मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमबाट २ हजार ७ सय बढि विद्यालय लाभान्वित

भीम रावत , बाँके ।

लुम्बिनी प्रदेश सरकारले सञ्चालनमा ल्याएको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमले आ.ब.२०७८/०७९ मा लुम्बिनी प्रदेशभरी रहेका करिब ४ हजार ६ सय सामुदायिक विद्यालयहरु मध्ये २ हजार ७ सय ७९ विद्यालय यो कार्यक्रमबाट लाभान्वित भएका छन् । मुख्यमन्त्री संयोजक रहेको निर्देशक समितिका सदस्य सचिब एवं कार्यक्रम कार्यान्वयन तथा समन्वय इकाईका निर्देशक ग्रीस पुनले समीक्षा बैठकमा प्रस्तुत गरेको तथ्यांकले सो देखाएको छ ।

सोमबार प्रदेश राजधानी राप्ती उपत्यकामा आर्थिक वर्ष २०७८/०७९ को वार्षिक समीक्षा बैठकमा कार्यक्रमका निर्दैशन पुनले नयाँ कार्यविधि अनुसार छोटो समय र स्थानीय निर्वाचनको कारणले काम गर्न थुप्रै कठिनाइहरुका वाफजुत पनि जिल्लामा रहेका हाम्रा समन्वयकर्ताहरुको निरन्तर पालिकाहरु सँगको सहकार्यमा ९३ प्रतिशत वित्तीय उपलब्धी सहित योजनाहरु सफलतापूर्ण रुपमा सम्पन्न भएको बताए ।

कार्यक्रमबाट मुख्य गरेर विद्यालय पुनर्निर्माण तथा मर्मत संहार, रंगरोगन, बगैचा निर्माण, खानेपानीको व्यवस्थापन, शौचाल निर्माण,घेराबार तथा पर्खाल निर्माण, प्रविधिमैत्री अध्यन अध्यापनका लागि आवश्यक विद्युतिय सामाग्रीहरुको व्यवस्थापन जस्ता कार्यहरु गरिएको समिक्षा कार्यक्रममा जानकारी दिइएको थियो ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री कुल प्रसाद केसीका प्रमुख राजनैतिक सल्लाहाकार अमर बहादुर डाँगीले परम्परागत शिक्षा प्रणार्माणलीलाई आधुनिक पद्धतीमा रुपान्तरण गर्न सके समाज परिवर्तन गर्न सकिने बताए । उनले आधुनिक शिक्षाका नाममा पश्चिमा संस्कार सिकाउने कुरा व्यवहारीक नभएको भन्दै नेपाली समाजमा आधारीत शिक्षा प्रणाली लागु गर्नु पर्नेमा जोड दिए ।

नेपालमा रहेको हिमाली संस्कृती आर्य सभ्यता भन्दा पनि पुरानो भएको जानकारी दिदै डाँगीले नेपाली शिक्षा र परम्पराको पुस्ता हस्तान्तरण हुन नसकेको दुखेसो समेत पोखे । उनले मानिसको ज्ञान र सिपलाई प्रविधिसँग, प्रविधिलाई श्रमसँग, श्रमलाई उत्पादक र उत्पादकत्वसँग र उत्पादकत्वलाई बजारसँग नजोडि नेपाल संवृद्ध हुन नसक्ने भएकाले अबको शिक्षा नीतिलाई प्राथमिक तहदेखि नै यस अनुकूलको कनाउने जोड दिनुपर्ने बताए ।

लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयका सचिव नेत्र प्रसाद सुवेदीले कार्यक्रम कार्यान्वयमा देखिएको कठिनाइका विषयमा आफु जानकार रहेको बताउँदै सहजिकरणका लागि तयार रहेको बताए । उनले मन्त्रालयका कारण मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम प्रभावित हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा मुख्यमन्त्री कार्यालयका उप–सचिव यमकान्त पाण्डेय, प्रदेश शिक्षा निर्देशनालयका निर्देशक मनोज गैरे, राप्ती गाउँपालिका दाङका अध्यक्ष प्रकाश बिष्ट लगायतले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका कारण कतिपय विद्यालयको मुहार फेरिएकोमा खुसी व्यक्त गरे । उनीहरुले कार्यक्रम निरन्तरताका लागि पहल गर्न सरोकारवाला निकायलाई आग्रह समेत गरे ।

कार्यक्रमको मुख्य कार्यालय दाङको देउखुरीमा रहको छ । प्रदेशको १२ वटै जिल्लामा समन्वयकर्ताहरु सहभागि रहेको समीक्षा बैठकमा बाँकेका कार्यक्रम समन्वयकर्ता भीम रावत, पूर्वि रुकुमका समन्वयकर्ता दुर्गा गौतम, पाल्पाकी समन्वयकर्ता राधा नेपाली, अर्घाखाँचीकी समन्वयकर्ता सुशिला गाहा लगायतले आ-आफ्नो जिल्लाहरुमा काम गर्दा भोगेका समस्याहरु आगामी दिनमा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमलाई प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने बारेमा सुझावहरु समेत राखेका थिए । यो कार्यक्रम स्थानीय तहहरुसंगको समन्वयमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका १ सय ९ स्थानीय तहहरुमा नै सञ्चालन भैरहेको छ ।