हँसियाहथाैडामा मत दिन्न भन्नेहरू कांग्रेस हुन पाउन्नाै, कांग्रेस होइनाै, विनोद चाैधरी, उमेस श्रेष्ठहरू कांग्रेस हुन्, तिनलाई नेता मान, कृष्णलाल, जगन्नाथ, भीमबहादुरहरू हँसियाहथाैडामा भोट हाल्दैनन्, ति कांग्रेस होइनन्,
त्यस्ता कांग्रेस हुन सक्दैनन भन्ने पनि वीपी कै सिद्धान्त थियो र ? रामचन्द्र दाइसँग खुल्ला प्रश्न ।
सत्ता स्वार्थका लागि अप्राकृतिक गठबन्धन गर्न चाहेको भए के वीपी जेल बस्नु पर्थ्यो ? राजासँग वीपी किन मिल्न चाहनु भएन ? त्यहाँ विचार, सिद्धान्त र दर्शनको दरार भएर हैन र ?
तर तपाईहरू सत्तामा जादा मिल्ने अलग कुरा हो, जनताकोमा जादा किन माओवादीसँग मिल्नु भयो ? सदस्यलाई माओवादी हुन किन दिनु भयो ?
मनभरी प्रश्न उठेको छ । तपाईंहरू जस्ता नेताका कारण पार्टीका सदस्यहरू आज अर्काको चुनाव चिन्हमा मत हाल्ने बनाउनु भयो, आज तपाईको आदेशमा अर्काको चिन्हमा मत हाल्ने सदस्यले भोली तपाईंले आदेश नदिंदापनि त्यतै मत हाल्न पाउने की नाई ?
आज मत हाल्नेले भोली त्यही पार्टीमा जादैन भन्ने के ग्यारेन्टी छ ?
शुद्ध पहिचान भएको कांग्रेसलाई माओवादी, समाजवादी, मधेशवादी… मिलेको वर्णशंकर बनाउनुभयो,
भ्रष्टाचारी, दलाल र माफियाको घेरामा परेर नेताहरूको जीवन त केही सजिलो र सुखमय भयो होला,
तर जनतालाई भुल्नु भयो, लोकतन्त्र विर्सनु भयो ।
नेतृत्वको गलत निर्णयले गर्दा शुद्ध कांग्रेसको पहिचान अब कहाँ खोज्ने ? वीपीले निर्माण गरेको शुद्ध कांग्रेस अब कहाँ छ ?
हिजो सम्पत्ती लुटीने, आफन्त गुमाउने र अंगभंग हुने अवस्थामा पनि कांग्रेस भएर स्वाभिमानसँग बसेका सदस्यलाई आज त्यही लुटेरा, अपराधीलाई सम्मान गर, मत दे नत्र कांग्रेसमा नबस भन्नु भयो, एकपटक त्यो पिडितको आत्माले के भन्यो होला सोच्नु भएको छ ?
वा रे वा !
तपाईंहरू जस्ता नेताले कांग्रेस अझै वीपीकै सिद्धान्तमा चलेको छ भन्दा दकससम्म पनि लागेन ?
मै जस्तो फुच्चे पनि वीपीप्रतिको श्रद्धा, विश्वास र आस्थाले उनको विचार र सिद्धान्तको रक्षार्थ पटकपटक गरी ७१९ दिन जेल र पुलिस हिरासत बसे ।
किन बसे होला ?
त्यसको प्रतिफल आजसम्म तपाईंहरूसँग केही मागिन, अब पनि माग्ने छैन । तर हामी जस्ताको शक्ति नेतृत्वले दुरुपयोग गरेको देख्दा, कांग्रेसलाई कमजोर बनाएको देख्दा मनमा असंख्य प्रश्नहरू उठ्छन् ।
तपाईंप्रतिको विश्वास गुम्छ, वीपीले भने जस्तै तपाईंहरू जस्ता सुकिलामुकिलाका विरूद्ध अभियान चाल्न मन लाग्छ ।
हिजो लोकतन्त्रका लागि जीवन अर्पने जमात अहिले तपाईं र सेरबहादुरजीले भन्नु भयो भने पनि हिजोको जस्तै आस्था र विश्वास बोकेर कति जना ज्यानको बाजी लगाउन तयार होलान् ?
अनुमान गर्नु भएको छ । हुनत्, सत्ता, शक्ति र सम्पत्तिको साथ हुसँदासम्म श्रारीलङ्काका जपक्षलाई पनि पपुलर नै छु भन्ने लागेकै हुँदो हो ।
सम्झनुहोस् त …
राजनीति कहाँ पुर्याउनु भयो तपाईंको पुस्ताले ? एकछिन एकान्तमा बसेर सोच्न तपार हुनुहुन्छ ?
कहिले कम्युनिष्टहरू एक हुने भए भनेर रूदै हिड्नु हुन्छ । कांग्रेस कमजोर भयो भनेर किन कहिल्यै सोच्नुहुन्न ?
के फरक पर्छ कम्युनिष्टहरू एक हुँदा ?
उनिहरूको दर्शन र सिद्धान्तले कहाँ जितेको छ ?
मार्क्सवाद/लेलिनवाद/माओवाद कहाँ लागु भएको छ ?
नेपालका कुन कम्युनिष्ट मार्क्सवादी/लेलिनवादी/माओवादी हुन सकेका छन् ?
जस्को आफ्नो दर्शन कामयावी छैन, जो आफैमा हारेका छन्, तिनिहरूको एकतामा किन डराउनु पर्छ ?
ति सबै वीपीको प्रजातान्त्रिक समाजवादको फेरो समात्न वाध्य भएका कुरा किन जनतालाई भन्न सक्नुहुन्न ?
कांग्रेसको नीतिले जितेको कुरा किन जनताले थाहा पाउन सकेनन् ?
२०४८ देखी आजसम्म निरन्तर नेतृत्वमा बस्ने तपाईं र सेरबहादुरजीले यसको जिम्मा लिनु पर्दैन ?
म जस्ता जनताका मनमा यस्ता थुप्रै प्रश्नले बास गरेका छन् ।
त्यसैले त तपाईं जस्ता नेताको खुट्टा कामेको छ, विश्वास डगमगाएको छ र उभिन पनि माओवादी, समाजवादी, मधेशवादी… को लाैरो खोज्दै हुनुहुन्छ ।
सन्तति प्रति विश्वास नभएका व्यक्तिहरूको हालत तपाईंहरूकै जस्तो हुन्छ…
एक पटक सोच्नुहोस् त
६२ वर्षको उमेरमा पार्टीका सबै जिम्मेवारी हस्तान्तरण गरेर अभिभावक भन्ने वीपीको सिद्धान्त अहिलेका कांग्रेसका कुन नेता मान्न तयार छन् / हुनुहुन्छ ? अझै पनि सेरबहादुरजी र तपाईंको पुस्तालाई नै अवसर, पद र प्रतिष्ठा चाहिने ?
के आजीवन आफु र परिवारका लागि पद खोज्ने नेताका कारण मुलुकको लोकतन्त्र धरापमा परेको हैन ?
तपाईंहरूको पुस्ता कहिले हो अभिभावक बन्ने ?
यस्ता प्रश्नको उत्तर के तपाईंको मनले खोज्दैन ? खोज्नु पर्दैन ?
जनतालाई जवाफ दिन पर्दैन ?
तपाईंको पुस्ता सम्मानित बनेर बसोस् भन्ने चाहना राख्ने जति के तपाईका दुस्मन हुन् ?
साच्चै भन्नुहोस् त रामचन्द्र दाइ, के अहिलेको कांग्रेसले वीपीको सिद्धान्त मानेको छ ?
मान्न तयार छ ?
केशवराज पाैडेल
तपाईको शुभचिन्तक वीपीले जन्माएको कांग्रेसलाई माया गर्ने एक नेपाली नागरिक
भरतपुर, चितवन
काेहलपुर टुडे । ८ श्रावण २०७९, आईतवार १२:५६