जिवमन्डल-२ (दोस्रो पृथ्वी) मा नेपाली बैज्ञानिक

जिवमन्डल-२ (Biosphere-2) एउटा सानो पृथ्वी हो । यो सन् १९८६ र १९९१ को बिचमा बनाइएको पृथ्वीको जिवमन्डल (Biosphere) को बिकल्पको रुपमा बनाइएको हो। यो अमेरिकाको ओराकल एरिजोना भन्ने ठाँउमा रहेको छ । खासमा यो बाह्य अन्तरिक्षमा मानब जीवनलाइ समर्थन,बस्ति विकास र व्यवस्थित राख्नका लागि बन्द पारिस्थितिक पद्धतिको ब्यवहार प्रदर्शन गर्ने अपेक्षा सहित बनाइएको हो। यो चन्द्रमा, मंगल ग्रह आदिमा मानववस्ती विकास गर्नु अघिको पुर्बाभ्यास (rehearsal) हो । यसको मुख्य उदेश्य अद्धितिय अनुसन्धान, प्रयोग, विज्ञान प्रशिक्षण र शिक्षा प्रदान गर्नु हो साथसाथै पृथ्वी प्रणाली तथा जीवनको गुणस्तर दिगो गर्नका लागि ठुला चुनौतीहरुलाइ सम्बोधन गर्न, प्राकृतिक र मानव निर्मित वातावारणको बारे हाम्रो बुझाईमा स्पष्ट पार्दै आगाडि बढाउनु हो ।

उक्त जिवमन्डलमा पहिलो मिसन (१९९१ सेप्टेम्बर २६ देखि २६ सेप्टेम्बर १९९४ सम्म ) मा ८ जना बैज्ञानिकहरु ३ वर्षसम्म बसेर अध्ययन गरेका थिए| दोश्रो मिसनका लागि ५ देशका ७ जना बैज्ञानिकहरु ६.५ महिनाका लागि खटिएका थिए । उक्त दोस्रो टोलिमा बैज्ञानिक अध्ययन अनुसन्धान गर्नका लागि नेपालबाट (नवलपुर) युवा बैज्ञानिक तिलक महत्तोले पनि अवसर प्राप्त गरेका थिए । रामपुर कृषि क्याम्पसबाट BSc(Ag) गरेपछि उनी अध्ययनका शिलसिलामा अमेरिका गएका थिए। उनि अहिले पनि अन्तराष्ट्रिय अन्तरिक्ष परियोजनामा सहभागी भैरहेकाछन् । बि.स. २०७९ साउन २० गते हिमालय फाउन्डेसनको सहकार्यमा NAST का बरिष्ठ बैज्ञानिक दिनेश भुजुको संयोजनमा उनै बैज्ञानिक तिलक महत्तोसँगको zoom video conference मा सहभागी भै निजले व्यक्त गरेका अनुभव र स्क्रीन सेयरको आधारमा यहाँ Biosphere-२ को विषयवस्तु बारे मुख्य चर्चा गर्ने प्रयास गरिएको छ ।

केहि समय पहिले नेपाली युवा वैज्ञानिक डा.लुजेन्द्र ओझाले अमेरिकी बैज्ञानिक अल्फ्रेड म्याकवेनको निर्देशनमा मंगल ग्रहमा पानी रहेको र त्यस समयमा मौसमी सतहि नुनिलो तरल पदार्थ प्रवाह भैरहेको छ भन्ने बलियो प्रमाणहरू पत्ता लगाएका थिए। उनले यसै बिषयमा २१ बर्षको उमेरमा पी.एच.डी.गरेका थिए । उनि अहिले रुटगर्स विश्वविद्यालयमा ग्रह विज्ञानका सहायक प्राध्यापकको रुपमा कार्य गरिरहेका छन्।

नेपालका कृषि इन्जिनियर डा.सुरेन्द्र अधिकारीले नासाका विभिन्न परियोजनामा सहकार्य गरिरहेका छन् । उनलाई NASA को समुद्री-तहको विज्ञानलाई अगाडि बढाउन र अनुसन्धानमा अन्तरविषय चुनौतिहरूको सामना गर्न आवश्यक सहकार्यमा ध्यान केन्द्रित गर्न चयन गरिएको थियो। उनले थुप्रै पुरस्कारहरु प्राप्त गरिसकेका छन् । त्यस्तै, नेपालको पहिलो भू-उपग्रह नेपाली स्याट–१ (NepaliSat-1) प्रक्षेपणको जिम्मा पाएका दुई वैज्ञानिकहरु आभास मास्के र हरिराम श्रेष्ठ हुन् । यिनीहरुको पहलमा Nepali sat-1 लाइ सन् २०१९ अप्रिल १७ मा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको परियोजना अन्तर्गत अन्तरिक्षमा छोडि सकिएको छ।

‘’A real experience of real life is in living Biosphere-2’’ भन्ने अनुभवको सार बोकेका नेपाली बैज्ञानिक तिलक महत्तोको संघर्ष,अनुभव र अध्ययन हाम्रो लागि गर्व गर्न लायक एक उदाहरणीय कार्य हो । उनका अनुसार Bio-2 मा ९१ फिटसम्म अग्लो आल्मुनियम र ८००० वटा लेमिनेटेड शिसाले बनाइएको बन्द घरमा ६५०० वटा झ्यालहरु राखिएका छन् । Bio-2 मा कुनै पनि पिलरहरु छैनन् सबै स्पेसमा अड्किने गरि बनाइएको छ । मानव निर्मित सबैभन्दा ठुलो हरितगृह (Greenhouse) ले काम गर्ने गरि व्यवस्था मिलाइएको छ ।

त्यसैगरि समुद्रबाट ट्रकका ट्रक पानी ल्याएर बनाइएको सबैभन्दा ठुलो समुद्र पनि यहि नै छ | १.२८ हेक्टर जमिनमा सबैजसो आधार शिसामा बनेका मुख्य ५ वटा बायोमहरु (Biomes) छन् ती हुन् समुद्र, सिमसार क्षेत्र, ट्रपिकल रेन्फोरेस्ट, घाँसेमैदान र मरुभूमि क्षेत्र । यो नमुना पृथ्वीको तल्लो भागलाई टेच्नोस्फेर (Techno sphere) भनिन्छ ।

२६ वटा हावा प्रशोधन यन्त्रहरुले, सुमुन्द्र भर्ने, तातो, चिसो,बर्षा, कुहिरो सापेक्षित आद्रता आदि सन्तुलन गर्ने कार्य गर्दछन् । हावा ,पानी र खाद्य पदार्थ सबैलाई Bio-2 भित्रै पुनःचक्रण गर्ने प्रविधि विकास गरिएको छ ।

यो परियोजना १०० बर्षसम्म राम्ररी चल्ने सक्ने गरि बनाइएको हो | Biosphere-2 स्वतन्त्र र स्वाबालम्बीरुपले चल्ने बनाइएकाले त्यहाँबाट कुनै पनि बस्तु बाहिर ल्याउन र कुनै पनि बस्तु भित्र लैजान पाँईदैन । त्यहाँ ३८०० प्रजातिका विरुवाहरु रहेका थिए । समुन्द्र सतहबाट ३८२० फिट अग्लोमा रहेको उक्त संरचनामा प्रशासनिक भवन, कक्षाकोठा, प्रयोगशाला, सभाहल, प्रबिधि कार्यालय, घर, गोठ आदि रहेका छन् । कम्पुटर सिस्टम,वर्कशप र पुस्तकालय माथिल्लो तल्लामा छ। बोटविरुवाहरु,बाली, बगैचाहरुमा कुनै प्रकारको रसायनिक मल र विषादी प्रयोग गरिएको छैन । तिनीहरुको सबै व्यवस्थापन,उत्पादन मिसनमा गएका ७ जनाले नै गरेका थिए ।

७ जनाकै सहकार्यबाट आफुलाई चाहिने अन्नबाली, फलफूल, दुध, मासु, अन्डा आदि उत्पादन गरिएको थियो । प्रशस्त मात्रामा खनिज पदार्थ भएको,प्रशस्त रेशादार,कम क्यालोरी कम फ्याट भएको प्राय: सादा खाना खाइएको थियो । खानामा मिक्स सलाद ,स्टार्चयुक्त फलफूल (प्राय केरा) गेडागुडी,  तरकारीहरु (२/३ थरिको ) जम्मा गरि दैनिक २२०० क्यालोरी शक्ति जति नै बढी स्वस्थकर मानिएकले त्यसैको बढी प्रयोग गरिएको थियो। प्राकृतिक ग्याँसलाइ इन्धनको रुपमा र इन्धनलाई ग्याँसमा बदल्नका लागि २ वटा जेनेरेटर राखिएका छन् । बाहिरी संसार बुझ्न र बुझाउनका लागि,TV,Radio हरु राखिएका छन् । ८०० वटा सेन्सरहरु राखिएका छन् । कुनै समस्या आउन नपाओस् भनेर प्रत्येक उपकरण र बयोस्फेरिक सिस्टम चेकजाँच गरिरहनु पर्छ । रातदिन केहि न केहि कार्य (बाँडफाँड अनुसार) मा असाध्य व्यस्त हुनुपर्छ।  हरेक दिनका अवलोकन,  रेकर्ड  र प्रतिवेदन अध्ययन केन्द्रमा पठाउनु पर्छ । खाना,  खाजा, उत्पादन,  तयारी र सूचना आदान-प्रदानमा नियमित जुट्नु नै पर्थ्यो । कहिलेकाँही मनोरन्जनका लागि फिल्म हेर्ने, ब्याडमेन्टन खेल्ने, बास्केटबल खेल्ने, जिम जाने, शारीरिक व्यायाम गर्ने आदि गरिन्छ । फोहर पदार्थलाइ प्रसोधन गरि मल र विभिन्न शक्तिमा बदलिन्छ । ग्याँसबाट बिद्युत निकालिएको छ ।  पशु र बालीको एकीकृत माटो कृषि प्रणाली लागु गर्न ०.२२ हेक्टर क्षेत्रफ़लमा १८ वटा प्लेटमा छुट्याइएको छ ।दुध, मासु र अन्डाका लागि तल्लो भागमा कुखुरा, हाँस र गाइ पालिएको थियो । जनावरसँग जाँदा बुट पन्जा आदि लगाएर सुरक्षित तवरले जानुपर्थ्यो । सहभागीका प्रश्नको उत्तर दिदै बैज्ञानिक महत्तोले २ घण्टा बढी Bio-2 र आधुनिक कृषि खेतीका बारेमा व्याख्या गरेका थिए ।

४५% देखि ५०% प्रकाश फिल्टर गर्ने ग्लास राखिएको छ| UV-rays नजाने गरि अक्सिजन लेवललाइ १४% भन्दा तल राखिएको छ  । CO2 लेवललाइ (3000 -4000)ppm मा राखिएको थियो । अक्सिजनको लेवल sept.1991 मा 20.94% sept.1992 मा 16.94% र Jan 1993 मा 14% मा झरेको थियो। तत्काल मानब स्वास्थ्यमा असर पार्न थालेपछि निकै डरलाग्दो र शसंकित परेको थियो । अध्ययन अनुसन्धानबाट माइक्रोब्याटोरियल अक्सिडेसनमा कमि, प्रकाश लेवलमा कमि र फोटोसेन्थेसीस लेवलमा कमि भएकाले अक्सिजन कम हुन गएको थाहा
भयाे । मानिसले गरेका हरेक गतिविधिले तत्काल प्रणालीमा असर परेको देखियो| बाच्नका लागि हरेकले अपनाएको मितव्ययिता, उत्तरदायित्व, समन्वय र सहकार्य निकै महत्वपूर्ण भूमिका रह्यो । सबैको बसाईं फरक र अनुभव पनि फरक-फरक नै रह्यो । यो परियोजना भित्र जाँदा र फर्किदा गरिएका मनोबैज्ञानिक परिक्षणहरु समान (उस्तै-उस्तै) नै भेटियो । आधुनिक विज्ञानको खोजि तथा प्रविधि चरम विकास भैरहेको बेला,मानिसले छुट्टै सानो पृथ्वी(small earth) बनाउन लागिरहेका बेला हामीले आफ्नो सानो सहरको स्वस्थ वाताबरण बनाउन, भरपर्दो शिक्षा-स्वास्थ्यको ग्यारेन्टी गर्न, बिजुली, ढल व्यवस्थापन गर्न, आवश्यक पर्ने फलफूल खेतिपाति उत्पादनको पद्धति सुधार्न नसक्नु निकै नै दुखद र विडम्बना पूर्ण छ ।

बद्रि ढकाल (हिरामणि)
विज्ञान शिक्षक र विज्ञान स्रोत व्यक्ति