‘जनताको समृद्धिको यात्रालाई शिरमा बोकेर अगाडी बढेका छौँ’

बर्दिया जिल्लामा रहेका ८ स्थानीय तह मध्य एक हो बाँसगढी नगरपालिका । साविक वेलवा, मोतिपुर र डेउढाकला गाविस समाहित गरी २०७१ सालमा बाँसगढी नगरपालिका भएको थियो । २ सय ५ बर्गकिलोमिटर क्षेत्रफल र ६३ हजार बढी जनसंख्या रहेको नगरपालिका पुर्वपश्चिम महेन्द्र राजमार्ग सँगै जोडिएको छ । “सुन्दर हरियाली र सफा सहर, समृद्ध र समुन्नत बाँसगढी नगर” भन्ने मुल नारा बोकेको नगरपालिका विकास र समृद्धिको चरणमा छ । नगरको समग्र विकास भावी योजना, सम्भावना र चुनौती बारे बाँसगढी नगरपालिकाका नगर प्रमुख खडक बहादुर खड्कासँग कोहलपुर टुडेका समाचारदाता रावन विश्वकर्माले गर्नुभएको कुराकानीको केही सम्पादित अंश ।

स्वागत छ कोहलपुर टुडेमा

धन्यवाद ।

१.बाँसगढीकोे नगर प्रमुखमा निर्वाचित भईसकेपछि के कस्ता काम गर्नुभयो ?

बाँसगढीको विकास र समृद्धिको लागि हामीले जे जनताका विचमा आफ्ना प्रतिबद्धताहरु जाहेर गरेका थियौँ ति प्रतिबद्धताहरु पुरा गर्नका निम्ति हामीले नगर सभाबाट हाम्रो निति तथा कार्यक्रमहरु पास गर्‍यौ । सोही निति तथा कार्यक्रम अनुसार बजेट विनियोजन गरेर हामीले आफ्ना कामहरु अगाढी बढाइरहेका छौँ ।

२. नगरका भावि योजनाहरु के-के छन ?

निर्वाचनमा जे खालको जनताका विचमा हामीले हाम्रा संकल्प र प्रतिबद्धता गरेका थियौँ । ति संकल्प र प्रतिबद्धता बाँसगढीका आवश्यकता थिए । ति बाँसगढीका विकासका सम्भावनाहरु थिए । ति बाँसगढीका जुन विकासका सम्भावना र बाँसगढीका जनताका आकांक्षाहरुलाई सम्बोधन हुने गरी हामीले अल्पकालिन, मध्यकालिन र दिर्घकालिन रुपमा विकासका मोडलहरु तयार गरेर अगाढी बढ्न खोजेका छौँ ।
खासगरी स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेका छौँ । त्यसपछि कृषि, पर्यटनको माध्यमबाट स्वरोजगार सृजना गर्ने कुरालाई पनि हामीले प्राथमिकतामा राखेका छौँ । त्यसको साथ साथै यो ग्रामिण क्षेत्र हो । कृषि क्षेत्रमा उत्पादन भएका बस्तुहरुलाई बजारसम्म पुर्‍याउने र किसानहरुलाई आवश्यकता पर्ने बस्तुहरुलाई गाँउसम्म ल्याउनका निम्ति पुर्वाधार पनि महत्वपुर्ण हुन्छ । पुर्वाधार निर्माणको लागि बाटो बनाउने कुरा, पुल बनाउने कुरालाई पनि प्राथमिकतामा राखेर बाँसगढीका सबै जनताको समृद्धिको यात्रालाई सिरमा बोकेर अगाढी बढीरहेका छौँ । ति सबै कामलाई क्रम्रिक रुपले पुरा गर्ने कुराको हामीले संकल्प गरेका छौ ।

३.बाँसगढीका आम नागरिकहरुको अवस्था परिवर्तन गर्नका लागि के कस्ता योजना छन ?

व्यवस्था परिवर्तनका निम्ति ७२/७३ वर्ष निरन्तर रुपमा नेपाली जनता संर्घषमा थिए । संर्घष र जनताको बलिदानबाट आज व्यवस्था परिवर्तन भएको छ । तर जनताको अवस्था उस्तै छ । त्यसो भएकाले जनताको आर्थिक अवस्था सुदृढ गर्न हामीले स्वरोजगार सृजना गर्ने खालका कार्यक्रमहरु अगाढी बढाउन खोजेका छौ । खास गरी हाम्रो देशको अर्थतन्त्रको मुख्य मेरुदण्ड भनेको कृषि हो । कृषिलाई प्राथमिकताका साथ अगाढी बढाउन खोजेका छौ । बाँसगढी नगरपालिकाको बिच भागमा पुर्वपश्चिम राजमार्ग छ । यो एउटा हाम्रो मुख्य सम्भावना हो भनेका छौँ । राजमार्गको दक्षिण तर्फको भुभागलाई बबई नहरले सिचाई हुन्छ भने राजमार्ग भन्दा उत्तर तर्फको भुभाग सिचाई हुन सकेको छैन । हामीले बाँसगढीको गौरवको योजनाका रुपमा बाँसगढी वडा नं २,३,४,८,९ वडा जो राजमार्गभन्दा उत्तरतर्फ रहेको जमिन छ, त्यसलाई पुर्ण रुपले ५ वर्ष भित्र सिचाई गर्ने योजना बनाएर हामी अगाडी बढेका छौं । त्यसको डिपिर तयार गर्दैछौ ।

दक्षिण तिर जोे नहरले पनि सबै ठाँउमा सिचाई पुर्‍याउन सकेको छैन त्यो ठाँउलाई पनि सिचाई गर्ने हाम्रो योजना छ । कृषिलाई बढावा दिन, कृषिको उन्नती र विकासका लागि किसानलाई आवश्यकता पर्ने भनेको सवैभन्दा पहिले सिचाई हो । उन्नत खालको विउ हो, समयमा चाहिने मल हो, त्यसपछि प्रविधि होे । यि सबै कुरा भैसकेपछि बजार हो । त्यसकारण यि सबै कुराहरुलाई जोडेर अगाढी बढ्न बृहत योजना सहित अगाडी बढेका छौं । यो प्रतिबद्धता पुरा गर्न हामीले विभिन्न खालका कार्यक्रमहरु अगाढी बढाईरहेका छौ । यिनै कुरालाई हामीले मुख्य अर्जुन दृष्टि बनाएर काम गरिरहेको सबै जनतालाई जानकारी गराउन चाहान्छु ।

४.हालसम्म तपाईले परिणाम आउने खालका कामहरु के के गर्नुभयो नी ?

दुई तिन महिनामा नै परिणाम आउँदैनन तर हामीले सरसफाई, स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा सुरुवात गर्ने काम भएको छ । अर्को भनेको छोरी हुने बितिकै मानिसलाई पिडा भएकोे महशुस अन्त्य गरेका छौँ जसमा छोरी सुरक्षा कार्यक्रम अन्तर्गत छोरी जन्मिएपछि ५ हजार रुपैयाँ खातामा जम्मा गरिदिने जसलाई १५/१६ बर्षपछि बंैकले ६ गुणा भन्दा बढी पैसा दिने गरी हामीले बैंकसँग सम्झौता गरेका छौ । कृषि क्षेत्रमा किसानहरुका लागि कृषि र पशुका लागि पुर्ण र निशुल्क विमा कार्यक्रम लागू गरेका छौँ । यसरी हामीले विभिन्न क्षेत्रमा यि खालका कार्यक्रमहरुको सुरुवात गरेका छौँ । हामी निर्वाचित भइसकेपछि बजेट पासको चटारो थियो । हामी अन्तिम असार, बर्खा, दशै तिहार र निर्वाचन भयो । यि सबै कारणले गर्दा विकासलाई स्पिटका साथ अगाडी बढाउन अवरोध आयो । अब हामी सबै क्षेत्रका जिम्वेवार व्यक्तिहरुसँग छलफल अन्तरक्रिया, संम्वाद चलाइरहेका छौँ । यी अन्तरक्रिया, छलफल र सम्वादहरुबाट बाँसगढीको समृद्धि र विकासका लागि सबैको सल्लाह सुझावहरु आउछ । त्यसलाई हामीले थप नितिगत रुपमा निर्णय गरेर हामी अगाढी बढ्छौ ।

५. काम गर्दै जादा कस्ता खालका समस्या र चुनौती आएका छन् नी ?

अहिले निति, नियम र कानूनका बाध्यता छन् । जनताका अपेक्षा धेरै छन् । हामीसँग स्रोत साधनको कमी छ । जनताले रोजगारीलाई नै प्राथमिकता ठान्नु भएको छ । मेहनत गर्नुभन्दा पनि सानो जागिर भए हुन्थ्यो भन्ने बुझाई छ जनताको । त्यसकारणले हामी मालिक बन्ने कि नोकर बनिरहने भन्ने बुझाउन जरुरी छ । थोरै भएपनि मालिक बन्ने मानसिकताबाट विकास गरेर अगाढी बढाउन सकिदैन, जवसम्म बाँसगढीको समृद्धि र विकासमा समस्या छन् । हिजोदेखि विभिन्न क्षेत्रहरुबाट ढिला सुस्ती र भष्टाचार भयो । यस्ता विषयले जनताहरु अझै शसंकित छन् । हामीले शुन्य सहनशीलतामा काम गर्ने कुरा, कर्मचारीहरुलाई लोकतान्त्रीक मैत्रीपुर्ण तरिकाले जनताको सेवालाई छिटो छरितो गर्ने कुराका बिषयलाई नै हामीले प्राथमिकतामा राखेर कमसेकम लोकतन्त्र र गणतन्त्रको जनताले अनुभुती हुने गरी हामीले काम गर्नु पर्छ भनेर जनप्रनिधीहरुलाई पनि तेहि तरिकाले स्कुलीङ गरेका छौँ र सबै सरकारी निकायहरु, गैरसरकारी निकायहरु संघ संस्थाहरुलाई पनि तेहि ढंगबाट काम गर्नका निम्ति प्रेरित गरिरहेका छौ उहाँहरुलाई सल्लाह सुझाव पनि दिईरहेका छौ र त्यसरी अगढी बढनका लागि हामीले निर्देशन पनि गरेका छौ ।

६.बाँसगढी नगरपालिकाको मुख्य आर्थिक स्रोतको सम्भावना के छ ?

बाँसगढीको मात्रै होईन देश भरीकै आर्थिक प्रमुख स्रोतको भनेको कृषि नै हो । कृषिलाई जब सम्म हामीले व्यवसायीकरण गर्न सकिदै, आधुनिकरण गर्न सकिदैन, औद्योगिकरण गर्न सकिदैन, त्यसलाई बजारीकरण गर्न सकिदैन तब सम्म बाँसगढीको विकास हुन सक्दैन । त्यसकारण जनताको अवस्था परिवर्तन गर्ने कुरा पनि कृषि नै हो । कृषि, पर्यटनलाई नै हामीले हाम्रो प्रमुख विकासको मेरुदण्ड बनाएका छौ । सोही अनुसार हामी अगाढी बढिरहेका छौ ।

७. अन्तमा आम नगरबासीहरुलाई केही भन्न चाहानु हुन्छ की ?

हामीलाई सकारात्मक सोचका साथ सबैले उचित सल्लाह सुझाव दिनु पर्यो हामीले कार्यान्वयनका निम्ति लिएका योजनाहरुमा सबैको सहयोग र सहकार्य हुनु पर्यो । हामीले सबै जनताको भावनाको प्रतिनिधित्व गर्ने गरी बाँसगढीको समृद्धि र विकास अगाढी बढाउन खोजिरहेका छौँ । कसैले आग्रह र पुर्वाग्रह ढंगले होईन बाँसगढीलाई नै आफ्नो शिरमा राखेर निष्पक्ष, स्वतन्त्र ढंगले मुल्यांकन गर्ने र उचित सल्लाह सुझाव दिने, आवश्यकता अनुसार आफ्नो कर्तव्य के हो र कर्तव्य पछि अधिकार आउछ भन्ने कुरालाई सम्झने, कर्तव्य र अधिकार एउटा सिक्काका दुई पाटा हुन भन्ने बुझ्ने र विकास निर्माणमा सहयोगी भुमिका निर्भाह गर्ने बाँसगढी आम नगरबासीहरुलाई अनुरोध गर्न चाहान्छु । हामी खुल्ला कितावका पानाका रुपमा सबैको सल्लाह र सुझाव लिएर बाँसगढीको समृद्धि र विकास गर्न चाहिरहेका छौँ ।