जबदेखि तिमी यो बस्तीमा छिर्यौे,
मन जोडे जस्तो गर्यौ,
साथ दिने जस्तो गर्यौ,
पाहुना बनेर पस्यौ,

सङगै मकै भुट्यौ ढिडो ओराल्यौ,
रोटि सेक्यौ कन्दमुल खोज्यौ,
कति दिनका भोका तिमी
बल्ल भरपेट अघायौ,
यो बस्तीको छाना मुनि
भरिएको पेट लिएर मस्त निदायौ ।

समयसङगै तिम्रो उपस्थिति बाक्लियो
सामिप्पेता बढ्न थाल्यो
मित्रताको तापले यो मैनको बस्तीलाई
पगाल्यो पोख्यो तिमीसङगै।

छानो फेर्न नसकेकालाई महलको सपना देखायौ,
गरिबी हटाउने आश्वासन बाड्यौ,
सुखद भबिष्यको आशा जगायौ,
कुडिएका मनअनि अभाबमा बाँचेका तनहरुलाई
बेरोजगार जाँगरहरुमा बिद्रोहको आँधि चलायौ,
शान्त बस्तीमा क्रान्तिको आगो सल्कायौ ।

त्यति मात्रै कहाँ होररु,
नयाँ घर बनाउन भनी भएको घर भत्कायौ,
बिद्यालय बन्द गरेर बङकर बनायौ,
कलम समाउने हातमा बन्दुक थमायौ,
सृजना बिर्साएर बिध्वङ्स रटायौ ।

रुढीबादी भनेर धर्म सँस्कृति नाश गर्यौ,
मन्दिर भत्कायौ पुजारी लखेट्यौ ,
भौतिक बादका हिमायती तिमी
भौतिक संरचना नष्ट गर्यौ,
पुल भत्कायौ , गाडि जलायौ,
टावर ढालेर बहादुरी देखायौ,
टायर बालेर बाटाभरी आफ्नो
दरिलो उपस्थिति जनायौ ।
आफ्नै बस्तीलाई बर्ग दुस्मन देख्यौ।

मुसा भएर बस्तीमा पस्यौ,
हात्ती भएर निस्कियौ,
तिम्रो माया पिरतिले आजित भएको बस्तीमा
फेरि अर्को हात्ती आयो बस्तीलाई कुल्चन,
दुबै हात्तीको मायाको सास्ती
पाईरह्यो यो बस्तीले।

तिमी हाम्रै भर्याङ चढेर माथि पुग्यौ,
सफलता र शक्तिको उन्मादले मातियौ,
तिम्रो यात्रामा शीर झुकाउने
दानदक्षिणा चढाउनेहरु खुलेआम
हिडिरहे बेलगाम कुदिरहे,
सबै परिबर्तनकारी ठहरिए ,
तिम्रा अघि शिर नझुकाउनेहरु
प्रतिगमनकारी प्रमाणित भए।

कसैलाई आफ्नै घरबाट लखेटियो,
अरुको घरखेतमा झन्डा गाडियो,
दुबै हात्तीको चपेटामा कति गुमनाम भए,

आङ्ग जिरिङ्ग हुन्छ शम्झदा पनि,
कतिलाई गोलि ठोकियो
कतिलाई सुलि चढाईयो
कतिको घाँटि रेटियो ।

कतिलाई टुहुरा टुहुरी बनाईयो,
कति बेवारिस र बिस्थापित भए
धमाधम हेर्दाहेर्दै पुतलीहरु भट्टिमा जल्दै गए,
सुराकीको बहानामा क्रान्तिका नाममा।

तर पनि समय न हो,
यात्रा रोकियो शान्तीमा रुपान्तरण भयौ तिमी ,
तिमी आफै मान्छे बन्ने प्रयास गरिरहदा
फेरि केही आशा पलायो पिडा बिलायो,
त्यहि आगोले पोल्छ अनि सेक्छ भने जस्तै ।

तर बिडम्बना !
पूँजी बादका बिरोधी तिमी पूँजी पति भयौ ,
सुकुम्बासी तिमी घर घडेरिका मालिक भयौ,
सँसदका निन्दक तिमी साँसद कै ब्यापारी भयौ,
राजतन्त्रको सधै खेदो खनिरहने तिमी ,
रजौटाको जन्मदिएर आफै बादसाह भयौ।

त्यसैले अब त्रसित छ यो बस्ती,
तिमी र तिमी जस्ता छेपारा र ब्वासासङग,
आजित छ तिमीहरूले लाउने मायापिरतिसङग,
अब फेरि साइनो गाँस्न माया लाउन,
यो बस्तीमा आउदै छौ रे भन्ने सुनेको छु
खबरदार १ प्रबेश निषेध छ यो बस्तीमा ,

सतर्क ! अनि होशियार !! छ अब यो बस्ती ।

मीनराज पन्त, सुर्खेत ।