पुस्तकालयको ऐतिहासिक पृष्ठभुमि
पुस्तकालय ज्ञान सामग्रीको एउटा अमूल्य नीधि हो । यो मानव सभ्यताको एउटा चित्र संग्रहपनि हो । पुस्तकालय बौद्धिक निर्माणको आधारशिला हो । सभ्यता तथा संस्कृतिको अमूल्य सम्पति हो । कुनैपनि देशको कला, संस्कृत, शिक्षा विकासको पौरख हो । पुस्तकालय एउटा ज्ञानको पवित्र भन्डार हो । तर हाल यसको सामाजिक मूल्य र मान्यता हेर्दा हजारौं वर्ष पुरानो इतिहास रहेको छ । यसको इतिहासलाई केलाउँदा अनौपचारिक रुपमा मानिसले आफना ज्ञानगुनका कुराहरु विभिन्न माटो, छाला तथा काठका टुक्रामा लेखेर विहार, गुम्बा, मठ, मन्दिरमा राखेर तयार गर्ने गरेतापनि एसिरियाका राजा अस्युरवानीपालले ई.पू. ६२६ अगाडी स्थापना गरेको निनेभ पुस्तकालय लाई विश्वको पहिलो पुस्तकालयको रुपमा स्थापना गरेको पाइन्छ । त्यसैगरी ई.पू. ३२३ अगाडी इजिप्टका राजा टोलेमीले स्थापना गरेको अलिक्जेन्ड्रियन पुस्तकालय, रोमको सिसेरोको नीजि पुस्तकालय जस्ता पुस्तकालयहरुको विकास भएको पाइन्छ ।
सन् १४४० मा जर्मनीका जोहन गुटवर्गले प्रिन्टीङ प्रेसको आविष्कार गरेपछि प्रथमपटक प्रकाशन भएको हो । फ्रान्सको विब्लिओथेक नेसनाले सन् १४४६ मा रोमको भेटिकल पुस्तकालय, सन् १७१४ मा रसियाको लेलिनग्रेड पुस्तकालयका साथै सन् १७५६ बेलायतको ब्रिटेस म्युजियम, सन् १८०० मा अमेरीकाको लाईब्रेरी अब कङग्रेस जस्ता पुस्तकालयहरुको जन्म भएको पाइन्छ । नेपालमा भने महाविर पुस्तकालय बुटवल वि.सं २००४, सार्वजनिक विद्याभवन पुस्तकालय, धरान २००४, आदर्श पुस्तकालय विराटनगर, २००४, प्रदिप्त पुस्तकालय काडमाडौं, २००४, मदनपुरस्कार पुस्तकालय २०१२, नेपाल राष्ट्रिय पुस्तकालय २०१३, त्रि. वि. केन्द्रीय पुस्तकालय २०१६, केशर पुस्तकालय २०२६, डिल्लीरमण कल्याण रेग्मी स्मारक पुस्तकालय २०५८, सोसियल साइन्स बहा २०५८, काडामाडौं उपत्यका सार्वजनिक पुस्तकालय, २०६१ रहेका छन् । यहि सेरोफेरोलाई अध्ययन गर्दा पनि ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र कोहलपुर, २०५८ मा स्थापना भएको हो ।
सामुदायिक पुस्तकालय के हो ?
सामुदायिक पुस्तकालय भनेको मानवीय जीवनपर्यन्त सिक्ने वातावरण तयार गरिएको एक शैक्षिक संस्था हो । जहाँ सामुदायिक विकासको केन्द्रका रुपमा हेरिन्छ । यी पुस्तकालयहरु स्वः निर्भर शैक्षिक संस्थाका रुपमा रहेका हुन्छन् । यसलाई समुदायको स्वामित्वमा स्थापित गरी समुदायद्धारा नै अपनत्व लिएर व्यवस्थित बनाउएका पुस्तकालय हुन् । जसले आम समुदायका विभिन्न शैक्षिक तथा प्राज्ञिक आवश्यकताको सहजै परिपूर्ति गरी समुदायलाई शिक्षाको माध्यमबाट सु-सज्जित बनाउने गर्दछ यो शैक्षिक संस्थालाई नै सामुदायिक पुस्तकालय भनिन्छ । यसले समुदायका आवश्यकता लाई परिपूर्ति गर्दछ । जसबाट प्रजातान्त्रिक अभ्यासहरु हुने गर्दछ । यसले शैक्षिक प्रर्वद्धन, समाजको आर्थिक तथा सामाजिक विकास गर्नका लागि समुदायलाई फरक फरक खालको ज्ञान, सिप तथा अभिवृति प्रदान गर्दै आधुनिक समाज निर्माण गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसको आवश्यकता आजको समयमा निकै प्रभावकारी रहेको छ । आजको २१ औं शताब्दिको समयमा आम पाठकवर्गमा पढ्ने बानीको कमी भएको, पेपरलेस समय स्थापित गर्न खोजेको, एक ठाउँमा जम्मा भएर सबैको सहकार्यमा काम गर्र्ने शैक्षिक संस्थालाई तथा सामुदायिक पुस्तकालय भनिन्छ ।
सामुदायिक पुस्तकालय आवश्यकता
पछिल्लो समयमा पुस्तकालयले विभिन्न प्राविधिक ज्ञान प्रदान गर्न, आम समुदायमा सचेतना फैलाउने खालको ज्ञान तथा सीप प्रदान गर्न, सचेतनात्मक कार्यक्रमहरु मार्फत सूचनाहरु प्रदान गर्न, कृषकहरुका लागी प्राविधिक तालिम, प्राविधक ज्ञान र सीपको विकास, विपत व्यवस्थापन गर्न, जलवायु परिवर्तनले पार्ने प्रभावको जानकारी प्रदान गर्न, मानव बेचविखन विरुद्धका कार्यक्रमहरु सञ्चालन गर्न, वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई कसरी सुरक्षित तरिकाबाट विदेशजाने, विदेश गएर कसरी काम गर्ने, वैदेशिक रोजगारीमा दुःख पाएर फर्केका व्यक्ति तथा परिवारका लागी सचेतनामूलक कार्यक्रमको आयोजनगरी चेतना फैलाउने खालको शिक्षा प्रदान गर्न, विभिन्न धर्म संस्कृति, रितिरिवाज, भाषाभाषी, भेषभुषाको संरक्षण तथा संम्वद्र्धन गर्न, समाजका विभिन्न संस्कृतिको संग्रालय निर्माणगरी यसको आवश्यकताको जानकारी गराउने एउटा मात्र संस्था हो भएकाले सामुदायिक पुस्तकालयको आवश्यकता छ ।
समाजमा रहेका विभिन्न व्यक्तिहरुलाई केहि समय जम्मा भएर पत्रपत्रिका अध्ययन गर्ने, भलाकुसारी गर्ने तथा स्थानीय स्तरका विभिन्न सूचनाहरुको जानकारी प्राप्त गर्ने एकमात्र साझा स्थान सामुदायिक पुस्तकालय भएकाले यसको आवश्यकता छ । आजको समयमा सामुदायिक पुस्तकालयले भाइचाराको सम्बन्ध स्थापित गर्न खोजेको छ । सामूदायिक पुस्तकालयका उद्देश्यहरु स्थानीय जनतालाई शिक्षित बनाई योग्य नागरिक तयार गर्ने, आम नागरिकलाई पठनपाठन कार्यमा अभिरुचि सिर्जनागरी सदबाटोमा लिने र आम नागरिकलाई शिक्षित बनाई देशको सर्वाङ्गीण विकासमा सहयोग गर्ने रहेका छन् । यस पुस्तकालयका कार्यहरु स्थानीय जनताको चाहना तथा माग बमोजिमका ज्ञान सामग्रीहरु संकलन गर्ने, स्थानीय नागरिकलाई शिक्षित बनाउनका लागी विभिन्न सामाजिक तथा सांस्कृतिक क्रियाकलाप गर्ने, आमपाठकलाई अभिरुचि सिर्जना गर्न कथा, कविता, वादविवाद, सिनेमा पुस्तकप्रर्दशनी लगायतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने, साँकृतिक महत्वका सामग्रीहरु संकलनगरी संरक्षण गर्ने र अनौपचारिक शिक्षाका साथै घुम्ति पुस्तकालयको सञ्चालन गर्नका लागी यसको आवश्यकता छ ।
सामुदायिक पुस्तकालयका भौतिक संरचना तथा आधारहरु
विशेषगरी पुस्तकालय हुनका पूर्वाधारहरु हुनु अत्यन्त जरुरी रहेको छ । जसमा पुुस्तकको सुविधा, पाठकको संख्या र आगमन, पुस्तकालय सञ्चालनका लागी कर्मचारी, पुस्तकालय भवन तथा विभिन्न अध्ययन कक्षहरु जसमा पठनकक्ष, कक्षहरु बालकक्ष, महिला कक्ष, बृद्धबृद्धा कक्ष, मन्टेश्वरी कक्ष, खेल तथा मनोरञ्जन कक्ष, कर्मचारी कक्ष, पुस्तकालय कार्यसमिति कक्षर अपांङगता कक्ष र सभाहल, महिला कक्ष, बाल कक्ष, कम्प्युटर कक्ष, युवाकक्ष, अपाङ्गता कक्ष, जेष्ठनागरिक कक्ष तथा श्रव्यदृश्य कक्ष अनिवार्य हुनु पर्दछ । उपकरण, फर्निचर, आर्थिक जोह तथा लेखन सामग्री अनिवार्य हुनु पर्दछ । पुस्तकालयले आवश्यक र सत्य तथ्य सूचना एवम् पाठकको लागी ठीक समयको उपलब्धता, ज्ञान तथा विज्ञानमा प्रकाशित सामग्री नियन्त्रण गरी पठनपाठन सामग्री र सुविधा उपलब्ध गराउनु पर्दछ ।
जसले निरन्तर शिक्षा प्रदान गर्न सहयोग मिल्दछ । पुस्तकालयमा पाठकको आकाँक्षामूलक पुस्तकको व्यवस्थापन गर्नु राम्रो मानिन्छ । यसले आमपाठकका विविध समस्याहरुलाई समधान गर्ने र रोचक तरिकाले एकान्तमा बसेर अध्ययन गर्ने स्थान निर्माण गर्नु पर्दछ । पुस्तकालय जहिलेपनि अनुसन्धानमूलक कार्यमा तल्लिन भई अहोरात्र पुस्तकालयको बारेमा योजना निर्माण गरेर अगाडी बढ्नु पर्दछ । पुस्तकालयका कार्यहरु छनौट, संकलन, व्यवस्थापन, वितरण, संरक्षण र सहयोग गर्ने हुनु पर्दछ । यसका सेवाहरु लेनदेनसेवा, सूचनासेवा, अध्ययनसेवा, डकुमेन्टसेवा र अन्तरपुस्तकालय सापटीसेवा दिन सक्ने हुनु पर्दछ । हाल नेपालमा राष्ट्रिय पुस्तकालय, सार्वजनिक वा सामुदायिक पुस्तकालय, विद्यालय तथा विश्वविद्यालयका पुस्तकालय र विशिष्ट पुस्तकालय रहेका छन् ।
भौतिक संरचनाको चर्चा गर्दा पुस्तकालय जहिलेपनि पाँच सिद्धान्तमा आधारित हुनु पर्दछ । पुस्तकालयको भवन बानाउँदा साधारण, कार्यदक्षता, मितव्ययिता, लचकदार, उपयोगी, प्रकार्यात्मक र मनमोहक अनि सुन्दर हुनु पर्दछ । यसका लागी प्रारम्भिक योजना, अन्तिम योजना हुनु पर्दछ । फर्निचर आवश्यक तथा पाठकको आवश्यकताको आधारमा हुनु पर्दछ । पुस्तक राख्ने र्याकको विषयमा भने एकतर्फी खुला र्याकमा उचाई ६ फिट १० इन्च, चौडाइ ३ फिट र गहिराई ११ इन्च, दुईतर्फी खेला र्याकमा उचाई ६ फिट १० इन्च, चौडाइ ४ फिट ३ इन्च र गहिराई १ फिट ६ इन्च, विशेष र्याकमा एकल तथा दुवै साइड बनाउने आधारमा ध्यान दिनु पर्दछ ।
पुस्तकालयमा पुस्तक लेनदेन गर्ने स्थान, पाठकको अध्ययन गर्ने स्थानमा पत्रपत्रिका राख्ने ठाउँ, सन्दर्भसामग्री राख्ने स्थान, इमेल तथा इन्टरनेट प्रयोग गर्ने स्थान, पुस्तकालयको काम गर्ने स्थानमा पुस्तक प्राप्तिको स्थान, प्राविधिक कार्य गर्ने स्थान खेल तथा मनोरञ्जन कक्ष, कर्मचारीको हकमा भने दक्षकर्मचारी, प्रशासनिक कर्मचारी, प्राविधिक कर्मचारी र अद्र्धदक्ष कर्मचारी हुनु पर्दछ । कर्मचारीको पारिश्रमिक सरकारी एवम् गैरसरकारी निकायलाई मध्येनजर गरी व्यवस्था गर्नुपर्ने नियम रहको छ । तर कर्मचारी भने पुस्तकालयको नियम अनुसार आफुले काम गर्नृुपर्ने देखिन्छ ।
यसका लागी उनीहरुमा इमान्दारी, कौशलता, मिठासपन, नियममा आधारित काम गर्ने र सहयोगी, संस्थागत जिम्मेवारी वहन गर्न सक्ने र अरुको भावनाको कदरगर्ने खालको हुनु अनिवार्य हुन्छ । पुस्तकालय समिति एक अनिवार्य हुनु पर्दछ । जसमा शिक्षासेवा र बाह्य सेवासंग प्रतिष्ठित व्यक्तिहरु, पेशाप्रति प्रतिष्ठित ज्ञाताहरु, सेवा प्रदान गर्न सक्ने व्यक्तिहरु, विकासमा सहयोग गर्ने सबैले स्विकार गर्न सक्ने आधारहरु भएका व्यक्तिहरु, विज्ञान तथा विधिको ज्ञान भएका योग्य एवम् क्षमतावान शिक्षित व्यक्तिहरु मध्येबाट समितिमा छनौट गरिनु पर्दछ ।
पुस्तकालयको सञ्चालन समिति
विशेषगरी आजको समयमा पुस्तकालय एक विशुद्ध शैषिक संस्था भएकाले शिक्षासंग सम्बन्धित व्यक्तिहरु जो शिक्षा क्षेत्रमा लामो समय काम गरेका व्यक्तिहरुको आगमन हुनु राम्रो मानिन्छ । जसले आम समुदायका विविध खालका समस्याहरुलाई बुझेको छ, जसको शैक्षिक अनुभव धेरै छ, जो अनुसन्धानमुलक कार्यमा लागेर समुदायका विविध समस्याहरु केलाएको हुन्छ र पुस्तकालय प्रतिको ज्ञान राम्रोसंग जाने बुझेको व्यक्ति नै पुस्तकालय व्यवस्था पनि समितिमा आउनु आवश्यक छ ।
यसका लागी योग्य, दक्ष, क्षमतावान, कौशल, निपूण तथा समाजमा व्यक्तिगत छवि राम्रो भएको हुनु पर्दछ । जसले समाजको नेतृत्व निपुण तरिकाले गरी समाजमा विश्वास दिलाउन सक्ने नेतृत्वको आवश्यकता पर्दछ । यसको लागी पुस्तकालयको नेतृत्व चुस्त किसिमको हुनु पर्दछ । जस्तो पुस्तकालय व्यवस्थापन समतिका अध्यक्षको शैक्षिक योग्यता स्नातकोत्तर वा कम्तिमा स्नातक हुनु पर्दछ । त्यस्तैगरी अन्य पदाधिकारीको हकमा स्नातक वा कम्तिमा पनि प्रविणता प्रमाणपत्र तहको योग्यता हुनु पर्दछ । सदस्यहरुको हकमा पनि कम्तिमा एस.एल.सी. हुनु पर्दछ ।
अर्काे आधारको कुरा गर्दा कम्तिमा पनि पुस्तकालयमा आएर अध्ययन गर्ने खालको, सधैजसो नभएपनि महिनामा एक पटक पुस्तकालयमा समय मिलाउन सक्ने व्यक्तिको आवश्यकता पर्दछ । पुस्तकालयमा स्थानीय एवम् राष्ट्रिय र अन्तराष्ट्रिय पत्रपत्रिका, विभिन्न अनुसन्धानमूलक जर्नरलहरु राखिएको हुनु पर्दछ । यसका लागी अध्ययन गरेको व्यक्तिले नै नेतृत्व गर्नु पर्दछ । स्थानीय सरकार, प्रादेशिक सरकार तथा संघीय सरकारसंग नजिक भएको जसले पुस्तकालयका विविध समस्याहरु लाई निराकरण गर्नका लागी तत्काल बजेटको समेत व्यवस्था गर्न सकोस । यस खालको कार्य समितिमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, एक उपसचिव, एक कोषाध्यक्ष तथा कम्तिमा पनि अन्य चारजना जति सदस्यहरु भएको कार्यसमिति हुनु पर्दछ । जसले पुस्तकालयको बारेमा राम्रोसंग जानेको वा बुझेको होस । पुस्तकालय व्यवस्थापन समितिको आवश्यकता परेको हुन्छ । तर वर्तमान समयमा हरेक सामुदायिक पुस्तकालयहरु हरेक राजनीतिक दलका अखडा बनेका छन् । पुस्तकालयहरु राजनीति गर्ने थलोका रुपमा विकासहुँदा पुस्तकालय प्रतिको विश्वास छट्दै गएकाले पनि विशुद्ध प्राज्ञिक व्यक्तिको आगमन हुनु जरुरी छ । तर आजभोली विभिन्न दलका राजनैतिक दलका व्यक्तिहरु लाई समावश गर्नका लागी धेरैसंख्याको कार्यसमिति बनाउने प्रचलनको कारण वैठक बस्नको लागी पनि गणपुरक संख्या पुग्न समेत अभाव रहेको छ त्यो राम्रो पक्ष होइन ।
सामुदायिक पुस्तकालयको महत्व
विशेषगरी सामुदायिक पुस्तकालयको महत्व किन परेको हो ? यसका लागी के गर्नु पर्दछ भन्ने सवालको खोजीको चर्चा गर्दा समुदायद्धारा समुदायको आवश्यकता लाई ध्यान दिदै प्राज्ञिक व्यक्तिको पहलमा समुदायको लगानीमा पुस्तकालयको स्थापना हुनु जरुरी छ । आजको समयमा धेरै शिक्षण संस्थाहरुले पुस्तकालयको अवधारणा ल्याएका छन् । विद्यालय तहमा पुस्तकालय, विश्वविद्यालय तहमा पुस्तकालय, सामुदायिक तवरबाट पुस्तकालयको स्थापना भएको पाइन्छ । तर औपचारिक शिक्षण संस्थाहरुमा शिक्षण संस्थाका पाठ्यक्रममा आधारित पुस्तकहरु र सन्दर्भग्रन्थ सामग्रीका पुस्तकहरुलाई राखिएको हुन्छ भने समुदायमा आधारित पुुस्तकालयमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका पुस्तकहरु साहित्यका पुस्तकहरु स्थानीय लेखकका पुस्तकहरु, स्थानीय कला संस्कृति, धर्मपरम्परा तथा समसामयिक पुस्तकहरु, ख्यातीप्राप्त व्यक्तिले लेखेका पुस्तकहरु राखिएको हुन्छ । जसले गर्दा आम पाठकवृन्दमा अध्ययन गर्न सहजता हुन्छ । उता बाहिर प्राप्त हुन नसकेका पुस्तकहरु पनि पुस्तकालयमा पाउँने विश्वास भएकाले पनि यस प्रतिको महत्व रहेको छ । पुस्तकालय सबैको साझा थलो हो त्यहाँ कुनैपनि आधारमा पक्षपाति व्यवहार गर्नु हुदैन । त्यो शिक्षा प्राप्तिको आधारपनि हो ।
जहाँ आम नागरिकले सूचनाकेन्द्रको माध्यमबाट सूचनाहरु प्राप्त गर्न पाउने सुविधा पनि भएकोले गर्दा त्यसको महत्व रहेको छ । पुस्तकालय बाट समाजमा पछि परेका व्यक्तिहरु, पिछडीएका समुदायहरुका मानिसहरु लाई आयआर्जन गराउने खालको सुक्ष्म सिपहरु प्रदान गर्ने खालका कार्यक्रमहरु सञ्चालन गरी समाजलाई व्यवस्थित गर्नका लागी यसको महत्व रहेको छ । यो सूचना केन्द्रपनि हो भने ज्ञान सञ्चारको आधार मात्र होइन ज्ञान भन्डारण गर्नका लागी महत्व रहेको छ ।स्थानीय सरकारको यो मूख्य केन्द्र हो जसले निःशुल्क रुपमा त्यसबाट ज्ञान लिने अधिकार समेत रहेको हुन्छ । पुस्तकालयबाट विभिन्न खोज, अनुसन्धान, पहिचान तथा नयाँ नयाँ कुराको खोजीगरी समाजलाई त्यो खालको वातावरण तयारगरी शिक्षा प्रदान गर्न सक्नु पर्दछ । अझै राज्यमा रहेका अशिक्षित, गरिव, निमुखा तथा पछाडी परेका नागरिकको लागी यसले सहज खालको सिपमुलक ज्ञान दिने वातावरणगर्न, स्थानीय लेखकहरुको सम्मानगर्न, नियमित पाठकको सम्मान तथा कदरगर्न, समाजका स्थापित नमूना व्यक्तिहरुको आदर सम्मान गर्न, विद्यावारिधि, एम.फिल. अध्ययन पुरा गरेको व्यक्तिहरुको खोजी गरी सम्मानगर्न र उनीहरुले प्राप्त गरेका ज्ञान तथा खोजको सहि सदुपयोग गर्नका लागी महत्व रहन्छ ।
सामुदायिक पुस्तकालयका चुनौति
चुनौतिको सवाल भनेको आफैमा समस्याहरु हुन् । हाल सरकारी निकायबाट सञ्चालित शिक्षण संस्थाहरुमा सरकारी लगानी हुँदा त चुनौति देखा पर्दछन् भने सामुदायमा आधारित पुस्तकालयमा झन नहुने कुरै भएन । सामूदायिक पुस्तकालयका चुनौतिलाई यी हुन् ः भौतिक संरचना तथा भौतिक सुविधामा चुनौति, निर्माण गरिएका सबै भवनहरु अगाङ्गतामैत्री नहुनु, पाठकको रोजाइ अनुसारका पुस्तकहरु प्रयाप्त नुहनु । पुस्तकालयमा प्रयाप्त मात्रमा पुस्तकहरु नराखिनु आर्थिक अभावको कारण कार्यरत कर्मचारिलाई सरकारी सेवासुविधाहरु प्रदान गर्न नसक्नु । पुस्तकालयको व्यवस्थापन समिति छनौटमा राजनितिक अखडा हुनु । योग्य, सक्षम, कौशल तथा निपुण व्यक्तिले नेतृत्व गर्ने अवसर प्राप्त गर्न नसक्नु । स्थानीय सरकारको आँखामा खासै नपर्नु । पुस्तकालयमा आएर अध्ययन गर्ने पाठकको संख्यामा बृद्धि नहुनु । व्यवस्थित तथा सुविधायुक्त स्थानमा पुस्तकालय नहुनु । पुस्तकालयमा विभिन्न कक्षहरुको अभाव ।
दक्षकर्मचारी, प्रशासनिक कर्मचारी, प्राविधिक कर्मचारी र अद्र्धदक्ष कर्मचारी नहुनु । पुस्तकालयको नियम अनुसारका विभिन्न सेवाहर प्रदान गर्न नसक्नु । समुदायमा मात्र निर्भर रहने वातावरण तयार गर्न नसक्नु । गैरसरकारी निकाएमा मात्र निर्भर रहनु । राज्यको आँखामा सामुदायिक पुस्तकालयहरु नपर्नु । आम मानिसमा पुस्तकालयप्रतिको धारणा सकारात्मक नहुनु । पुस्तकालयले समाज तथा समुदायमा आधारित कार्यक्रमहरुको योजना निर्माण नगरी समाजमा यसको आवश्यक प्रभाव पार्न नसक्नु । पुस्तकालय कार्य समितिको व्यक्तिहरु वा पदाधिकारीहरुले समय दिन नसक्नु । वर्तमान २१ औं शताब्दि अनुसारको ई—लाईब्रेरीका रुपमा विकास नगरिनु । पुस्तकालयमा आवश्यकता अनुसारको पुस्तकहरु नराखिनुु र पुस्तकालयका समस्याहरुको बारेमा सम्बन्धित निकायबाट खोज तथा अनुसन्धान नगरिनु ।
सामुदायिक पुस्तकालयका समस्या समधानका उपायहरु
सामुदायिक पुस्तकालयमा देखापरेका समस्याहरुको समधान गर्नका लागी निम्न उपायहरको अवलम्बन गरिनु पर्दछ । जसलाई यसरी उल्लेख गरिएको छ ः भौतिक संरचना तथा भौतिक सुविधा सम्पन्न भवन गर्ने साथै भवन अगाङ्गतामैत्री बनाउने । पाठकको रोजाई अनुसारका समसामयिक पुस्तकहरु प्रयाप्त मात्रामा राख्नुपर्ने । आर्थिक अभावको कारण कार्यरत कर्मचारिलाई सरकारी सेवा सुविधाहरु प्रदान गर्नुपर्ने । पुस्तकालयको व्यवस्थापन समिति छनौटमा हुने राजनीतिक बन्दगरी योग्य, सक्षम, कौशल र निपुण व्यक्तिले नेतृत्व गर्ने अवसर प्रदान गर्नु । सामुदायिक पुस्तकालय स्थानीय सरकारको आँखामा पर्ने वातावरण तयार गर्नुपर्ने । पुस्तकालयमा आएर अध्ययन गर्ने पाठकको संख्यामा बृद्धि गर्ने वातावरण निर्माण गर्नुपर्ने साथै व्यवस्थित तथा सुविधायुक्त स्थानमा पुस्तकालय हुनुपर्ने ।
पुस्तकालयमा आवश्यकता पर्ने विभिन्न कक्षहरु निर्माण गरी गर्नृुपर्ने । दक्ष, प्रशासनिक, प्राविधिक र अर्धदक्ष कर्मचारीको व्यवस्थापन गर्नुपर्ने । पुस्तकालयको नियमनुसारका विभिन्न सेवाहरु प्रदान गर्नुपर्ने साथै समुदायमा मात्र निर्भर रहने वातावरण अन्त्य गर्न स्थायी आम्दानीको स्रोतको पहिचान गरी काम गर्ने । गैरसरकारी निकाएमा मात्र निर्भर नभई आत्मानिर्भर हुने वातावरण तयार गर्नुपर्ने । नागरिकमा पुस्तकालयप्रतिको सकारात्मक धारणा प्रदान गर्ने साथै पुस्तकालयले समाज तथा समुदायमा आधारित कार्यक्रमहरुको योजना निर्माण गरी समाजमा यसको आवश्यक प्रभाव पार्ने खालको अपनत्व बनाउने वातावरण तयार गर्नुपर्ने । समय दिन सक्ने पुस्तकालय कार्य समिति छनौट गर्ने काम गर्ने । ई-लाईब्रेरीका रुपमा विकास गर्ने र आधुनिक पुस्तकहरु राख्निुपर्ने र पुस्तकालयका समस्याहरुको बारेमा सम्बन्धित निकायबाट खोज तथा अनुसन्धान गरिनुपर्ने ।
निष्कर्ष
निष्कर्षमा पुस्तकालय जहिलेपनि अनुसन्धानमूलक कार्यमा तल्लिन भई अहोरात्र पुस्तकालयको बारेमा योजना निर्माण गरेर अगाडी बढ्नु पर्ने देखिन्छ । पुस्तकालयका कार्यहरु छनौट, संकलन, व्यवस्थापन, वितरण, संरक्षण र सहयोग गर्ने खालको बनाउने । यसका सेवाहरुमा लेनदेन, सूचना, अध्ययन, डकुमेन्ट र अन्तरपुस्तकालय सापटीसेवा दिन सक्ने हुनु आवश्यक छ । हाल नेपालमा राष्ट्रिय पुस्तकालय, सार्वजनिक वा सामुदायिक पुस्तकालय, शैक्षिक पुस्तकालय, विद्यालय तथा विश्वविद्यालयका पुस्तकालय र विशिष्ट पुस्तकालयगरी यसका किसिम रहेका छन् । जस अन्तर्गत सामुदायिक पुस्तकालयका उद्देश्यहरु स्थानीय जनतालाई शिक्षित बनाई योग्य र सक्षम नागरिक तयारगर्ने, आम नागरिकलाई पठनपाठन कार्यमा अभिरुचि सिर्जनागरी सदबाटोमा लिने ।
आम नागरिकलाई र साक्षर शिक्षित बनाई देशको सर्वाङ्गीण विकासमा सहयोग गर्ने खालका उद्देश्यपुरा गर्ने वातावरण गर्नृुपर्ने देखिन्छ । पुस्तकालयका कार्यहरु स्थानीय जनताको चाहना तथा माग बमोजिमका ज्ञान सामग्रीहरु संकलन गर्ने तथा पुस्तकालयमा विभिन्न संग्रालय मध्ये कम्तिमा पुस्तकालय वरीपर रहेको बाहुल्यता रहेको समुदायका भेषभुषा एवम् विज्ञान प्रयोगशाला निर्माण गर्ने । स्थानीय नागरिकलाई शिक्षित बनाउनका लागी विभिन्न सामाजिक तथा सांस्कृतिक क्रियाकलाप गर्ने, आमपाठकलाई अभिरुचि सिर्जना गर्ने कथा, कविता, वादविवाद, सिनेमा पुस्तकप्रर्दशनी लगायतका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने, साँकृतिक महत्वका सामग्रीहरु संकलनगरी संरक्षण गर्ने र अनौपचारिक शिक्षाका साथै घुम्ति पुस्तकालयको सञ्चालन गर्नुपर्ने अनिवार्य छ ।
पुस्तकालयमा आवश्यकता पर्ने विभिन्न कक्षहरुको व्यवस्था गर्नुपर्ने । दक्ष, प्रशासनिक, प्राविधिक र अर्धदक्ष कर्मचारीको व्यवस्थापन गर्नुपर्ने । पुस्तकालयको नियमनुसारका विभिन्न सेवाहरु प्रदान गर्नुपर्ने साथै समुदायमा मात्र निर्भर रहने वातावरण अन्त्य गर्न स्थायी आम्दानीको स्रोतको पहिचान गरी काम गर्ने । गैरसरकारी निकायमा मात्र निर्भर नभई आत्मानिर्भर हुने वातावरण तयार गर्नुपर्ने निष्कर्ष रहेको छ । देशैभरीका सामुदायिक पुस्तकालय लाई रिडनेपालले आर्थिक, भौतिक लगायत कर्मचारिको दक्षता सम्बन्धिका तालिमहरु, समुदायमा आधारित कायक्रमहरु, समसामयिक कार्यक्रमहरु, लक्षित वर्गका कार्यहरु प्रदानगरी पुस्तकालयको स्तरउन्नति गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाले पनि आजको समयमा सामुदायिक पुस्तकालयका आवश्यकता, महत्व र चुनौतिलाई परिपुर्ति गर्न सजिलो भएको छ । अस्तु ¤
लेखक : उप प्राध्यापक मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर तथा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुर कार्यसमिति सचिव
काेहलपुर टुडे । ९ जेष्ठ २०८०, मंगलवार ०७:३३