कोहलपुरमा २३ गतेदेखि टाइफाईड विरुद्धको खोप अभियान सुरु, कस्ताले लगाउनुहुँदैन ?

कोहलपुर ।

कोहलपुर नगरपालिकाले टाइफाईड विरुद्धको खोप (कन्ज्युगेट भ्याक्सिन) अभियान सुरु गरेको छ । मंगलबार कोहलपुर नगरपालिकामा अभिमूखिकरण कार्यक्रम गरी सो अभियानको बारेमा जानकारी दिइएको हो ।

विश्व स्वास्थ्य संगठनले टाइफाइड खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशहरूमा प्रयोगको लागि सिफारिस गरेको छ । यो खोप अभियानसँगै टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र नेपाल हो ।

कोहलपुर नगरपालिका ७ वडा कार्यालयद्वारा आयोजित अभिमूखिकरण

खोप अभियान सञ्चालन गर्न जनशक्ति परिचालन, तालिम तथा खोपकेन्द्र सबैको तयारी पुरा भइसकेको कोहलपुरका स्वास्थ्य शाखा प्रमुख पूर्ण बहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार १५ महिना देखि १५ वर्षमुनिका ३७ हजार ७ सय २४ जना बालबालिका लागि खोप दिने लक्ष्य राखेको छ । कोहलपुरका विद्यालयमा रहेका ३३ हजार ७ सय ७५ र विद्यालय बाहिर रहेका १५ महिनादेखि ४ वर्षसम्मका ४ हजार ९ सय ४९ जना बालबालिका रहेको बताए । नगर स्वास्थ्य शाखा प्रमुख खड्का अनुसार कोहलपुरमा स्वास्थ्य संस्था सहित ६० वटा स्थानमा खोप केन्द्र हुनेछन् भने १ खोपकर्ता र २ स्वयमसेवीका हुनेछन् । ‘टाइफाईड विरुद्धको खोप नेपालमा पहिलो पटक बालबालिकालाई दिन लागिएको हो,’ ‘सो अभियान पश्चात नियमित खोपका रुपमा १५ महिना पुगेका बालबालिका लागि प्रयोग गरिने छ उनले भने ।’

कोहलपुर नगरपालिका ९ वडा कार्यालयद्वारा आयोजित अभिमूखिकरण

खड्काले नेपालमा टाइफाईडको बारेमा प्रस्तुत गरेको तथ्थांक अनुसार विगत ५ वर्षको तथ्यांक अनुसार नेपालमा वर्षेनी औसत ४ लाख ५० हजार जनामा टाइफाईड पुष्टि भएको पाइएको छ । विगत ३ वर्षको तथ्यांक अनुसार पानी तथा खानाजन्य संक्रामक रोगमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणमध्ये टाइफाईड रोग चौथोमा पर्ने देखिएको छ ।

यस्तै कोहलपुरका नगरपालिकाका स्वास्थ्य शाखाका जन स्वास्थ्य निरिक्षक अनिल सेन ठकुरीले परीक्षणको क्रममा टाइफाईड विरुद्धको खोप नेपालमा ल्याइएको होइन । क्लिनिकल परीक्षणको चरण पार गरेर सुरक्षित र प्रभावकारी पाइएपछि प्रयोगमा ल्याइएको हो बताएका थिए ।
उहाँका अनुसार पछिल्लो अध्ययन अनुसार नेपालमा ८२ हजार ४ सय ४९ टाइफाईडका बिरामी रहेको अनुमान गरिएको छ । टाइफाईड रोगको संक्रमण सबै उमेरका समूहमा हुन्छ । संक्रमित हुने ६० प्रतिशत १५ वर्षमुनिका बालबालिकामा रहेका छन् । टाइफाईड खोपबाट यो रोगको संक्रमणमा उल्लेख्य कमी ल्याउन सकिने पुष्टि भएको भन्दै राष्ट्रिय खोप सलल्लाहकार समितिले १४ अगष्ट, २०२० मा टाइफाईड खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिस गरेको थियो ।

कस्तो रोग होटाइफार्ईड ?

टाइफाईड साल्मोनेला टाइफीको संक्रमणबाट हुने गम्भीर रोग हो । जुन ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाईड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने, पखाला लाग्ने र बान्ता हुने हुन्छ ।

कस्ता असर देखिन सक्छन् ?

टाइफाइड खोप लगाएपछि अन्य खोपहरुमा जस्तै केही सामान्य (सूई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नी दुख्ने आदि) असर हुनसक्छन् र यस्ता सामान्य असरहरु विस्तारै आफैं ठीक भएर जान्छन् । खोप लगाएपश्चात यस्ता लक्षणबाहेक अन्य स्वास्थ्य जटिलता देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ । यो खोप विगतमा कुनै खोप लिँदा प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा दिनुहुँदैन । साथै उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा दिनुहुँदैन, तर बिरामी ठीक भइसकेपछि यो खोप लिन सकिन्छ । तर साधारण बिरामी भएको अवस्था जस्तै, हल्का ज्वरो आएको, रुघाखोकी लागेको, कुपोषण भएको अवस्थामा यो खोप लगाउन मिल्छ ।