२०४६ फागुण ७ को पञ्चायती ब्यवस्था बिरुद्ध जुलुस

नेपाल भरी मत्रै नभएर संसारै भरी नेपालमा पुनः प्रजातन्त्र प्राप्तीको लागि २०३६ सालको जनमत संग्रह पछी हुन गईरहेको जनआन्दोलनलाई जिज्ञासाका साथ हेरिदै थियो । नेपाल भित्रैका बिभिन्न जिल्लाहरुमा जनआन्दोलनलाई शान्तीपुर्ण रुपमा दह्रो साथ सफल बनाउन लागीपरेका थिए । यसैमा बर्दिया जिल्लामा पनि आन्दोलन सफल बनाउन बिभिन्न प्रयासहरु भईरहेका थिए । कति नेताहरु आन्दोलन नजिकिदै जाँदा जानीजनी गिरफ्तारी दिंदै थिए भने कुनै कुनै नेताहरुलाई सुराकी लागेर गिरफ्तारी गरिदै थियो । २०४६ फाल्गुण ७ भन्दा पहिले नै बर्दिया जिल्लाका शिर्षनेताहरु प्राय सबैजना गिरफ्तार भैसकेका थिए । नेपाली काँग्रेसका तत्कालिन सभापति स्व. शुरेश राज शर्मा, सचिव स्व. श्री ज्ञानराज शर्मा, बासुदेव शर्मा, किशोर गौतम लगायत अन्य जिल्ला स्तरका नेताहरु प्राय सबैलाई प्रहरीको हिरासतमा राखिसकिएको थियो । यस परीस्थितिमा बर्दिया जिल्लाको २०४६ फाल्गुण ७ को देशब्यापी हुने पञ्चायत ब्यवस्था बिरोधी सार्वजनिक बिरोध कार्यक्रम तुहिने अवस्थामा पुगिसकेको थियो ।

अब फेरी बिद्यार्थिहरुकै काँधमा पञ्चायत बिराधी कार्यक्रम सफल बनाउने जिम्मेवारी आईपरेको थियो । उता ने.बि.संघका तत्कालिन बर्दिया जिल्ला सभापति पक्राउ परीसकेका थिए । हामीहरुलाई पनि खोजि गरिदै थियो । कहिले ईष्टमित्र त कहिले खुल्ला आकाश मुनि बनजंगलको छेउछाऊ मा लुकेर बस्नुपर्ने । म त्यतिबेला कहिले नगएका मेरा नातेदारहरुको घर पनि पुगे । आफ्नो पिता जी टीकाराम थारुको नाम लिंदै घुम्न आएको थिएँ, अलपत्र परियो भनेर ढाँटेर पाहुनी पनि खाएँ । कसै कसैले त दुई तीन दिन पनि बस्न भन्ने, कुनै कुनै गाउँमा धेरै घर नाता पर्ने भएकोले पालो पर्याउँदा दुई तीन दिन कटीहाल्थ्यो । यसरी अरु साथिहरु पनि लुक्दै छिप्दै फाल्गुण ७ सम्म आफूलाई प्रहरीको पक्राउबाट बचाउँदै आउनु भएको थियो ।

अब फाल्गुण सात आउन तीन चार दिन मात्रै बाँकी थियो पञ्चायत बिरोधी कार्यक्रम गर्न । यता कुनै प्रकारको तयारी थिएन । कसको नेतृत्वमा जुलुस निकाल्ने भन्ने चिन्ता ने.बि.संघका साथिहरुलाई पर्न थाल्यो । यसमा सबै भन्दा बढी चिन्तित मुक्ति प्रसाद रेग्मी नै थिए । उनले जसरी पनि फाल्गुण ७ को कार्यक्रम सफल बनाउने भन्थे । तर हामीहरु युवकहरुको नेतृत्वमा पञ्चायत बिरोधी कार्यक्रम गर्ने हो भने प्रहरी प्रशासन कठोर रुपमा प्रस्तुत हुने हो की भन्ने पीर थियो । मृत्यु त आउने नै हो तर अनाहकमा मारिनु पनि हुँदैन भन्ने पनि थियो । यस्तैमा मुक्ति रेग्मी जीले ढोढरी गाउँका मुन्ना बावु (यिनी हक्की स्वभावका हुनुका साथै बृद्ध र सम्मानित परिवारका अभिभावक हुनुहुन्थ्यो । वहाँको भाई जिल्ला अदालतको न्यायाधिश हुनुहुन्थ्यो) लाई आन्दोलनको नेतृत्व गर्न मुक्तिले उक्साउन थाले र मुन्ना बावु तयार पनि हुन भयो तर वहाँ गुलरिया आउँदै गर्दा बिच बाटो मै पक्राउ पर्नु भयो । यसको अतिरिक्त राज परीवारसंग नाता पनि पर्ने, नेपाली सेनाका उच्च ओहदाका अधिकारीहरुका आफन्त पर्ने बगनाहा गाउँका स्व. श्री खड्ग बिक्रम शाह पनि प्रजातान्त्रिक आन्दोलन जसरी पनि सफल पार्नुपर्छ भनेर लाग्नु भएको थियो । वहाँ शक्तिशाली परीवारको नातागोता पर्ने र गाउँको जिमिन्दार भयर पनि रहनसहन तथा ब्यवहार निकै सरल प्रकृतिको थियो । कत्ति पनि घमण्ड थिएन । साधारण ब्यक्ति सरह जीवनयापन गर्ने ब्यक्ति हुनुहुन्थ्यो । मुक्ति जी को वहाँ संग नियमित जस्तो संबाद हुने गथ्र्यो । वहाँले हामीहरुले कहाँबाट आन्दालन गर्ने भन्ने कुरा वहाँलाई जानकारी गराई सक्नु भएको थियो ।

फाल्गुण ७ गते बिहान वहाँ सात जना गाउँका तत्कालिन सुकुम्बासीहरुलाई पञ्चायत बिरोधी कार्यक्रममा सहभागी गराउन संगसंगै लिएर आउँदै हुनुहुन्थ्यो । तर कार्यक्रमको लागि जम्मा हुने ठाउँ सम्म पुग्न प्रहरीको निगरानी लाई चिर्नुपर्ने पनि थियो । हामीहरुले सो दिन गुलरियाको बंगलामुखि मन्दिर टोलमा पर्ने मेरो घरमा जम्मा हुने भएका थियौं । अब खड्ग बिक्रम शाह जीलाई त्यहाँ सम्म सुरक्षित ल्याउने जिम्मा पनि हामीहरुमै थियो । बंगलामुखि मन्दिरसंगै उत्तर तर्फ खल्ला थियो जो अझै पनि छ र त्यहीं निर मुस्लिमहरुको मृत ब्यक्तिहरुलाई गाड्ने मसानघाट पनि थियो । अहिले त त्यहाँ बसपार्क, साप्ताहिक हाट बजार लाग्ने ठाउँको रुपमा बिकसित भएर बजार नै भै सकेको छ र त्यो मसानघाट पनि सिद्धीसकेको छ । त्यतीबेला त्यो ठाउँ निकै सुनसान हुन्थियो र एक आध मानिसहरु मात्रै हिंडडुल गर्थिए । त्यही बाटो हुँदै वहाँहरुलाई मेरो घर सम्म ल्याउने भईयो । वहाँहरुलाई साधारण किसान जस्तो बनाएर र जिउमा हिलो धुलो घसेर जेनतेन मेरो घर सम्म ल्याईयो । यति गर्दा दिनको एघार बाह्र बजिसकेको थियो ।

उता पञ्चहरुले पञ्चायती शैलीको प्रजातन्त्र दिवस गुलरियाको धरमभखारी चौर (हाल यो ठाउँमा गुलरिया नगरपालिकाको कार्यालय छ) मा मनाउन शुरु गरीसकेका थिए । गुलरिया र वरीपरी पर्ने सबै बिद्यालयहरुबाट शिक्षक शिक्षिका, बिद्यर्थिहरु, ब्यापारीहरु र कर्मचारी तथा गाउँपञ्चायतका सदस्य लगायतहरुलाई सो प्रजातन्त्र दिवसमा अनिवार्य उपस्थित हुने उर्दी जारी भएकोले उनीहरु सबै त्यहाँ उपस्थित थिए । हामी पनि यता सत्र जना जम्मा भै सकेका थियौं । मेरै टोलका बालसखाहरु सुभाष कुमार पोखरेल, गणेश राज पोखरेल, म र सुनिल अधिकारी (सल्यानी राजाका खलक पर्नुहुन्छ), मुक्ति प्रसाद रेग्मी, खड्क बिक्रम शाह, मोतिपुरका स्व. मंगल थारु, बेलवा गाउँका मुन्ना थारु लगायत खड्ग बिक्रम शाहको नेतृत्वमा आएका थारु किसान सुकुम्बासीहरु जम्मा भएका थियौं । यता मेरो मातापिता डराउदै हुनुहुन्थ्यो, केहि अनर्थ भैहाल्छ कि भन्ने ठुलो आशंका थियो वहाँहरुमा । तर सन्तानको अगाडी सबै सबै मातापिता झक्ने भए जस्तै मेरो त्यो आन्दोलन गर्ने जम्मा हुने हाम्रो घर रोजेकोमा वहाँहरुले चुपचाप स्विकार गर्नु भयो । अब हामीहरु हतार हतार छातीमा पञ्चायत बिरोधी नाराहरु टाँसेर दश पन्ध्र मिनेट पनि मेरो घरमा नरुकेर नारा लगाउँदै एक्कासी निस्कियौं । हामीहरु पञ्चायत बिरोधी नारा लगाउँदै मेरो घरबाट निस्केको देखेर मेरा टोल छिमेकका छिमेकीहरु पनि तिनछक्क पर्नुभएको थियो । हामीहरुले यो भेला हुने मेरो घरको बारेमा अत्यन्त गोप्य राखेका थियौं ।

घरबाट निस्किना साथ हामीहरु नारा लगाउँदै झण्डै दौडिए जस्तै हिंड्यौ । हामीहरु सके सम्म धेरै भन्दा धेरै दुरी सम्म त्यो पञ्चात बिरोधी जुलुस देखाउन चाहन्थ्यौं । यता हामी पञ्चायत बिरोधी नारा लगाउँदै निस्किएको कुरा उता पञ्चायती प्रजातन्त्र मनाउँदै गरेका प्रशासन प्रहरी र पञ्चहरुमा खैलाबैला मच्चियो । त्यतिबेला एक जना श्रेष्ठ थर गरेका काठमाण्डौका बासिन्दा डिएसपी हुनुहुन्थ्यो । तत्कालिन अवस्थामा जिल्ला प्रहरी कार्यालयको बर्दिया जिल्लामा डिएसपी नै प्रमुख हुन्थे । उनी त्यो प्रजातन्त्र दिवस छोडेर हतारहतार गाडीमा दश बाह्र जना जति प्रहरीहरु लिएर हामी भएतिर हुईकिुनु भयो । हामी यति बेर सम्म नारा लगाउँदै सिमल चोक (हाल राधाकृष्ण थारु चोक भनेर चिनिन्छ) सम्म पुगि सकेका थियौं । नारा लगाउँदै थियौं । प्रहरीहरु हामी भएठाउँ पुग्ना साथ गाडीबाट हामफाल्दै आफुसंग भएको पेस्तोल राईफल देर्साउँदै हामी तिर कुदीहाले र हामीलाई घेर्दै हाम्रा छातीमा पेस्तोल र राईफल सटाउँदै नानाभन्ती गाली गर्दै ठोकी दिउँ भन्न थाले ।

अब हाम्रो सातो गयो । यिती हो बाँच्ने दिन भन्ने पनि लाग्यो । हाम्रो नारा लगाउने क्रम भंग भयो । तर मुक्ति जी त साह्रै सुरो मान्छे । छातीमा पेस्तोल हुँदा पनि नारा लगाउन नछाड्ने । खड्ग बिक्रम शाह जीले प्रहरीसंग नम्र भएर कुरा गर्दै हुनुहुन्थ्यो । प्रहरीहरु कडकिदै थिए । तर डिएसपी साप पनि बडो नम्र ब्यवहार भएको मान्छे हुनुहुँदो रहेछ । वहाँले प्रहरीहरुलाई नचाहिँदो गाली गर्न र गोली कुनै हालतमा नचलाउने आदेश दिनु भयो र हामी सबैलाई समातेर प्रहरी आएको गाडीमा भेडाबाख्रा कोचे जस्तै कोचेर जिल्ला प्रहरी कार्यालय पुर्याउनु भयो । अँ, त्यस दिन पानी परीरहेको थियो । जिल्ला प्रहरी कार्यालयको चौर पानीले डुबेको थियो । हामीलाई त्यही पानी भरिएको चौरमा पानी माथि नै बस्ने आदेश भयो । हामीलाई के कारणले हो कुन्नी त्यस दिन जाडो पनि नलाग्ने र पानीमा बस्दा चिसो पनि लागेको अनुभव भएन । यता सुभाष पोख्रेल जी यसो आफ्नो खुट्टा दोबार्दै पानी भन्दा माथि के बस्न खोज्नु भाथ्यो एक जना हामीलाई निगरानी गर्न बसेको प्रहरीले वहाँलाई थचारी हाल्नु भयो । त्यसपछी कसैले पनि ओभानो खोज्ने आँट गरेनौं । त्यस दिन लगभग चार बजे सम्म त्यही पानी भरिएको जिल्ला प्रहरी कार्यालयको चौरमा राखियो हामीलाई । अलि बेलुकी भएपछी हामी चार जनालाई (सुभाष, गणेश , सुनिल र मलाई) तत्कालिन मथुराहरद्वार पञ्चायतमा पर्ने भारतको सिमामा पर्ने नेपालको सिमा प्रहरी चौकीमा लगेर राखियो । अन्य साथिहरुलाई कहाँ लगे भन्ने थाहा हुन सकेन ।
क्रमशः

फेसबुकबाटBasu Dev Basu