देउवा गठबन्धन सामान्य चिरफार

गत शताब्दीमा सोभियत संघ र पुर्बी युरोपका समाजवादी सत्तामा व्यापक प्रतिक्रान्ति भयो । यस घटनापछि एकातिर साम्राज्यवादी शक्तिहरुले विश्वमा साम्यवाद नाराको अन्त्य भएको प्रचारप्रसार गरे । त्यसको साथसाथै अमेरिकी साम्राज्यवादले विश्वमा आफ्नो एक ध्रुवीय कार्ययोजना अवलम्बन गर्‍यो भने अर्कोतिर विश्व कम्युनिष्ट आन्दोलनमा रहेको दक्षिणपन्थी संसोधनवादको प्रभाव ह्वात्तै बढेर गयो । कम्युनिस्टहरुले प्रतिक्रान्तिका अनुभवबाट नयाँ ढंगले क्रान्ति संगठित एवं संरक्षित गर्न शिक्षा लिनुपर्ने अवस्था हो तर त्यसको उल्टो कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवाद झन्झन् हावी हुँदै गयो । दक्षिणपन्थी शक्तिहरु पुँजीवादी व्यवस्थाकै अन्तर्तत्व सहवरण गर्ने मार्गमा अघि बढे । जसको परिणाम सर्वहारा वर्गको अधिनायकत्वको आधारमा क्रान्ति सम्पन्न एवं संरक्षण गर्ने कुरालाई तिलान्जली दिने र लोकतान्त्रिक आवरणमा पुँजीवादी अन्तर्वस्तु अनुसार क्रान्तिको संशोधित रुपको भद्दा आन्दोलन हावी हुन पुग्यो ।

आजको यस परिस्थितिमा अमेरिकी साम्राज्यवादको विश्वमा एकल दादागिरी रहिआएको अवस्थामा तीब्र गतिमा उदयमान चीन अमेरिकी साम्राज्यवादको निम्ति सबैभन्दा टाउको दुखाइको विषय बन्न पुगेको छ । यी साम्राज्यवादी शक्तिहरुको टकराव र कम्युनिस्ट आन्दोलनमा देखिएको जबर्जस्त दक्षिणपन्थी संशोधनवादको परिणाम आज विश्व कम्युनिस्ट आन्दोलनसामु वर्गीय दृष्टिकोण र क्रान्तिकारी चरीत्र रक्षाका निम्ति चुनौतीको पहाड ठडिएको छ भने नेपालमा समेत यसको प्रत्येक्ष प्रभाव परेको छ ।

नेपालको कम्युनिस्ट आन्दोलनमा आजसम्म आइपुग्दा कम्युनिस्ट आन्दोलनको नाउँमा देखिएको दक्षिणपन्थी शक्ति जुन प्रतिक्रियावाद र सामन्तवाद एवं साम्राज्यवादपरस्त शक्ति कम्युनिस्ट शक्तिको नाउँमा बलियो रहेको विभिन्न घटना परिघटनाले छर्लङ्ग हुँदै गएको छ र विश्व कम्युनिस्ट आन्दोलन समेत रक्षात्मक अवस्थामा रहेको छ । तर यसको अर्थ विश्व कम्युनिस्ट आन्दोलन वा नेपालको कम्युनिस्ट आन्दोलनमा सर्वहारा वर्गको आन्दोलन एवं क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको भविष्य नै धरापमा परेको भन्ने प्रतिक्रियावादी एवं साम्राज्यवादीहरुको प्रचारप्रसार झुठो रहेको छ । बरु देशिय प्रतिक्रियावाद एवं साम्राज्यवादको भविष्य अनिश्चित रहेको तथा क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको भविष्य सुरक्षित, सुन्दर एवं अवश्यभावी रहेको सत्य हो । त्यसैले आजको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउनको लागि कम्युनिस्ट आन्दोलनभित्र देखा परेको बुर्जुवा दृष्टिकोण र नेतृत्वका विरुद्ध सर्वहारा क्रान्तिकारी कम्युनिस्ट आन्दोलन गठन पुनर्गठनको कार्य नै मुख्य प्रश्न रहेको छ ।

नेपालको सन्दर्भमा एमाले र माओवादीको झण्डा र नाम मात्रै कम्युनिस्ट रूपमा रहेको तर यी पार्टीले आफुलाई क्रान्तिकारी सर्वहारा कम्युनिस्ट आन्दोलनका आधारभुत सिद्धान्त, मुल्य र मान्यताबाट च्युत गराएर दक्षिणपन्थी लाइन अवलम्बन गरेको लामो कालखण्ड गुज्रिएको छ । अहिले यी शक्तिहरुका नेतृत्व पंक्तिले आफुलाई प्रतिक्रियावादी चरीत्रमा तीब्र रूपमा बदलिँरहेका छन् । हामीले देखिरहेका छौं, यी नेतृत्वहरुले आफुलाई दलाल तथा नोकरशाही चरीत्रको रूपमा विकास गरिरहेका छन् । उनिहरु आफ्नो सत्ता र सत्ता गठबन्धन जोगाउनकै लागि दलाल तथा नोकरशाही पुँजीवाद र सामन्तवादसँग मिलिभगत गर्न तयार छन् । त्यतिमात्र होइन, उनिहरु अन्तर्राष्ट्रिय एवं विश्व साम्राज्यवादको कठपुतली बनेर उसको इसारामा विभिन्न राष्ट्रघाती एवं जनघाती कदमहरु उठाउन कुनै हिचकिचाहट मान्दैनन् । उनिहरु स-गर्वका साथ सामन्तवाद, दलाल तथा नोकरशाही पुँजीवाद एवं अन्तर्राष्ट्रिय साम्राज्यवादसँग उनीहरुको स्वार्थ अनुरुप सन्धि सम्झौता वा सौदाबाजी गर्न तत्परता देखाइरहेका छन् । केवल सत्ता, पैसा र व्यक्तिगत स्वार्थ प्राप्तिको लागि देश बेच्नसम्म तम्तयार भएका छन् । त्यस सिलसिलाको पछिल्लो घटना अन्तर्गत एमसीसीलाई संसदबाट पास गराउन यिनिहरुले खेलेको राष्ट्रघाती भुमिका राष्ट्रिय चर्चाको कुख्यात विषय बनेको छ ।

यहाँनेर विचारणीय कुरा के छ भने यी शक्तिले जनतन्त्र र जनजिविकाको सवालमा मात्रै होइन आफुलाई राष्ट्रियताको सवालमा समेत गिराउदै लगिरहेका छन् । यी शक्तिहरु भित्रका तल्ला तहका नेता कार्यकर्ता र संगठनहरुमा नेतृत्व पंक्तिको त्यस प्रकारको प्रतिक्रियावादी चरीत्र विरुद्ध व्यापक अन्तर्विरोध एवं असंतुष्टी देखिएको छ । यसले के प्रष्ट भएको छ भने आफ्ना दक्षिणपन्थी एवं प्रतिक्रियावादउन्मुख नेतृत्वका विरुद्ध स्वयं उनीहरुको संगठन भित्रका तल्ला तहका नेताकार्यकर्ताको चर्को अन्तर्विरोध चलिरहेको छ जसले यी संगठनभित्र देशभक्त तथा प्रगतिशील चेत भएका व्यक्तित्व पनि रहेका छन् भन्ने स्पष्ट रहेको छ ।

यस सन्दर्भमा २०७६ सालमा सम्पन्न नेकपा मसालको आठौं महाधिवेशनबाट अस्वीकृत गरिएको भिन्नमतको प्रस्तावमा जुन कुरा स्पष्ट गरिएको छ त्यो यस प्रसंङ्गमा समेत सहि सावित हुन गएको छ । आठौं महाधिवेशनको लागि मसौदा दस्तावेजहरुको भिन्नमतको राजनीतिक प्रतिवेदनको ५ नम्बरको बीच खण्डमा भनिएको छ, “अहिले आएर विश्व साम्राज्यवाद र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले तत्कालीन एमाले र माकेलाई प्रयोग गर्न थालेका छन् । हाम्रो पार्टीले एमाले र माकेलाई निम्न पुँजीपतिको प्रतिनिधित्व गर्ने पार्टी भनेर विश्लेषण गर्दै आएको थियो । तर केहि वर्ष यता उनिहरुमा, विशेषत: नेतृत्व तहमा परिवर्तन देखापरिरहेको छ ।  विश्व साम्राज्यवाद सितको सम्बन्ध र उनीहरुका हितका लागि गरिरहेको कार्य, भारतीय विस्तारवादसितको आत्मसमर्पणवादी नीति अन्तरगत देशका नदिहरु भारतलाई सुम्पदै जानू, राष्ट्रिय तथा सार्वजनिक उद्योग तथा कारखानाको संरक्षण तथा प्रबर्द्धन नगर्नु, राष्ट्रियता सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति दरो अडान लिन नसक्नु र एकपछि अर्को राष्ट्रघात गर्नु, विगतका राष्ट्रघाती सन्धि सम्झौताहरु खारेज गर्न नखोज्नुले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्व तह राष्ट्रियताको पक्षमा रहेको छैन र त्यो पार्टी दलाल तथा गद्दार पार्टीको रूपमा रुपान्तरित भइसकेको छ ।” (हेर्नुहोस्, दस्तावेज मस्यौदाहरु पेज नं ११८ र ११९) । त्यसैमा अगाडि भनिएको छ, “यो अवस्थामा मुल नेतृत्वसितको सम्बन्ध संघर्ष – एकता – संघर्षको नीति अनुसार रहनेछ भने कार्यकर्ता तहसितको सम्बन्ध एकता – संघर्ष – एकताको नीति अनुसार रहनेछ ।” (हेर्नुहोस्, उहीँ पेज ११९)

आज एमाले र माओवादी केन्द्रमा एमसीसीबारे जुन अन्तर्विरोध देखिएको छ त्यो भिन्नमतले गरेको उनीहरु माथिको विश्लेषणको आधारमा नै रहेको स्पष्ट भएको छ । आज कम्युनिस्टको झण्डा र नाउँमा नवदलाल एवं नोकरशाही पुँजीपतिको उदय भइरहेको स्पष्ट भएको छ । विश्व साम्राज्यवादको कठपुतलीको रूपमा एमाले र माकेका नेतृत्व पंक्तिले आफुलाई आफ्नो नव चरीत्र अनुसार छरपस्ट रुपमा प्रदर्शित गरेका छन् भने उनिहरुकै कार्यकर्ताहरु त्यस चरीत्रको विरुद्धमा उभिएको प्रष्ट छ ।

नेकपा मसालले तत्कालीन ओलि सरकार र नेकपालाई ढुलमुल तर देशभक्त भएको विश्लेषण गर्दै सरकारको समर्थन गरेको थियो र पछिल्लो देउवा गठबन्धन र माकेलाई समेत ठुलो आशा र भरोसाको रूपमा मसालले लिएको थियो । यो मसालको आठौं महाधिवेशनमा पारित दक्षिणपन्थी कार्यदिशा र त्यस अनुसारको चिन्तन प्रणालीको परिणामस्वरूपको नीति रहेको थियो । नेकपाको नेतृत्व राष्ट्रघाती एवं जनघाती भएको विश्लेषण गर्दै भिन्नमत पक्षले पार्टीको पहिलो परिषदको बैठकमा ओलि सरकारको समर्थन फिर्ता लिनुपर्ने प्रस्ताव लिएको थियो जुन बहुमत पक्षले अस्वीकार गर्दै असफल बनाएको थियो । ओलि सरकारलेसमेत संसदमा पटकपटक एमसीसी टेबुल गर्न खोजेको थियो तर सफल भएको थिएन तैपनि नेकपा मसालको ओलि सरकारलाई लामो समयसम्म समर्थन रहिरहेको थियो । ओलि सरकारले जब संसद विघटन गर्‍यो तबमात्रै मसालले त्यो सरकारको समर्थन फिर्ता लिने निर्णय गरेको थियो र तत्काल देउवा सरकारको गठबन्धनमा सामेल भएको थियो ।

हामीले यस्तो विषम परिस्थितिमा देउवा सरकार वा गठबन्धनमा सामेल हुनुहुँदैन बरु प्रतिपक्षीमा रहेर मिल्न सक्ने साना वामपक्षीय दलको नेतृत्व गरेर आन्दोलनमा जानुपर्ने धारणा प्रकट गरेका थियौं । तर मसालले हामीलाई ओलिका समर्थक र प्रारम्भमै प्रतिगामी बाटो समाइएको भन्ने बिल्ला लगाएको थियो । जसले चार वर्षदेखि ओलि सरकारको अधिनायकवाद र स्वैच्छाचारिताको विरोधको विडा उठाइरहेका थियो र उसैलाई मसाल नेतृत्वद्वारा ओलिका पक्षधर करार गरियो । यो तरिका मसाल नेतृत्वको पुरानै तरिका तर राजनीतिक बेइमानी नै थियो ।

ओलि गलत नै थिए, उनको सरकार अपदस्त गर्नुपर्ने नै थियो, त्यो कदम सहि थियो तर त्यसको अर्थ यो हुदैन थियो कि देउवा जस्तो घोर प्रतिगामी एवं अमेरिकी दलाल शक्तिको नेतृत्वमा सत्ता गठबन्धन निर्माण गर्नु र उक्त गठबन्धनमा सामेल हुनु सहि हुँदैन थियो । त्यो अर्को महा गलत कार्य भएको थियो जुन कुरा अहिले मसालले भोगेको छ । यो सबै मसालको संसदीय सत्तालिस्सा र दक्षिणपन्थी चिन्तनको परिणाम थियो । हामीले बताइ रहेका थियौं, देउवा गठबन्धनमा सामेल हुनुहुँदैन तर त्यसको अर्थ ओलिको समर्थन थिएन बरु ओलि देउवा दुबै उस्तै हुन् अझै देउवा प्रतिक्रियावादी दृष्टिले झन् खतरापूर्ण छन् भन्ने हाम्रो विश्लेषण थियो तर मसालले प्रतिगमनको हौवा खडा गरेर त्यस विरुद्धको गठबन्धन भन्दै परिणाममा ध्यान दिनुपर्ने कुरा गर्दै हामीलाई समेत प्रतिगामीको बिल्लाले दोषारोपण गर्‍यो ।

आज देउवा सरकार एवं गठबन्धनको करिब वर्ष दिनमा कुन परिणाम आयो ? देउवाले केका लागि सत्ता गठबन्धन बनाएका रहेछन ? यदि देउवाले सम्भावित प्रतिगामी कदमका विरुद्ध गठबन्धन बनाएका हुन्थे भने ओलिसँग नै नयाँ गठबन्धन गरेर भएपनि एमसीसी पास गर्ने निर्णयमा पुग्ने थिएनन् । त्यसैले उनले आफ्नो साम्राज्यवादको कठपुतली नीति अवलम्बनका निमित्त गठबन्धन बनाएका थिए त्यो दिनको घाम झैं छर्लङ्ग भएको छ । जब देउवाले एमसीसीबारे गठबन्धनमा सहमति नभए ओलिसँग नयाँ गठबन्धन बनाएर भएपनि एमसीसी पारित गर्ने योजना बनाए तब त्यसको अर्थ देउवाले प्रतिगमन विरुद्ध गठबन्धन गरेका थिएनन् भन्ने कुरा प्रष्ट भएको थियो तैपनि मसाल गठबन्धनबाट बाहिर आएन । मसाल एमसीसीको विरुद्ध उभिए पनि उसले गठबन्धनको आवश्यकता भइरहेको वक्तव्य दिनहु दिई रह्यो ।

जब सरकार र सत्ता गठबन्धन बचाउनकै निम्ति माओवादी केन्द्रले ब्याख्यात्मक टिप्पणीको लेपन लगाएर आफ्नो नवदलाल चरीत्र प्रदर्शन गर्दै एमसीसी पारित गर्ने निर्णय गरेर एमसीसी पारित गर्‍यो तबमात्रै मसाल एकाएक गठबन्धनबाट बाहिरिन बाध्य हुनुपर्‍यो । मसालले गठबन्धनबाट बाहिरिए पनि अझै देउवा सरकारको समर्थन फिर्ता लिने वा नलिने स्पष्ट निर्णय गर्न सकेको देखिदैन । अझैपनि त्यो निर्णय लिन नसक्नुका पछाडिको कारण के हो ? यी र यावत् प्रश्नहरुको सहि विश्लेषण हुन जरुरी छ ।

मानौं, ओलि सरकार प्रतिगामी नै थियो तर के देउवाले त्यो प्रतिगामी कदमलाई परास्त गर्न गठबन्धन गरेका थिए ? थिएनन् । अगाडि नै भनियो कि यदि प्रतिगामी ओलि षड्यन्त्रलाई परास्त गर्न गठबन्धन गराएका थिए भने एमसीसीमा माकेको समर्थन नभए ओलिसँग नयाँ गठबन्धन गर्ने निर्णय देउवाले गर्ने थिएनन् । विचारणीय प्रश्न यहाँनेर छ । त्यसकारण देउवा गठबन्धन प्रतिगमन विरुद्ध आवश्यक छ भनेर सारा शक्ति लगाउने मसाल, आफ्ना भए गरेका सांसदलाई बर्खास्त गरि देउवा नीतिको पहरेदार र पुच्छर बन्ने मसालको त्यो हदको विश्लेषण, नीति र कदम कति आत्मघाती कदम थियो भन्ने समेत प्रष्ट भएको छ । यो सबै मसालको दक्षिणपन्थी लाइनको परिणाम थियो । संसदीय सत्ताको रूपमा मसाल गठबन्धनमा सामेल भएर केहि फाइदा उठाउन भने सफल भयो त्यो के हो भने एक सिट राष्ट्रियसभा र दुइटा जिल्लामा सुकुम्बासी आयोगको अध्यक्ष लगायत केहि राजनीतिक नियुक्ति हत्याउन सफल रह्यो । मसालको जोड संघीयसभा र प्रदेशसभाको आगामी निर्वाचनसम्म गठबन्धन आवश्यक गरेको कुरामा नै थियो । सायद त्यतिबेला सम्म गठबन्धन कायम रहन सकेको खण्डमा चुनावी तालमेलद्वारा बाग्लुङ र प्युठानमा संसदीय लाभ हुनसक्ने संभावना रहन सक्थ्यो । तर हाम्रो भनाइ के हो भने संसद र सत्ताकै लागि अपवित्र गठबन्धन गर्नु घातक कार्य हो । यो क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका लागि शोभनीय कार्य होइन भन्ने हो । राष्ट्रियता, जनतन्त्र र जनजिविकाको लागि संघर्षको उठान गर्ने कार्य मुख्य कार्यभार हो भन्ने हो ।

देउवा गठबन्धनमा सामेल हुनु मसालको दक्षिणपन्थी चिन्तनको कमजोरी होइन र ? भन्ने प्रश्न उठाउने कार्यकर्ता वा जनताका लागि मसाल नेतृत्वको रेडिमेट जवाफ तयार छ । मसालले अब भन्ने छ कि जतिबेलासम्म देउवा गठबन्धनले प्रतिगामी कदम विरुद्ध सहि काम गर्‍यो हामी सहभागी भयौं, एमसीसी पास गर्‍यो हामी बाहिर आयौं । यहीँ र यस प्रकारको जवाफ मसाल नेतृत्वसँग पहिले नै रेडिमेट हुनसक्छ । तर वास्तविकता त्यो जवाफसँग मेल खाँदैन । नेकपा मसाल सत्ता गठबन्धन भन्दा बाहिर बस्नसक्ने वा प्रतिपक्षी भुमिकामा बस्नसक्ने गुण ह्रास भएको अवस्था छर्लङ्ग भएको छ । मसालको सत्तामुखी र जसरी भए नि चुनाव जित्ने सोचाइको कारण त्यो पैमानाको आत्मघाती निर्णय, विश्लेषण र कदम एवं आफ्ना पदचाप उठाइरहेको प्रष्ट छ । मसालले यस्ता आफ्ना गल्ती स्वीकार गर्ने साहस राख्दैन त्यो नै मसालको अर्को गम्भीर आधारभुत गल्ती हो । काम गर्ने दौरानमा गल्ती कमजोरी हुन्छन् तिनलाई स्वीकार गर्नु र सच्याउनु महान एवं सृजनशिल कार्य हो । मसाल नेतृत्वमा त्यो गुण ह्रास भइसकेको स्पष्ट छ ।

मसाल जब देउवा सरकारले राष्ट्रघाती एमसीसी प्रस्ताव संसदमा टेबुल गर्‍यो तब तुरुन्तै गठबन्धनबाट बाहिर निस्कनु पर्दथ्यो तर मसालले त्यसो गरेन । उसले एकातिर एमसीसीको विरोध गर्‍यो भने अर्कोतिर देउवा गठबन्धन एमसीसीको कारण भंग हुनु हुँदैन भन्ने ढुलमुले नीति अवलम्बन गरिरह्यो । मसालले आफ्नो सत्ता र चुनावी रणनीति पनि सफल होस् र एमसीसी पनि खारेज होस् भन्ने चाहेको थियो । त्यसैले देउवा गठबन्धन नभाडियोस् भनेर अन्तिमसम्म पहरेदार बनी रह्यो । तर प्रतिगामी एवं साम्राज्यवादी दलालको एजेन्टसँगको अपवित्र संगतमा दुइ हातमा लड्डु संभावना थिएन । परिणाम मसालको विश्लेषण अनुसार न देउवा न प्रचण्डले भुमिका खेले । उनिहरु यस प्रकारको भुमिका खेल्ने वर्ग चरीत्रका थिएनन् भन्ने मसाललाई थाहा हुँदाहुँदै पनि आफ्नो अवसरवादी नीति अनुसार गठबन्धनमा सामेल भएको कुरा छर्लङ्ग भएको छ । जब देउवाले मसाललाई गठबन्धनका दुइ दुइ वटा बैठकमा खबर नै नगरीकन बैठक राखेर एमसीसी पारित गरे तब बल्ल मसाल अपमानित तवरले बढो मुस्किलले गठबन्धनबाट बाहिर आउन बाध्य भयो । एक प्रकारले देउवाले गठबन्धनमा मसाललाई अस्वीकार गरेको अवस्थामा मात्रै मसाल गठबन्धन छोड्न बाध्य भएको हो ।

हामीले देउवा गठबन्धनलाई अपवित्र र अप्राकृतिक गठबन्धन भनेर पहिल्यै बताएका थियौं । किनभने मसालले दक्षिणपन्थी नीति अनुसार आफ्नो कार्यनीति संचालन गरेपनि वर्ग चरीत्रका हिसाबले गठबन्धनका अन्य घटक भन्दा मसालको चरीत्र भिन्न र प्रगतिशील नै थियो । त्यसकारण यो गठबन्धन अपवित्र एवं अप्राकृतिक भनेका थियौं तर मसालले आफ्नो अबसरवादी नीति ढाकछोप गर्न प्रतिगमनको हौवा खडा गरेर अग्रगामी गठबन्धनको शब्दजाल एवं मन्त्र रचेको थियो । तर आज यो गठबन्धन स्वयं मसालका लागि पानीको फोका बराबर भएर गएको छ । मसाल कमसेकम यस्तो अप्राकृतिक गठबन्धनमा सामेल हुनुहुदैन भन्ने हाम्रो धारणा थियो । आज मसालले जुन अवस्थामा गठबन्धन त्याग्नु पर्‍यो र प्रचण्डले जुन भुमिका खेले त्यसले त्यो गठबन्धन अप्राकृतिक नै भएको पुष्टि भएको छ ।

जे होस्, मसाल गठबन्धनबाट बाहिरिएर सडक आन्दोलनमा आएको छ त्यो सकारात्मक पक्ष रहेको छ । हामी राष्ट्रियताको सन्दर्भमा संयुक्त रूपमा आन्दोलन चाहन्छौं तर त्यो संभावना रहेन । त्यसैले हामी आन्दोलनको अर्को मोर्चामा सामेल छौं । यो बाध्यताको सृजना पनि मसालले नै गरेको छ । यसबारे छुट्टै चर्चा गरिनेछ । मसालले अन्य आठ दलको मोर्चा बनाएर राष्ट्रियताको रक्षाको लागि आन्दोलन गरिरहेको छ त्यसलाई हाम्रो पनि समर्थन र एक्यवद्धता छ । तर अब छुट्टाछुट्टै खण्डित भएर होइन कि सम्पुर्ण देशभक्त जनतान्त्रिक एवं प्रगतिशील शक्ति बीच अन्य मतभेद आफ्ना ठाउँमा थाती राखेर राष्ट्रियताको रक्षा एवं एमसीसी खारेजी गर्नको निम्ति एकजुट भएर आन्दोलनको आँधीबेहरी सृजना गर्नु तत्काल आजको राष्ट्रिय आवश्यकता बनेको छ ।