कोहलपुरकाे नीति तथा कार्यक्रम : शिक्षाका विषय के–के समेटिए ?

कोहलपुर ।

कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि एक अर्व बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा सोमवारदेखि सुरु भएको कोहलपुर नगर सभाको १५औं अधिवेशनमा नगर उपप्रमुख संगिता सुवेदीले १ अर्व ५ करोड ९ लाख २७ हजार बराबरको आयव्यय विवरण सार्वजनिक गरेकी हुन् ।

यो चालू आर्थिक वर्ष भन्दा करीब ९ करोड कम हो ।कुल विनियोजित बजेटमध्ये चालु खर्च ६४ प्रतिशत र पूंजीगत खर्च ३६ प्रतिशत विनियोजन गरिएको उनले बताइन् ।

नेपाल सरकारबाट प्राप्त हुने संघीय समानीकरण अनुदान १८ करोड ९६ लाख, संघीय सशर्त अनुदान ३७ करोड २४ लाख, संघीय समपुरक अनुदान ५५ लाख, संघीय राजश्व बाँडफाँड भई प्राप्त हुने आय १५ करोड ६३ लाख ६९ हजार र प्रदेश सरकारबाट समानीकरण अनुदान १ करोड १९ लाख ४९ हजार, प्रदेश सशर्त अनुदान १ करोड ७७ लाख ६२ हजार, प्रदेश समपुरक अनुदानको १ करोड ५ लाख, प्रदेश विशेष अनुदान वापतको १० लाख, स्थानीय राजश्व बाँडफाँड प्राप्त हुने अनुमानित १० करोड ५ लाख र नगरपालिकाको आन्तरिक कर तथा गैरकर राजश्व समेत गरी ११ करोड ६१ लख ७२ हजारलाई आधार बनाएर बजेट निर्माण निर्माण गरिएको सुवेदीले बताइन् । नगर प्रमुख आचार्यले ‘समृद्ध कोहलपुर नगर’ भन्ने नाराका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

जसमा शिक्षामा के के विषय समेटिएका छन् ?

  • विद्यालय तहको शिक्षामा पहुँच, समता, गुणस्तर र सान्दर्भिकता अभिवृद्धि गरिने छ ।
  • विद्यालयको भौतिक पूर्वाधार, टिनको छाना विस्थापन, सफा स्वच्छ पिउनेपानीको व्यवस्था,मौसम अनुकुलताका लागि आवश्यक व्यवस्थापन गरिने छ ।
  •  शिक्षकहरुको पेशागत विकास, तालिम, सकारात्मक हस्तक्षेप, UDL, DI, STEAM पेडागोजी कार्यक्रमहरु सञ्चालन गरिने छ ।
  •  स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि “विद्यार्थी तथा अभिभावकसङ्ग जनप्रतिनिधि” कार्यक्रम सञ्चािलन गरी यस क्षेत्रका अग्रजहरुलाई विद्यार्थीहरु सँग भेट गराई स्थानीय पाठ्यक्रमका बिषयबस्तुको सहजीकरण गर्ने नीति लिइनेछ।
  •  कोहलपुर 14 स्थित राम माध्यमिक विद्यालयमा अटिजम भएका विद्यार्थीहरुका लागि व्यवस्थित पठनपाठनको व्यवस्थापन गरीने छ ।
  • सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको क्षमता विकासका लागि नेतृत्व विकास तालिम प्रदान गरिनेछ ।शिक्षा विकास तथा अनुसन्धान केन्द्रको सञ्चालन तथा व्यवस्थापन गरी सो केन्द्र मार्फत शिक्षकहरुका लागि आवश्यक तालिम प्रदान गरिनेछ ।
  • विद्यालयको सुन्दरताका लागि एक विद्यालय एक बगैँचा कार्यक्रमलाई निरन्तरता दिइनेछ। दिवाखाजा र छात्रवृतिको उचित व्यवस्थापन सहित निरन्तरता दिईनेछ ।
  • रोष्टर सहितको विद्यालय सुपरीवेक्षण र नमुना कक्षा प्रदर्शनलाई अभियानको रुपमा सञ्चालन गरिने छ
  • नगरपालिका बाट भइरहेको शिक्षक तथा कर्मचारी व्यवस्थापन कार्यलाई निरन्तरता दिईनेछ ।
  • विद्यालयको समग्र पक्षमा प्रधानाध्यापकको कार्य स्वायत्ततामा बढोत्तरी गरिनेछ ।
  •  विषयगत शिक्षकहरुलाई विद्यार्थीहरुको सिकाई उपलब्धी प्रति जिम्मेवार बनाइनेछ । नगर स्तरीय कक्षा ८ को परीक्षामा कम्तिमा ५० जना वा सो भन्दा बढी विद्यार्थी सहभागी बनाई उच्च सिकाई उपलब्धी हासिल गराउने शिक्षक तथा विद्यालयलाई प्रोत्साहन उपलब्ध गराइने छ ।
  • विद्यालयमा कार्यरत नगर अनुदानमा आधारित शिक्षक,सबै खाले विद्यालय कर्मचारी तथा बालविकास सहजकर्ताहरुको कार्यविधी निर्माण गरी खटनपटन गरिने छ ।
  • शैक्षिक सुशासनको लागि नेतृत्व विकास गर्न आवश्यक कार्यक्रमहरु संचालन गरिनेछ ।
  • नमुना विद्यालयलाई कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
  • “मेरो विद्यालयलाई म स्मार्ट बनाउछु” कार्यक्रम सञ्चालन गरिने छ ।
  • विद्यालय स्तरमा खेलकूद तथा अतिरिक्त क्रियाकलाप सञ्चालनमा निरन्तरता दिइनेछ ।
  • अभिभावक शिक्षा कार्यक्रम, Parents Report Card, वृति पथ तथा मनोपरामर्श सचेतना कार्यक्रमहरु सञ्चालन गरिने छ ।
  • संस्थागत विद्यालयको नेतृत्व क्षमता विकास,शिक्षक तालिम, सफलताका कथा आदान प्रदान, विद्यार्थी सवलीकरण कार्यक्रम सञ्चालन गरिने छ ।
  •  विद्यार्थीहरुमा पठन सिप विकासको लागि पढाई मेला सञ्चालन गरिने छ ।
  • अनिवार्य तथा निशुल्क शिक्षाको व्यवस्था कार्यान्वयनको लागि विद्यालयहरुलाई दिइदै आएको एकमुष्ठ अनुदान निरन्तरता दिइनेछ ।
  • वि.व्य.स. र शिक्षक अभिभावक संघको लागि “म जिम्मेवार पदाधिकारी” कार्यक्रम सञ्चालन गरीने छ ।
  • शिक्षण अनुभव आदान प्रदानको लागि शैक्षिक अवलोकन भ्रमण (राष्ट्रिय तथा अन्तराष्ट्रिय) गरीनेछ ।
  • नैतिकता,अनुशासन र जिम्मेवारी मानव मूल्यको ज्ञानका लागि प्रत्येक महिनाको अन्तिम शुक्रबार पाठ्यपुस्तक रहित सिकाइ सहजिकरण तथा आफ्नो भेषभुषा अनुसारको ड्रेसमा विद्यार्थी व्यवस्थापन गरिनेछ
  • वडा शिक्षा समितिलाई थप जिम्मेवार बनाइनेछ ।
  • शिक्षक तथा प्रधानाध्यापकहरुको लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ ।
  • बाल विकास केन्द्रहरुको सबलीकरण गरिनेछ ।
  • निजी क्षेत्रबाट सञ्चालित पूर्व प्राथमिक विद्यालय, ट्युसन सेन्टर तथा सीप विकास तालिम केन्द्रहरुलाई कार्यविधि निर्माण गरी नियमन र व्यवस्थित गराउँदै लगिनेछ ।
  • नगरपालिकामा रहेका अपाङ्गता तथा असहाय बालबालिकाहरुको लागि छात्रवृत्ति, शैक्षिक तथा सहायक सामग्री, स्रोत सामग्री तथा आवश्यकता अनुसारको थप कक्षाको व्यवस्था गरिनेछ ।
  • Greening विद्यालयको अवधारणलाई कार्यान्वयन गरिनेछ ।
  • “साथीबाट सिक्ने, साथीलाई सिकाउने” र “म कस्तो छु” कार्यक्रम सञ्चालन गरिनेछ ।
  • विद्यालय क्षेत्र भन्दा टाढा रहेका वालवालिकाहरुलाई विद्यालयको पहुँचमा ल्याउनका लागि यातायातको सेवा संचालन गरिनेछ ।
  • मेयर कप तथा राष्ट्रपति रनिङ्गशिल्ड खेललाई लक्षित गरी विद्यालयगत प्रशिक्षकको व्यवस्था गरिनेछ ।
  • कोहलपुर नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिकरुपमा कमजोर विद्यार्थीहरुको सिकाई उपलब्धि हासिल गर्न माग र आवश्यक्ताका आधारमा शैक्षिक सामाग्री उपलब्ध गराउन शैक्षिक सामाग्री बैंक स्थापना गरिनेछ ।