चुनावी सुरक्षा रिपोर्ट: बाँकेमा १ सय १२ स्थान अति संवेदनशील क्षेत्र

यसपालि एकै चरणमा चुनाव हुँदा पनि जनपथ र म्यादी प्रहरीको संख्या उही छ, यसले नियमित पुलिसिङमा पनि जनशक्ति अपर्याप्त हुन्छ र चुनावी सुरक्षा पनि सहज हुँदैन ।

काेहलपुर ।

आगामी ३० वैशाख २०७९ मा हुने स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका सुरक्षा समितिले चुनौती विश्लेषण गरेर रिपोर्ट केन्द्रमा बुझाएका छन् । ७७ वटै जिल्लाको रिपोर्टका अनुसार गृह मन्त्रालयले मतदान स्थललाई तीन समूहमा विभाजन गरेको छ ।

त्यही आधारमा निर्वाचनमा सुरक्षा व्यवस्थापन गरिनेछ । गृह उच्च स्रोतबाट प्राप्त रिपोर्टमा देशभरका १० हजार ७५६ मतदान केन्द्रमध्ये २ हजार ९४६ वटा अति संवेदनशील छन्, ४ हजार ४२३ वटा संवेदनशील र ३ हजार ३७८ वटा सामान्य छन् । रिपोर्टले यसपालिको चुनावमा मधेश प्रदेश सबभन्दा चुनौतीपूर्ण देखाएको छ ।

मधेशपछि लुम्बिनी, सुदूरपश्चिम र प्रदेश–१ चुनौतीपूर्ण रहेको रिपोर्टले देखाउँछ । त्यसपछि क्रमशः वागमती, कर्णाली र गण्डकी प्रदेशमा सबैभन्दा बढी अति संवेदनशील मतदान स्थलहरू छन् । आगामी चुनावमा अझै पनि सीके राउत र विप्लव समूह मुलुकका सुरक्षा चुनौती भएको नेपाली सेनाको पनि विश्लेषण छ ।

लुम्बनी प्रदेशका ६ जिल्लाहरु भारतको उत्तरप्रदेश र बिहारसँग जोडिएका छन् । खुला सीमा निर्वाचनको बेला चुनौती हुनसक्छ । भारतीयबाट हतियारहरू नेपाल भित्रिन सक्ने विश्लेषण सुरक्षा संयन्त्रको छ ।

चुनावमा आफ्नो पक्षमा जनमत पार्न भारतीय व्यक्तिहरू पनि प्रयोग हुनसक्ने अधिकारीहरूको विश्लेषण छ । यसपालि एकै चरणमा चुनाव हुँदा पनि जनपथ र म्यादी प्रहरीको संख्या उही छ, यसले नियमित पुलिसिङमा पनि जनशक्ति अपर्याप्त हुन्छ र चुनावी सुरक्षा पनि सहज हुँदैन ।

चुनावमा होमिएकै पार्टीबीच हुने कलहले पनि सुरक्षा चुनौती थप्न सक्ने भनिएको छ । पार्टी–पार्टीबीचको विवादले झडप र कुटपिटको परिस्थिति सिर्जना हुनसक्ने आकलन गरिएको छ ।

सो समितिले बुझाएको रिपोर्ट अनुसार बाँकेमा अति संवेदनशील समूहमा परेको छ । जसमा १ सय १२ वटा मतदान स्थानहरु रहेका छन् ।
यस्तै लुम्बिनीका १२ जिल्लामध्ये बाँकेमा सबैभन्दा बढी संवेदनशील जिल्लामा पर्दछ । यस्तै रूपन्देहीमा ६२, प्यूठानमा ३६, रोल्पामा २९ र कपिलवस्तुमा २० वटा मतदान केन्द्र अतिसंवेदनशीलका रूपमा वर्गीकरण गरिएका छन् ।