना नास्ता खाएर बचेका खानाका शेष प्लाष्टिक झोला आदी । काम नलाग्ने खालका अन्य विभिन्न वस्तुहरु नै फोहोर हुन् ।

बजारबाट निस्किने फाहोर

फोहार सबैभन्दा बढी निस्किने भनेको बजारबाट नै हो । बजारबाट विभिन्न प्रकारका काम नलाग्ने वस्तु तथा चीजबिजहरु निस्किन्छन् । त्यसको व्याख्या गरेर साध्य नै छैन । कागजका टुक्रा, कपडाका टुक्रा, विभिन्न प्रकारक तारका टुक्रा, रङका टुक्रा, वाल्टि, फलामका टुक्रा, छाला, जुत्ता, चप्पल, बाकस, झोला, टाएरका टुक्रा, पुराना लुगा कपडा, फाल्तु छाता, ब्रिफकेश चुरोटका बट्टा, विस्कुट, चक्लेट मिठाई विभिन्न प्रकारका, सुर्ति खैनीका बट्टा खोल, चाउचाउ, लगायतका खाद्य वस्तु राखेका खोल, रित्ता बोतल, होटलबाट निस्किने विभिन्न प्रकारका फाहोर सामान राखेका मध्य अधिकांश फोहोर पसल र होटल, उद्योग धन्दा र कलकारखानाबाट निस्किने फोहोर नै भयावह प्रकारको फोहोर हुन्छ ।

फोहोरबाट हानी नोक्सानी

फोहरमैला मानव स्वास्थ्यको लागि मात्र हानीकारक नभई वातावरणकै र विश्व व्रह्माण्डकै लागि हानीकारक वस्तु हो । फोहार जताततै फाल्दा वा गर्नाले वातारण नै अशोभनिय देखिनुका साथै गनाउने हुन्छ । फोहारको थुप्रोमा झिङ्गा भन्किने र झिङ्गाले फोहोरमा रहेका किटानुहरुलाई सारेर विभिन्न प्रकारका ठाउँहरुमा फैलाउने गर्दछ ।
फाहोर पानी जमेको स्थानमा झन पानी नै दूषित भई त्यस्तो पानीको प्रयोगबाट सारा प्राणीलाई नै पानीबाट सबै विभिन्न प्रकारका रोगहरु लाग्न सक्दछन् ।

निष्कर्ष

फोहरमैला व्यवस्थापनमा देखिएको समस्यालाई समाधान गर्न सबै मानिसहरु अति चनाखो हुन अति जरुरी छ । फोहोर मैलालाई जति सक्यो त्यत्ति नै कम गर्न सक्नु नै बुद्धिमानी हुन्छ । दोकान पसलहरुमा सामान किन्न आउँदा सामान किन्ने व्यक्तिले आफैले सामान राख्ने झोला लिएर बजार जानु उचित हुन्छ । जसले गर्दा पसलबाट सामानका पोका पारी दिने कागज तथा प्लाष्टि झोला क्रेताको घरमा आउन पाउदैन र फोहोर मैला पनि बढ्न पाउदैन । जैविक वस्तुलाई जम्मा गरेर वा खेर वटुल गरेर लाभदाय कम्पोष्ट मल सकिन्छ । कागज, प्लाष्टिक, सिसा, फलाम र अन्य एलमोनियम भाँडा वस्तुहरुलाई घोलेर पगालेर कारखानाहरुमा नयाँ वस्तु बनाउन सकिन्छ ।

कतिपय वस्तुहरु अलग अलग ठाउँहरुमा जम्मा गर्न सकेमा ती वस्तुहरु कवाडीले तौलका आधारमा वा एकमुष्ट रुपैयाँ दिई लैजान्छन् र फोहोर सदुपयोग हुन्छ र नगद रुपैयाँ आउँछ । वाक्ला बस्तुहरु सहरी क्षेत्रहरु घरहरुबाट निस्किएका फोहोर मैलालाई जथाभावी तरिकाले बाटोमा फाल्नु हुदैन । नगरपालिकाले सरसफाई सम्बन्धी जनचेतना मुलक कार्यक्रमहरु पनि गर्नु पर्ने जरुरी देखिन्छ । यी माथि उल्लिखित तरिका अपनाई राम्रोसँग व्यवस्थित गर्न सकेमा हाम्रो घरवरपरको वातावरणमा रहेका ठोस फोहोर मैलाहरुमा कमी ल्याई वातावरण सफा राख्न सकिन्छ । यति गर्न सकेमा मात्र पनि केही हदमा वातावरण स्वच्छ देखिनुका साथै प्राणी जगत र मानव जीवनमा पनि स्वस्थकर बानीको विकास हुन्छ ।

विद्यालय कार्यालय र घरका वरपरका फोहोरहरु संकलन गरी जैविक र अजैविक फोहोर छुट्यायी ती मध्यबाट पनि अजैविकबाट पनि जल्ने नजल्ने फोहोर अलग अलग गरी ती दुवै प्रकारका फोहोरहरु कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा सबै सरोकारवाला पक्ष लागि फोहर मैला व्यवस्थापन गर्न सकेमा वाताबरण राम्रो बनी हाम्रो स्वास्थ्य पनि राम्रो बन्न सक्छ ।