कोहलपुरमा मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्वन्धी कार्यविधि पारित, १८ वर्षदेखि मुनिका बालबालिकाले मदिराको विक्री र खरिद गर्न नपाउने

कोहलपुर ।

कोहलपुर नगरपालिकाले स्थानीय मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्वन्धी कार्यविधि पारित गर्दै त्यसको कार्यान्वयन प्रक्रिया अगाडि बढाएको छ ।

आज सम्वद्ध सबै सरोकारवाला पक्षसँग कार्यविधि कार्यान्वयनका सवालमा छलफल कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले पालिका क्षेत्रमा मदिरालाई व्यवस्थित गर्ने प्रक्रियालाई अगाडि बढाएको हो ।

अव कुनै पनि व्यक्तिले इजाजतपत्र वेगर र इजाजतपत्र पाएकाले पनि इजाजतपत्रमा तोकिएको शर्त बाहेक मदिरा उत्पादन विक्री वितरण गर्न नपाइने गरी कार्यविधि बनाइएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताउनुभयो ।

‘इजाजतपत्र प्राप्त व्यक्तिले विहान १० बजेदेखि राती १० बजेसम्म मात्रै मदिरा विक्री वितरण गर्न पाउने छ थापाले भन्नुभयो–‘१८ वर्षदेखि मुनिका कुनै पनि बालबालिकाले मदिराको विक्री वितरण र खरिद गर्न नपाउने गरी कार्यविधि बनाइएको छ ।’

नगरपालिकाबाट इजाजतपत्र लिएको भएता पनि नगरपालिकाको स्वास्थ्य, शिक्षा, सरकारी कार्यालय, धार्मिक स्थल र पुरातात्वीक महत्वका क्षेत्रहरुमा मदिराजन्य पदार्थ विक्री वितरण निषेधित क्षेत्र घोषणा गर्न सकिने कार्यविधिमा उल्लेख गरिएको छ ।

सार्वजनिक कार्यक्रम, सभा, समारोह, मेला, महोत्सव, धार्मिक कार्यक्रम, शैक्षिक कार्यक्रम, खेलकुद, भेला, सम्मेलन, गोष्ठि, कार्यशाला, कन्सर्ट जस्ता कार्यक्रममा मदिरा सेवन तथा बेचविखनमा प्रतिबन्ध लगाइएको छ ।

यस्तै किराना, खाद्यान्न, तरकारी, औषधि, मासु, कपडा, फलफूल लगायतका कुनैपनि पसलबाट मदिरा विक्री वितरण गर्नमा समेत कार्यविधिले रोक लगाएको छ ।

यस्तै मानव स्वास्थ्यप्रति चेतना गराउने सूचना तथा होर्डिङ वोर्ड बाहेक मदिराको प्रचार प्रसार, माइकिङ, विज्ञापन तथा होर्डिङ वोर्ड राख्न समेत नपाइने भएको छ ।

मदिरा विक्रेताहरुले मदिरा विक्री कक्षमा मदिरा बाहेक अन्य मालसामान राखेर कारोवार गर्न समेत नपाइने कार्यविधिमा उल्लेख गरिएको नगर प्रहरी प्रमुख थापाले बताउनुभयो । कार्यविधि विपरीतको कसुर गर्नेलाई कारवाही समेत गरिने उल्लेख छ ।

नगरपालिका क्षेत्रभित्र नगरपालिकाबाट इजाजत नलि मदिरा विक्री वितरण गरेको पाइएमा मदिरा जफत गरी पहिलो पटक रु १० हजार, दोस्रो पटक रु २० हजार र तेस्रो पटक र सो भन्दा बढी भएमा प्रत्येक पटकको लागि रु ३० हजार जरिवाना गरिने उल्लेखछ ।

नगरपालिका क्षेत्रभित्र कसैले घरेलु मदिरा उत्पादन, विक्री वितरण तथा ओसारपसार गरेको भेटिएमा उक्त मदिरा नष्ट गरि पहिलो पटक रु ५ हजार, दोस्रो पटक रु १० हजार र तेस्रो पटक रु १५ हजार जरिवाना गरिने पनि कार्यविधिमा उल्लेख छ । मदिरालाई व्यवस्थित र नियन्त्रण गर्न मदिरा व्यवस्थापन कोषको समेत व्यवस्था गरिएको थापाले बताउनुभयो ।

‘कार्यविधि विपरीत मदिरा विक्री वितरण र सेवन गर्ने व्यक्तिबाट कार्यविधि बमोजिम उठेको जरिवाना रकमको १० प्रतिशत सुराक दिने व्यक्तिलाई, २५ प्रतिशत सुरक्षा निकायलाई इन्धन, अन्य व्यवस्थापनका लागि २५ प्रतिशत सम्बन्धित वढा कार्यालयलाई र ४० प्रतिशत नगरपालिकाको मदिरा व्यवस्थापन कोषमा रहने छ उहाँले भन्नुभयो–‘कोषको संचालन नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको संयुक्त दस्तखतमा गरिनेछ ।’

मदिरा कोषको रकम गम्भीर रोेग लागेका तर आर्थिक अभावका कारण उपचार गर्न असमर्थ भएका व्यक्तिलाई सहयोग गर्ने, घरेलु हिंसामा परेका महिलालाई आवश्यक जीविकोपार्जनका लागि आवश्यक सहयोग गर्ने लगायतका कार्यमा खर्चिने भएको छ । कार्यविधि कार्यान्वयनका लागि आयोजना गरिएको छलफल कार्यक्रममा नगर प्रमुख पूर्ण प्रसाद आचार्यले नगरपालिका क्षेत्रभित्र मदिराजन्य पदार्थको कारोवार र प्रयोगलाई व्यवस्थित गर्ने प्रयास गरिएको बताउनुभयो ।

‘स्थानीय मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्वन्धी कार्यविधि पारित गरेका छौं उहाँले भन्नुभयो–‘यसको कार्यान्वयनका लागि सबै क्षेत्र समुदायलाई आग्रह गर्दछु ।’ मदिराको प्रयोगले परिवार र समाजलाई अल्पकालीन र दीर्घकालीन असर पुर्याईरहेको उल्लेख गर्दै उहाँले यसबाट सबैर्ला जोगाउन मदिरा विक्री वितरण र सेवनका लागि निश्चित स्थान तोक्नु पर्ने आवश्यकता भएरै कार्यविधि बनाइएको बताउनुभयो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले मदिराबाट सिर्जित घटनाबारे प्रस्तुतीकरण गर्दै पछिल्ला सवारी दुर्घटना, घरेलु हिंसालगायतका प्रमुख कारण मदिरा भएको उल्लेख गर्नुभयो ।

‘अधिकांश सवारी दुर्घटना र घरेलु हिंसाको कारण मदिरा बनेको छ उहाँले भन्नुभयो–‘यसलाई व्यवस्थापन गर्न सकिएन भने अवस्था भयावह हुन्छ ।’ कार्यक्रममा सहभागीहरुले कार्यविधिलाई कार्यान्वयन गरेर लैजान स्थानीय सरकारलाई सुझाव दिए ।

उनीहरुले कार्यविधि कार्यान्वयनसँगै अनुगमनको पाटोलाई पनि प्रभावकारी बनाएर लैजानु पर्ने धारणा राखेका थिए । कार्यक्रममा कोहलपुर नगरपालिका क्षेत्रका राजनीतिक दलका प्रतिनिधि, उद्योगी व्यवसायी, जनप्रतिनिधि, सञ्चारकर्मी, विभिन्न सामाजिक संघसंस्थाका अगुवा, आमा समूह लगायतको सहभागिता रहेको थियो ।