एपीसाेड २५ : पटक पटक अवसरलाई पहिचान गर्न नसक्दा

बासुदेव चौधरी

बहुदलिय प्रजातान्त्रिक ब्यवस्थाको पुनस्र्थापना पछी २०४८ सालको बहुदलिय प्रजातान्त्रिक ब्यवस्था अन्तर्गत भएको पहिलो आम निर्बाचनमा नेपाली काँग्रेसले स्पष्ट बहुमत समेतको सरकार तत्कालिन नेपाली काँग्रेसका महामन्त्रि गिरीजा प्रसाद कोईरालाको नेतृत्वमा गठन भयो । कृष्ण प्रसाद भट्टराई नेकाँको कार्यवाहक सभापति र अन्तरिम सरकारको प्रधानमन्त्रि भए तापनि उक्त निर्वाचनमा पराजय ब्यहोर्नु परेको थियो । कृष्ण प्रसाद भट्टराई निर्वाचनमा हार्नुको कारणमा अन्तर्घात भएको भन्ने हल्ला चलेको थियो । कृष्ण प्रसाद जी को हार भएको कारणले गिरीजा प्रसाद कोईरालाको नेतृत्वमा सरकार गठन भयो ।

यस सरकारमा वर्तमान नेकाँ सभापति शेर बहादुर देउवा गृहमन्त्रीको रुपमा र रामचन्द्र पौडेल सभमुखमा आसिन हुनुभएको थियो । त्यतिबेला खुम बहादुर खड्का, शेर बहादुर देउवा, रामचन्द्र पौडेल र स्व. शुशिल कोईरालाको नाम क्रान्तीकारी युवा नेताको रुपमा खुबै चर्चामा रहेको थियो । शुशिल कोईरालाले मन्त्रीपद अस्विकार गर्नु भएको थियो भन्ने हल्ला चलेको थियो । शैलजा आचार्य दिदी पनि क्रान्तीकारी नेतृको रुपमा चर्चित हुनुहुन्थ्यो । वहाँले प्रजातान्त्रिक आन्दोलनको क्रममा खुबै पञ्चायती ब्यवस्थाको भौतिक र मानसिक यातना खुबै ब्यहोर्नु परेको चर्चामा थियो ।

गिरीजा प्रसाद कोईराला प्रधानमन्त्री हुँदा म बर्दिया जिल्लाको नेबिसंघको जिल्ला उपसभापति थिएँ । महेन्द्र बहुमुखि क्याम्पस (एमएम क्याम्पस) नेपालगञ्जमा कानुन बिषयमा स्नातक गर्दै थिएँ । त्यतिबेलै एमएम क्याम्पसमा स्वबिययुको निर्बाचन हुने भयो । मलाई साथिहरुले सो स्वबियुको निर्वाचनमा सचिव पदमा उठ्ने प्रस्ताव राखेका थिए । तर म बर्दिया जिल्लाको नेबिसंघको संगठनलाई मध्यनजर गर्दै सो निर्वाचनमा उम्मेदवार नहुने भएँ ।

यसै क्रममा त्यतिबेला नेपाल बिद्यर्थि संघको जिल्लामा पार्टी नेतृत्वहरुसंग किचलो शुरु भैसकेको थियो । हामी युवा भएकोले युवा जोश नहुने कुरै भएन । हामी अली एग्रेसिभ क्रान्तीकारी भएका थियौं त्यतिबेला । पार्टीका नेतृत्वहरु भने अलि शान्त र सुस्त प्रकृतिका थिए । वहाँहरुले नेपाली काँग्रेसको शान्तीवादी नितिलाई बढी ध्यान दिनुहुन्थ्यो (यसको बारेमा मैले पहिले पनि चर्चा गरीसकेको छु) । मैले खुलेरै ज्ञानराज शर्मा जीलाई पार्टी सभापतिमा प्रचारप्रसारको लागि सहयोग गरेको हुँदा मलाई वहाँले र वहाँको समर्थकहरुले माया पनि गर्नुहुन्थ्यो ।

मेरो ज्ञानराज जी संगको सम्बन्ध बलियो भएकै अवधिमा प्रधानमन्त्री गिरीजा प्रसाद कोईरालाका एकजना किचेन क्याबिनेट भनेर चिनिने स्वकिय सचिव श्री निषिध कुमार उपाध्यायले मलाई राजनिति भन्दा सामाजि संस्था तर्फ लाग्न सल्लाह दिनु भएको थियो र मलाई वहाँको तर्फबाट हुन सक्ने सबै प्रकारको सहयोग गर्ने बचन पनि दिनु भएको थियो । तर म त्यतिबेला नेबिसंघ भन्दा अरु केहि नसोच्ने र सोच्न पनि नचाहने खालको थिएँ । र सामाजिक काम त राजनितिबाट पनि हुन सक्छ भन्ने सोचाई रहेको थियो । सामाजिक संस्थाको महत्व पनि बुझेको थिएन । यस्तो संस्थाहरुको लोकतान्त्रिक पद्धतीलाई सबल र सुद्धृढ गर्न कति सम्म टेवा पुर्याउँछ भन्ने पनि ज्ञान थिएन । खाली राजनिति भेनेर कुर्लने मात्रै थियो मेरो सोचाईँ । त्यसैले वहाँको त्यो प्रस्ताव अस्विकार गरेँ । समयले साथ दिन छाडेपछी बल्ल घैँटोमा घाम लागेको थियो । तर समय घर्की सकेको थियो । पछी यस्तै सामाजिक काम गर्ने सामाजिक संस्थाको जागिरे भएर काम गर्नु पर्यो ।

म बिएल दोस्रो बर्ष अध्ययन गर्दा १९९४ मा त्रिभुवन बिश्वबिद्यालयको तर्फबाट भारतको महाराष्ट्रको वर्धा जिल्लाको गोपुरी भन्ने ठाउँमा कमलनयन बजाज स्मृति अन्तर बिश्वबिद्यालय परीसम्बाद प्रतियोगितामा भाग लिने मौका मिलेको थियो । नेपालको क्याम्पसहरुका अन्य प्रतिस्पर्धीहरुलाई पछार्दै सो प्रतियोगितामा भाग लिन जान पाएको थिएँ । त्यहाँ भारतका राष्ट्रपीता महात्मा गान्धीको निति र बिचारमा आफ्नो तर्क प्रस्तुत गर्नुपर्ने थियो । मैले त्यही काम गरेँ ।

यस प्रतियोगिता हुँदा सोही ठाउँमा Institute of Gandhian Studies  नाम गरेको एउटा संस्था थियो जसले संसारभर गान्धीको बिचारको प्रचारप्रसार गर्ने गर्दथियो । त्यसमा मलाई गान्धीको बिचारमा नौ महिने डिप्लोमा कोर्ष गर्न निमन्त्रण भयो । फेरी मेरो बुद्धी घाँस चर्न गएको समय परेछ क्यारे । मैले त्यो निमन्त्रणा पनि अस्विकार गरेँ । नेपाल मै मैले बिएल गर्दै छु, त्यहाँ नौ महिने गान्धी बिचारमा डिप्लोमा गरेर मेरो भबिष्यमा के गर्ला र भन्ने उल्टो बुद्धी जागेको रहेछ । यस संस्थाको नेटवर्क र सामाजिक क्षेत्र र शान्तीवादी निती तथा राजनितीमा कति यसको महत्व छ भन्ने मैले नबुझेको रहेछु । अहिले आएर यो कुरा बुझ्दै छु ।

भारतका रक्षा मन्त्रिी समेत रहेका यशवन्त, गान्धीका प्रवल समर्थक र बिद्यावरिधी गरेका रबिन्द्र वर्मा, गान्धीका परीवारका सदस्यहरु र बजाज कम्पनीका मालिकहरुको त्यहाँ ठुलो योगदान हुने रहेछ । मैले त्यो कुरा नबुझेको कारणले सो अवसर पनि गुमाउन पुगेछु । अहिले आएर के लाग्छ भने अवसरले कुन बेला कुन रुपमा तपाईँ हामीलाई कसरी सुअवसर प्रदान गर्छ भन्ने पत्तै हुँदैन तर त्यो अवसरलाई समयमै नबुझ्ने हो भने पछी समयले पनि सो अवसर पुनः प्रदान गर्न सक्दैन ।
यस्तै बिएल अध्ययन गरी सकेपछी त्यतीबेला न्यायसेवा आयोगले अधिकृत पद मा निवेदनको आह्वान गरेको थियो । म बिएल अध्ययन गर्दा राम्रै बिद्यार्थिमा गनिन्थे । त्यसमा पनि राज्य सत्ताका शक्तिशाली ब्यक्तिले आवेदन गर्न भन्नु भएको थियो । त्यो पनि मैले मानिन र आएका कतिपय सुअवसरहरु गुमाउँदै गएँ । क्रमशः