एपिसोड १९ : मलाई कागज गराईयो

Written by : Basu Dev Basu

हामी चारजना (गणेश. सुभाष. सुनिल र म) लाई प्रहरीको हाफडाला भएको गाडीमा पछाडीको डिक्कीमा हालेर जिल्ला प्रहरी कार्यालयबाट दक्षिण तर्फको बजारको बाटो हुँदै भारतीय मुर्तिहाको जंगल भएतिर लैजान थाले । हामी चुपचाप गाडीको खुल्ला डिक्कीमा बसेका थियौं । हाम्रा मातापिताहरुलाई पर्नु पीर परेको रहेछ । हामी चारै जनाका आमाहरु छिमेकी भएकोले साथि पनि हुनुहुन्थ्यो । वहाँहरु त हामी पक्राउ परेकामा क्वाँ क्वाँ गरेर रुनु पनि भएछ । हाम्रा बुवाहरु भने गम्भिर हुनुहुन्थ्यो । हामीलाई मुर्तिहा तिर लैजान लागेको देखेर आमाहरु त झन् आत्तिनु भएछ । पञ्चायतकालमा नेपाली प्रहरीहरुले भारतको यही मुर्तिहाको जंगलमा लगेर खुँखार डाँकाहरुको इनकाउण्टर गरेको इतिहास पनि छ । त्यसैले हामीलाई पनि त्यतै लैजान लागेको देखेर आमाहरु झन् रुनु भएछ, कतै हामीहरुलाई मारी दिने हुन् कि भनेर । कहाँ लैजान लागेको भनेर सोद्धा कसैले भन्न नसक्ने । हामीलाई पनि अब मन भित्र डरले जरा गाड्यो । किन मुर्तिहा तिर लैजानदै छन् भनेर आशंका लाग्न थाल्यो । अरु साथिहरुको त के थियो मनमा मैले भन्न सक्ने कुरा भयन तर मेरो मनमा पक्कै आज मरिने भयो भनेर लाग्यो । हाम्रा आमाहरु हामीलाई लैजान लागेको बाटोमा उभियर आँखाको आँसु पुछ्दै अघाईन्जेल हेर्न चाहँदै हुनुहुन्थ्यो । मुखमा धोतीको सप्को दाँतले च्यापेर भक्कानो रोक्न खोज्नु हुन्थ्यो । मेरो आँखामा पनि आँसु आयो । हाम्रो गार्ड भएर पछाडी बसेको प्रहरीसंग कता लैजान लागेको भनेर सोद्धा उनले चुप लागेर बस्न हुकुम दिनु हुन्थ्यो । सायद वाहाँलाई पनि कता लैजादै छन् भन्ने थाहा थियन होला ।

गणेश जी भने मनको डर रोक्न हात हल्लाउने भए , आजभोलीका नेताहरुले हल्लाय जस्तै । सुभाष, म र सुनिल भने चुपचाप लागेर बसेका थियौ । गुलरियाको छोटी भन्सार (यो ठाउँमा भारतसंगको मुख्य नाका नभएकोले यसलाई छोटी भन्सार गरिन्छ) । बर्दिया जिल्लामा मुख्य नाका राजापुर भएकोले त्यहाँ जिल्लाको मुख्य भन्सार छ । यो छोटी भन्सार निर हामीलाई लिएको गाडी पुगेपछी मुर्तिहा तिर नलागेर पुर्व दक्षिण तर्फ लाग्यो जुन् बाटो आशापुर हुँदै मथुराहरद्वार गाउँ पञ्चायत तिर लाग्थ्यो । त्यता लैजान लागेपछी अलि मन त हल्का भयो तर नयाँ ठाउँमा हान्ने त होईनन् भन्ने डर मनमा लागि रह्यो । जब सम्म मथुरहरद्वारको सिमा प्रहरी चौकीमा हामीलाई पुर्याएनन् तब सम्म मलाई डर लागिरह्यो । गेणेश, सुभाष र सुनिलका मानिसहरु नेपालको प्रशासनमा उच्च ओहदामा भएकोले उनीहरुलाई त केही नगर्लान भन्ने लाग्यो तर मलाई त सिध्याउँछन् कि भन्ने मनमा डर बसी रह्यो । किनभने मेरो पिता किसान र हजुरबुवा कमैया । हाम्रो प्रशासनमा कुनै तरहको पहुँच पनि थिएन ।

यसरी त्यो सिमा प्रहरी चौकीमा म डरै डरमा पुगे । त्यहाँ पुगेपछी मात्रै साँसमा साँस आयो मेरो । किनभने त्यो चौकीको ईन्चार्जको रुपमा हाम्रै टोलका बालसखा शेर बहादुर खड्काको भिनाजु श्री राम बहादुर मल्ल (सई) हुनुहुन्थ्यो । वहाँलाई हामीले पनि भिनाजु भनेर सम्बोधन गर्छौ । वहाँको निगरानीमा हामीलाई अलि सान्तवना भयो । हाम्रो रेखदेख वहाँको निगरानीमा भयो । वहाँले हामीलाई सान्तवना दिईरहनु हुन्थ्यो । कहिलेकाहीँ त हामीलाई त्यहाँका प्रहरी कर्मचारीहरुले राईफल सफा सम्म गर्न दिन्थे तर मलाई भने डर लाग्थ्यो राईफल छुन । अरु साथीहरु भने हौसियर राईफलको बारेमा सोधपुछ र ओल्टाईपल्टाई हेर्थे । दिनभरी एउटा कोठामा हामी सबैलाई राखिन्थ्यो । दिसापिसाब फेर्न त्यहीँनिर एउटा अडहर (रहर) बारी थियो त्यसैमा गईन्थ्यो । चर्पी एउटा मात्रै भएकोले पालो पाउन निकै कुर्नुपर्ने हुन्थ्यो । हामीलाई केहि दिन त कडा निगरानीमा राखियो तर पछी हामीलाई जतातता जाँदा पनि निगरानी गर्न छाडियो । जिल्ला प्रहरी कार्यालयबाट अनुगमनमा आउँदा संकेत गरेर कोठामा तुरुन्त आउन भनिन्थ्यो । अघिपछी कुनै प्रकारको कडाई गरिएन ।

शायद राम बहादुर मल्ला भिनाजु भएकोले यो छुट पाईएको थियो । उता यज्ञ राज मजगैयाँ, युवराज पौडेल, मुक्ति रेग्मी, टी.एल. रिजाल, र अन्य आन्दोलनकारी बन्दीहरुलाई अन्यन्त्रको चौकीहरुमा निकै कडाई साथ राखिएको थियो । यिनीहरुलाई सँधै खुकुरी उदायर चौकी ईन्चार्जले छपक्क छिनाउने हो भन्ने गर्थे अरे । अब केहि दिन पछी गणेश, सुभाष र सुनिललाई जिप्रका बोलाईयो र उनीहरुलाई उतैबाट कागज गरायर छाडियो । म मात्रै त्यहाँ एकलै बस्नु पर्ने भयो । मलाई मनमा धेरै चिन्ता र पीर पनि पर्यो । तर दैवले जे गर्लान गर्लान भनेर चित्त बुझायर बसे । यता नेपाली काँग्रेसका जिल्ला सभापति स्व. शुरेश राज शर्मा जी ले बासुलाई जसरी पनि छुटाउनु पर्छ भनेर को कसलाई भन्नु भएको रहेछ । वहाँहरुको नाम मैले अझै सम्म थाहा पाउन सकेको छैन । वहाँहरुकै प्रयासले होला आन्दोलनले सफलताको रुप लिन नपाउँदै बिच मै मलाई पनि जिल्ला प्रहरी कार्यालयमा बोलाईयो । मलाई गणेश सुभाष र सुनिललाई गाडीमा लगे जस्तै गाडीमा हालेर लियर जालान भनेको त पैदल हिँडायर लगियो मलाई । मैले त्यस दिन अनुभूति गरे कि पहुँच र अपहुँचको फाईदा र बेफाईदा के हुँदो रहेछ । राज्य ले समानता अपनाउनु पर्ने मा असमान ब्यवहार गरेको अनुभूति भयो । शायद यस्तै भयर होला पञ्चायती ब्यवस्था अलोकप्रिय भएको । राजाको नाममा मातहतका शासकहरुले भेदभावको निति लिने भयर होला । बहुदलिय प्रजातान्त्रिक ब्यवस्थामा पनि नातावाद कृपावाद र भ्रष्टाचार बढेर होला माओवादीको हिंसात्मक गतिबिधिले तिब्रता पाएको ।

मलाई जिप्रकामा बोलाईनु भन्दा पहिले मेरो पिता जी टीकाराम थारुलाई बोलाई सकिएको रहेछ । वहाँ डिएसपी सापको कार्यकक्षमा उपस्थित हुनहुन्थ्यो म त्यहाँ पुग्दा । यसका अतिरिक्त त्यहाँ तत्कालिन सिडिओ (देवेन्द्र बहादुर सिंह थिए उनी, धेरै सम्भ्रान्त परीवारका सदस्य पनि । त्यसैले होला वहाँमा एक प्रकारको भद्रता दर्शिन्थ्यो), प्रसासकिय अधिकृतहरु बस्याल थर गरेका (बस्याल सरको नाम याद हुन सकेन) र ध्रुवराज वाग्ले पनि हुनुहुन्थ्यो । मेरो पिता जीलाई ध्रुव सरले थर्काउदै हुनुहुन्थ्यो । बुवाको आँखामा टीलपील आँसु झल्किरहेको थियो । म कोठामा पुगेपछी ध्रुब सर त बुवा माथि बुवाको आमालाई गरेजस्तै शब्द प्रयोग गर्नु भयो । मलाई यो सुनेर रिशले मेरो मुट्ठी कस्सियो, जे परे पर्ला फेरी यसरी गाली गरे म पनि हिर्काई दिन्छु भनेर मनमनै कस्सिएको थिएँ । साँच्चै रिसको आवेशमा मानिसहरुले होस गुमाउछन् भने जस्तै मैले पनि होस गुमाई सकेको थिएँ । मेरो गल्ती वा कार्यको लागि मेरो पीता जीलाई किन गाली गर्ने भन्ने लाग्यो । मेरो पिता जीले आन्दोलनमा लाग भनेर उक्साउनु पनि भएको थिएन र वहाँलाई पनि म एक्कासी आन्दोलनको प्रचारमा हिंडेको प्रहरीहरुको खोजी हुँदा मात्रै थाहा पाउनु भएको थियो ।

यो कुरा ध्रुव दाई (पछी वहाँ संग मेरो राम्रै सम्बन्ध भयो र दाई भन्न थाले) ले पत्तो पाएछन् की के हो वहाँले चुईंक्क पनि अर्को शब्द बोल्नु
भएन । बस्याल सरले त शुरु देखि केही भन्नु भएन, शायद वहाँलाई हामीले गरेको पञ्चायत बिरोधी आन्दोलन मन परेको थियो । पछी थाहा भयो वहाँ त क्याम्पस अध्ययन गर्दा त अखिलसंग सम्बिन्धित हुनुहुन्थ्यो । त्यस्तै ध्रुव दाई त झनै नेकाँका नेता चिरञ्जिवी वाग्लेका सहोदर भाई रहेछन् । यिनैले बस्याल सर भन्दा पहिले सिडिओ पनि हुने मौका पाउनु भयो । आन्दोलनको सफलता पछी नेपाली काँग्रेस सत्तामा आएको र चिरञ्जिवी वाग्ले मन्त्री पनि हुनु भएकोले होला सायद । जे होस, जिप्रकामा मलाई बोलाइए पछी मलाई उनै श्रेष्ठ डिएसपी सापले थारुको छोरा सोझो हुने र भबिष्यमा कुनै जागिर खानु परेमा प्रहरी रिपोर्ट खराब भएर नपाउने जस्ता अनेक तरहले फकाउन लाग्नु भयो ।

मलाई अंगालो पनि मार्नुभयो , माया पनि दर्शाउनु भयो । उता बुवा रुने रुने जस्तै गरीरहनु भाथ्यो । वहाँले आफूले दुःख पाउने भन्दा पनि छोराको भबिष्य बिग्रेला भनेर त्यो मनमा चिन्ता परेको हुनाले होला । म पनि बावु भएपछी थाहा भयो आफू भन्दा सन्तानको बढी चिन्ता हुने रहेछ । त्यसबाट मेरो पिता जी पनि अछुतो त पक्कै हुनुहुन्थेन । मैले पिता जीलाई रुवायर बस्नु भन्दा प्रहरीले जे भन्छन त्यही गरेर निस्किनु पर्यो भन्ने मनमा लाग्यो । उता डिएसपी सापले कागज पहिले नै तयार गर्नु भएको रहेछ । मलाई त्यो कागजमा हस्ताक्षर र ल्याप्चे लगाउन भनियो । मैले पनि नपढेरै जहाँ जहाँ भनियो त्यहीँ त्यहीँ हस्ताक्षर र ल्याप्चे लगाए । त्यो कागजमा के लेखिएको थियो अझै सम्म मलाई थाहा छैन । सायद पञ्चायत बिराधी आन्दोलनमा लाग्नु मेरो भुल हो र आगामी दिनमा यस्तो नगर्ने भन्ने बाचा गरिएको कागज थियो त्यो । त्यो कागजमा हस्ताक्षर गरेपछी मलाई पिता जीको जिम्मा लगायर छाडियो । त्यतीबेला कागज गरेर छुटेका आन्दोलनकारीहरुलाई डरछेरुवा, हुतीहारा, नामर्द आदि ईत्यादी उपनामले हार्डलाईनरहरुले बोलाउने गर्थे । क्रमशः