भौतिक पूर्वाधारको अभावले ग्रुजिरहेका छौं : प्रअ सुवेदी

बाँकेको बैजनाथ गाउँपालिकामा कक्षा ८ को नतिजामा ९८ प्रतिशत पास भएका छन् । गाउँपालिकाले बाँकेमा नै उत्कृष्ट नतिजा ल्याएको छ । बैजनाथ गाउँपालिका ४ मा रहेको समावेशी माध्यामिक विद्यालयका प्राधानाध्यापक रमण प्रसाद सुवेदीसंग शैक्षिक सुधारका लागि गरिएका प्रयास र नयाँ योजना सहित पालिकाले ल्याउनुपर्ने नितिका विषयमा कोहलपुर टुडे डटकमसंग गरिएको अंश :

यहाँलाई कोहलपुर टुडे डटकममा मा स्वागत छ

धन्यवाद ।

१. यहाँको विद्यालयमा अहिले के-कस्ता शैक्षिक गतिविधि गरिरहुनुभएको छ ?

गत वर्षको शैक्षिक सत्रको अन्त्य गर्दै नयाँ शैक्षिक सत्र सुरु भइसकेको छ । बालबालिकाहरुको भ्ःक्ष्क् भर्ने र नयाँ भर्ना लिन कामहरु गरिरहेका छौं । नयाँ भर्नासंगसंगै पढ्नपाढ्न समेत सुरु भइसकेको छ । विद्यालयमा नियमित हुने गतिविधि जस्तै अतिरिक्त क्रियाकलाप लगायतका कामहरु सञ्चालन गरेका छौं ।

२. पालिकाबाट आएको बजेटलाई विद्यालय प्रशासनले कसरी कार्यान्वयन गरिरहेको छ ?

पालिकाबाट आएको बजेटलाई कानून, पक्रिया अनुसार नै कायान्वयन गरिरहेका छौं । पालिकाले विभिन्न शिर्षकमा बजेटहरु दिएको हुन्छ जुन शिर्षक हुन्छ त्यसमा नै खर्च हुने गर्छ । पालिकाबाट हरेक वर्ष आउने नियमित बजेट भनेको शिक्षक कर्मचारीको तलब, पिसिएल खर्च, छात्रावृति, पाठ्यपुस्तक खर्च, दिवा खाजा खर्च लगायत अन्य विविध खर्च शिर्षकहरु हुने गर्दछन् । पछिल्लो केही महिनादेखि विव्यस गठन पक्रिया समस्या हुँदा अहिले समस्या भएको छ । दिवा खाजा, शिक्षक कर्मचारी राख्ने लगायत अन्य विविध प्रकृतिका समस्याहरु रहेका छन् जुन पालिकाले दिएको बजेटलाई समेत कानूनी र पक्रियागत रुपमा लिन सकिरहेका छैन । पालिकाले विद्यालयमा खानेपानीको अभावका कारणले पालिकाले खानेपानी जडान गरेको छ जसले अहिले पानी प्रसस्त छ । विद्यालयको वार्षिक रुपमा हुने विद्यालय सुधार योजना र लेखा परिक्षण समेत नियमित रुपमा भएको छ ।

३. अभिभावक, विद्यार्थी र शिक्षक विचको सम्बन्ध समधुर बनाउन कस्तो प्रयास गर्नुभएको छ ?

यो निकै महत्वपूर्ण प्रश्न गर्नुभएकोमा धन्यवाद, कुनै सामुदायिक विद्यालयमा अभिभावक, विद्यार्थी र शिक्षक विचको सम्बन्ध भएन भने गुणस्तरीय शिक्षा प्रदान गर्न सकिदैन । यस विद्यालयमा आफू प्रअ भएदेखि यहाँका अभिभावक, विद्यार्थी र शिक्षकसंगको एउटा खब्बाको रुपमा स्थापित गरेको अनुभव गरेको छु । शैक्षिक क्षेत्रमा सुधार भनेकै एउटा त्रिकोणात्मक सम्बन्ध नै हो । त्रिकोणात्मक सम्बन्ध भएन भने कुनै शैक्षिक क्रियाकलाप अगाडी बढाउन निकै समस्या हुन्छ त्यसैले यसलाई प्रगाढ सम्बन्ध चाहान्छु । पालिकाको अन्य विद्यालयमा भन्दा आफ्नो विद्यालयमा अभिभावक विद्यालयमा आउने र आफ्ना बालबालिकाहरुले गरेका क्रियाकलपाका बारेमा जानकारी लिने व्यवस्था सञ्चालन गरेका छौं जसले अभिभावक विद्यालयमा आउने वातावरण तयार भएको छ ।

४. पालिकाबाट विद्यालयमा आउने कार्यक्रमलाई अभिभावकहरुलाई जानकारी दिनुहुन्छ की हुँदैन ?

पालिकाबाट आएका कार्यक्रमलाई अभिभावकहरुलाई पूर्ण रुपमा जानकारी दिने गरेका छौं । पालिकाले विद्यालयमा आउने हरेक किसिमका बजेटलाई व्यानर नै बनाएर गेट नजिकै राख्ने गरेका छौं । कुन शिर्षकमा के कति रकम, कसले कति व्यहोर्ने भन्ने विषयमा प्रस्ट नै छ । अभिभावकहरुलाई मात्र होइन सडकमा हिड्ने बटुवाहरुले समेत जानकारी पाउनुहुन्छ । यस विद्यालयले सरोकारवालाहरुलाई बोलाएर सार्वजनिक समेत गर्ने गरेका छौं । यदि कुनै विषयमा अस्पष्ट भएमा सम्बन्धी क्षेत्रमा पठाई उहाँहरुको जिज्ञासाहरुलाई परिपूर्ति गर्ने गरेका छौं ।

५. शैक्षिक सुधारका लागि गत वर्षमा गरेको भन्दा फरक के गरिरहुनभएको छ ?

शैक्षिक सुधार गर्नका लागि यो वर्ष शैक्षिक सुधार वर्षका रुपमा लिएका छौं । गत वर्ष समेत यस शैक्षिक सुधार वर्षका रुपमा लिएका थियौं । गत वर्षमा पालिकामा नै अब्बल भएका थियौं भने यो वर्ष समेत अब्बल हुने विश्वास दिलाउन चाहान्छौं । गत वर्षको एसईई नतिजामा १ जना ‘ए प्लस’ र २ जनाले ‘ए’ ल्याएका थिए भने २ जनाले अपग्रेटबाट समेत पास भई शत प्रतिशत पास भएका थिए । यो नै हाम्रो सुधारको पक्ष र सुधारका योजना भित्र पर्दछ । गत वर्षको कक्षा ८ को नतिजामा समेत शत प्रतिशत पास भएका छन् जसले पालिकामा नै अब्बलका रुपमा लिएका छौं ।

६. तपाईको विद्यालयमा विद्यार्थीहरुले कम्प्यूटर, पुस्तकालय, विज्ञान प्रयोगशाला प्रयोग गर्न पाएका छन की छैनन ?

राम्रो प्रश्न गुर्नभयो, विद्यार्थीलाई सैदान्तिक भन्दा व्यहारिक ज्ञान आवश्यक छ । अहिले विज्ञानिक समाज र आइटीको समाज हो । हामीले कम्प्यूटर, विज्ञान प्रयोगशाला प्रयोग नगरी अध्ययन गराएका छौ भने त्यसले किताबमा मात्र भएको ज्ञानले अपुग हुन्छ जुन लक्ष्य हो त्यो हासिल गर्न सकिदैन जसले राम्रो नतिजा दिँदैन । विद्यालयमा भएको भौतिक पूर्वाधार नभएकै कारणले पूर्ण रुपमा सबै कक्षाका विद्यार्थीहरुलाई पढाउन पाएका त छैनौै तर केही दिनको फरक फरकमा भने विद्यार्थीहरुलाई प्रयोगशाला प्रयोग गरी अध्ययन गराइरहेका छौं । विद्यार्थीसंख्या बढि भएपछि सबै विद्यार्थीहरुलाई विज्ञान प्रयोगशाला प्रयोग गर्न सक्ने अवस्था छैन । भौतिक पूर्वाधार थप भयो भने त्यसलाई पूर्णता पाउने थियो । पाठ्यपुस्तक पनि पुरानो र च्यातिएका छन् । नयाँ पाठ्यपुस्तक ल्याउनका लागि बजेट छैन । अन्य संघसंस्थाहरुलाई आव्हान त गरेका छौं तर उहाँहरुले ल्याउनुभएको छैन ल्याउनुहुन्छ भने अपेक्षा गरेका छौ । कम्प्यूटरको लागि पनि भौतिक पूर्वाधारकै अभावमा केही सेट भएकोले अध्ययनअध्यापन गराउन समस्या छ । एउटा कक्षाबाट आधा भन्दा कम विद्यार्थी कम्प्यूटर सिक्न पाउँछन् जसमा अन्य आधा विद्यार्थीलाई कहाँ राख्ने ? जस्ता समस्या हुन्छन् यद्यपी हरेक दिन आधा घण्टाको समय मिलाएर अध्ययन गराइराखेका छौ ।

६. शैक्षिक गुणस्तर सुधारका लागि पालिकाले कस्तो खालको निति ल्याउँदा यहाँहरुलाई सहज हुन्छ ?

पालिकाले लिएको शिक्षाको निति राम्रो र उत्कृष्ट नै छ । अब पालिकाले भौतिक संरचना बनाउन तर्फ अग्रसर हुनुपर्छ भन्ने लाग्छ । हाम्रै विद्यालयमा समेत भौतिक पूर्वाधार नहुँदा विद्यार्थी भर्ना बन्द गर्नुपर्ने अवस्था आएको छ । अहिले भर्ना लिन सक्ने अवस्था छैन । कुनैमा डेक्स बेन्च र भौतिक पूर्वाधार नुहँदा समस्या छ । बालबालिकाहरुलाई अतिरिक्त क्रियाकलाप गर्नका लागि फिल्डको समस्या छ । खेल्ने चौर छैन । विद्यालयको चौथर्पी विकास गर्न भौतिक संरचना, खेल्ने चौर र शिक्षक अभाव रहेको पालिकालाई जानकारी गराएका पनि छौं । अहिले हाम्रो विद्यालय भौतिक रुपमा कक्षा १० सम्म ६०३ जना थियो जसमा ५९३ जना विद्यार्थी परिक्षामा सहभागि भएका थिए । नयाँ शैक्षिक सत्रमा हालसम्म ६०४ जना छन, अझै विद्यार्थी बढिरहेको छ । कक्षा ६ मा ८० जना, ७ मा ७६ जना छन भने कक्षा ८, ९ र १० मा विद्यार्थी भर्ना गर्ने अवस्था छैन ।

७. अन्त्यमा, अभिभावक, विद्यार्थी, शिक्षकहरुलाई के भन्न चाहानुहुन्छ ?

हाम्रा आदरणी अभिभावक ज्यूहरुलाई हरेक हप्ता विद्यालयमा एक पटक आउनु अनुरोध गर्दछु । बालबालिकालाई एक क्षेत्रबाट अध्ययनअध्यापन गराएर हुँदैन घरमा पनि अध्ययन गराउनुपर्छ । आफ्नो सन्ततिले के कति पढेका छन्, ? कसरी पढिरहेका छन् ? अब के के गर्दा थप सुधार हुन्छ ? त्यसको चेकजाँच गरी हामीलाई सुझाव दिनुभयो भने अझै सहज हुने थियो । सो सुझावका आधारमा नयाँ योजना बनाउन सजिलो हुनेथियो । विद्यालयको भौतिक पूर्वाधार बनाउन अभिभावक ज्यूहरुले पहलकदमी गर्न अनुरोध गर्दछु ।