हिन्दुहरुको महान पर्व विजया दशमीको महिमा

विशेषगरी आश्विन महिनाको शुक्लपक्षको भोलिपल्ट प्रतिपदाको दिनमा राखिने दशैघर र हरेक नागरिक घरमा घटस्थापना स्थापन गरेर नौ दिनसम्म देविको आराधना गर्ने र दशौ दिनमा मान्यजनबाट टीका र जमरा लगाईमागी आशीर्वाद प्राप्त गर्ने कार्य नै नवरात्रा र विजया दशमी हो । यो हिन्दूहरुको महान चाड हो । यसलाई सबै हिन्दुहरुले हर्सोलासले मनाउने गर्द्छ्न । यसलाई वडादशैं, दशहरा र विजया दशमीका नामले चिनिएको पाईन्छ । यो नेपालीहरुको मात्र होइन हिन्दुहरुको निकै ठूलो पर्व हो ।

आश्विन महिनाको शुक्ल पक्षको सप्तमीको दिन मन्दिर, घर तथा कोट घरमा फुलपाती भित्र्याउने काम गरिन्छ । अस्टमीको दिन कोट, मठ, मन्दिर र घर घरमा बोका, रांगा, हांस लगायतको बलि दिने परम्परा रहेको छ भने शुद्द साकाहारीहरुले कुपिन्डो, सिमि, ल्वाङ, नरिवल, घिरम्ला लगायतका पन्चवली दिने परम्परा रहेको छ । यी बलि दिने भएकोले यस दिनलाई विशेष दिन मानिएको छ ।

दशमी तिथिको दिन लाई अझै विशेष पर्वको रूपमा लिने गरिन्छ्व । नवमीको दिन भगवान रामले सत्ययुगमा रावण लाई वध गरेकाले नवरात्राको नवौ दिन नवमीको मान्ने प्रचलन छ । जसलाई असत्य माथि सत्यको विजयक्क रुपमा समेत मनाउंदै आएको पाईन्छ ।

त्यसकारण पनि दशैको दशौ दिनलाई विजया दशमीको भनिएको हो । दशैं पन्चाङग निर्णायक समितिका अनुसार वर्षमा चारदिन निकै शुभ दिन मानीएको छ ती हुन विजया दशमिको दिन, कार्तिक शुक्लको प्रतिपदा तिथि, चैत्रको नवमिको दिन र बैशाखमा अक्षतृतिया हुन । यी दिनहरुमा हिन्दूहरु नयाँ कामको सुरुवात गर्ने परम्परा छ ।

विजयदशमीमा दुर्गा भगवती सहित भगवान रामको विजयको रुपमा मनाईदै आएको छ । दुर्गा पूजाको रुपमा दुवैमा रुपमा यो शक्तिपूजाको पर्व पनि हो । हतियार तथा शस्त्र पूजनको तिथिका रूपमा लिने गरिन्छ । हर्ष र उल्लासमय एवम् विजयको पर्वका रूपमा लिने गरिन्छ । हिन्दू सँस्कृति वीरताको पूजक अनि शौर्यको उपासक पनि हो । प्राचीन समयमा राजाहरुले उक्त दिन विजयको प्रार्थना गर्दै रथयात्राको लागि प्रार्थना गर्ने गरेको ईतिहास छ । उक्तदिन नेपालका विभिन्न स्थानमा जात्रा र मेलाहरु लाग्ने गर्द्छ ।

विजया दशमीको सामाजिक महत्व के छ ?

दशैंको साँस्कृतिक पक्ष बलियो छ । नेपाल र भारत दुबै छिमेकी मुलुकहरू कृषिप्रधान देश हुन् । जब कृषकहरु आफ्नो खेतवारिमा सुनौलो नयाँ उमारेर सम्पत्ति घरमा भित्रयाउने समय पनि हो । यो समय नेपालका विभिन्न जातजाति र धर्मलम्वीहरुले निकै हर्सोलासले मनाउने गर्द्छ्न । नेपालमा मात्र नभिई दक्षिण एसियाका धेरै देशमा विशेष गरि भारत, भुटान र बर्मा म्यानमारमा पनि यो पर्व विभिन्न प्रकारले मनाउदै आएको पाईन्छ ।

दशैं विशेषतया नेपाली हिन्दूहरुको सबैभन्दा ठूलो पर्व हो । नेपाली पात्रोनुसार आश्विन शुक्ल प्रतिपदा देखि दशमीसम्म दशदिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दशैं विजया दशमीका नामले पनि चिनिन्छ ।

हिन्दू चन्द्रमासिक पन्चाङ्ग गणनाको तिथि अनुसार पर्ने गर्द्छ । नेपाली चाडहरु निश्चित गते र तारिखमा पर्दैनन । त्यसकारण दशैंपनि अंग्रेजी क्यालेण्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्यदेखि अक्टोबर महिनाको मध्य बीचमा पर्द्छ । यो आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ । दशैको पहिलो दिनलाई घटस्थापना भनिन्छ । दशैं प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत) सम्म १५ दिनको हुने गर्द्छ ।

जुन पहिलो ९ दिन लाई नवरात्रि र दशौं दिनलाई दशमी सहित दशैं भनिएको हो । यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई र भगवान श्री रामचन्द्रले रावणलाई वध गरेर मारेकोले सम्पूर्ण मानवजातिको कल्याण गरेकोले भव्य रूपमा मनाउने प्रचलन छ । प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी, विजयादशमी र पूर्णिमा (कोजाग्रत) दशैंका प्रमुख तिथिहरु मानिएको छ ।

दशैमा प्रमुख पूजा र उत्सव के के लाई मानिन्छ ?

सातौं दिनलाई फूलपाती, आठौं दिनलाई महाअष्टमी, नवौं दिनलाई महानवमी एवं दशौं दिनलाई विजया दशमी भनिन्छ । यी सबैको महत्व फरक फरक छ । जसलाई यसरी उल्लेख गरिएको छ :

महासप्तमी : सप्तमी तिथिको दिन कोट, मन्दिर, दशैघर र सर्वसाधारणको घरमा दशैंको लागि पूजा सामाग्री स्वरुप फूलपाती प्रवेश गराउने चलन छ । सातौंदिन सदर काठमाडौको टुँडिखेलमा फूलपातीस्वरुप केरा, दारिम, धान, हलेदो, माने, कर्चर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरुलाई पूजा गरेर प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ ।

यी नौ पातमा क्रमशः ब्रम्हाणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई अलग अलग रूपमा आवाहन गरेर सोह्र सामग्रीले समेत पूजा गरिन्छ । देवता इन्द्र र भगवान शिव, विष्णु तथा श्रीरामले वृत्तासुर, त्रिपुरासुर, मधुकैटभ अनि रावणको बध गरेकोले क्रमैसँग नवरात्र व्रत गरेको किवदन्ती छ ।

यस दिन विशेष गरेर महासरस्वती तथा पुस्तक, कापी, कलम लगायत पढ्ने र लेख्ने सामग्रीको पूजा गरिन्छ । किसानहरु यस दिन खेतमा गई चन्दन, अक्षता र फूलले धानको पूजागरी धानकाबाला र बोट घरमा भित्र्याउँछन् । यसै दिन गोरखा दरबारको दशैंघरबाट ल्याइएको फूलपाती राजधानी काठमाडौंको जमलमा ल्याई हनुमानढोका दरवारमा भित्र्याउने चलन पनि छ ।

महाष्टमी : नवरात्रिको आठौं दिनमा महाकाली वा भद्रकालिको विशेष पूजा गरिन्छ । देवीभागवत अनुसार प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ नाश गर्नका लागि निकै शक्तिशाली भद्रकाली करोडौं योनीका साथ अष्टमीका दिन उत्पन्न भएको पूजा गर्ने प्रचलन छ । पूजापश्चात यी देवीलाई बोका, कुखुरा, हाँस, राँगोको बलि पनि दिइन्छ । यी दिनहरुमा मानिसहरु आफ्ना कुलदेवी, देवता र स्थानीय देवीदेवताको पुजा गरेर बलि दिने गर्दछ्न ।

काठमाडौँको तलेजु भवानीको मन्दिर सर्वसाधारणको लागि उक्त दिन खुला गरिन्छ । यसै दिन हनुमानढोकाको मूल चोकमा तलेजु भवानीलाई ५४ राँगा र त्यत्ति नै बोका बलि दिने चलन छ । महाअष्टमी र महानवमी बीचको रात महाअष्टमी र महानवमी बीचको रातलाई कालरात्रि मानेर रातभरि गुप्तपूजा गरिन्छ । धेरैले यसै दिनदेखि खेतिमा प्रयोग हुने हतियारको पनि पूजा गर्छन् ।

महानवमी : नवरात्रिको नवौं दिन विशेष गरी महालक्ष्मी देवीको पूजा गरिन्छ । यसै दिन विहान कलपूजा, हातहतियारहरु र सवारीका साधनहरु लाई बलि दिई विश्वकर्माको पूजा गरिन्छ । यस दिन अरु पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दशवर्षसम्मका नवकन्याको पूजा समेत गरिन्छ ।

विजया दशमी : नवरात्रिको दशौं दिनलाई विजयादशमी पनि भनिन्छ् । यस दिनमा भगवान रामचन्द्रले रावण माथि विजय प्राप्त गरेकाले यसलाई विजयादशमी भनिएको हो ।

सोह्र सामाग्रीले भगवती दुर्गा र अरु देवीदेवताको पूजा गरेर नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्टदल लेखी त्यसका बीचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बीचमा अपराजित देवी, दाहिनेतिर जयादेवी, देब्रेतिर विजया देवीको आवाहन र सोह्र सामाग्रीले पूजा गरी यथाशक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा अन्य देवदेवीहरुलाई चढाई आरती र पुष्पाञ्जलि समेत गर्नु पर्द्छ ।

यो गरेमा आफूमाथि विजय गर्न सक्दैन भन्ने धार्मिक आस्था छ । यसका लागि आवाहनं नजानामि नजानामि विर्जनम् । पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी मन्त्रको वाचन गरिन्छ । देवीका मूर्तिहरु र नवपत्रिकालाई बाजा, गाजा गर्दै वैदिक मन्त्र पढी जलाशयमा पुगेर वा लगेर नदिमा राख्दै घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रुपमा घाँटीमा लगाइन्छ ।

घरका मुलमान्छेले भगवतीको प्रसाद स्वरुप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीरवाद दिने गरिन्छ । सबै परिवार नाता कुटुम्बककोमा गएर मान्यजनसंग दशैंको लागि तयार पारी राखिएको नयाँ लुगा लाई टीका लगाउने चलन छ । यसका लागि आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्धने दानं सुर्युते बलं हलधरे सत्यञ्च कुन्तीसुते । विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे भन्ने मन्त्रको वाचन गरेर लगाउने गर्नु राम्रो हुन्छ । यो टीका लगाउने काम पूर्णिमासम्म जारी रहन्छ र पूर्णिमादेखि एक पक्षको दशैं चाडको अन्त्य हुन्छ ।

घटस्थापनाको दिन हिन्दू धर्मावालम्बीहरुले आफ्ना पूज गरेको ठाउँ वा दशैं घरमा विधिपूर्वक दिप, कलश, गणेश र देवीको पूजागरी जौ, मकै जस्ता अन्न रोपेर जमरा राख्ने चलन छ । देवीको आराधना गरेर राखिएको जमरा विजयादशमीका दिन टिकासँगै लगाइन्छ । विहान जमरा राखेपछि हिन्दुहरुले घरघरमा र मठ मन्दिरमा पनि दैवी शक्तिका शप्तसति चण्डी पाठ गर्ने प्रचलन छ ।

बडा दशैको प्रसाद जमराको वैज्ञानिक महत्व के रहेको छ भने बडादशैंको पहिलो दिन दशैघरमा घटस्थापना गरी नदीको बालुवा राखेर जौ अनि गहुँ र मकै छरिन्छ । त्यसपछि नवरात्रभरि शक्तिको प्रतीक देवी दुर्गा भवानीको नौ विभिन्न स्वरुपको पूजा गरिन्छ ।

यसरी मातृशक्तिको आह्वान, आराधना गरि घरमा उमारिएको जमरा विजयादशमीको दिन आफ्ना कुलदेवताहरुलाई अर्पण गरी प्रसादस्वरुप टीकासहित लगाउने परम्परा छ । जौ स्वास्थ्यका दृष्टिले औषधी मानिन्छ ।

वैदिक ग्रन्थहरुमा जौलाई रोग हटाउने भएकोले यज्ञादिमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्न अन्नका रुपमा लिइएको छ । यज्ञमा जौको प्रयोग प्रशस्त मात्रामा गरिन्छ । पौराणिक ग्रन्थहरुमा पनि यवोसि धान्यश: भनेर जौलाई अन्नको मानिएको छ ।

गीतामा भगवान श्रीकृष्णले पनि औषधिनामहं यवः अर्थात औषधीहरुमा म जौ हुँ भन्नुभएकाले पनि यसको महत्त्व पुष्टि गरिए छ । श्रीमदभगवत महापुराणमा पनि वामन अवताररुपी भगवान विष्णुको पूजा गर्दा लोकपालहरुले जमरा चढाएको प्रसंग छ् भने हिन्दु संस्कृतिमा जमराको महत्व परापूवकालदेखि नै यसको महत्व छ ।

आयुर्वेदिक ग्रन्थहरुमा जौ र अंकुरित जौबाट गर्न सकिने उपचारहरुको व्यापक उल्लेख छ । विविध रोगका लागि जौ उपयुक्त रहेको वैज्ञानिकहरुले पनि पुष्टि गरेक्क छन् । औषधि विज्ञानमा सात वा नौ दिनको जमरा पिँधेर झोल बनाई नित्य सेवन गर्न हो भने उच्च रक्तचाप, अर्वुद (क्यान्सर) एवं मधुमेह जस्ता रोगहरुको लागि अचुक औषधि हो । जमराको रसको सेवनले सौन्दर्यता निखार आउँछ ।

अमेरिकी वैज्ञानिकहरुले गरेको अनुसन्धान अनुसार अंकुरित जौ सम्पूर्ण आहार र औषधीमध्ये सर्वोत्कृष्ट खाद्यपदार्थ हो । अन्य हरिया सागपातमा भन्दा जौ वा अंकुरित जौमा पौष्टिक तत्व बढी पाइन्छ ।

भारतीय चिकित्सकहरुले समेत जमराको प्रयोगबाट पेट, आन्द्रा, हाड एवं अन्य रोगहरुको सफल उपचार गरिएको प्रमाण छ । सम्पूर्ण हिन्दूहरुमा विजया दशमीको हार्दिक शुभकामना ।

लेखक : शर्मा मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर बांके पाठ्यक्रम तथा मूल्याङकन विभागका उप प्राध्यापक हुन ।