प्रदर्शनकारीहरूले राष्ट्रपति कार्यालय क्षेत्र छोड्नु भन्दा घण्टौँ अघि सयौँ सेना र प्रहरीले उनीहरू विरुद्ध आक्रमण सुरु गरेका थिए। बीबीसीका भिडिओ पत्रकारलाई एक जना सेनाले कुटपिट गरेका छन् भने अर्काले उनको फोन खोसेर त्यसमा रहेका भिडिओ हटाइ दिएका छन्।
रनिल विक्रमसिङ्घले राष्ट्रपति पदको शपथ लिएपछि यस्तो घटना भएको हो। श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबय राजपक्षले गत साता देश छोडेर भागेका थिए। पूर्व प्रधानमन्त्री समेत रहेका विक्रमसिङ्घ जनतासामु अलोकप्रिय नेता हुन्। उनले प्रदर्शनकारीहरू विरुद्ध कडा कारबाही गर्ने वाचा गरेका छन्।
केही प्रदर्शनकारीहरूले भने उनलाई मौका दिने बताएका छन्। चरम आर्थिक सङ्कटमा परे पछि श्रीलङ्कामा महिनौँदेखि व्यापक अशान्ति छाएको छ। धेरैले राजपक्ष प्रशासनले देशको वित्तीय व्यवस्थापन सही ढङ्गमा नगरेको दोष लगाएका छन् र विक्रमसिङ्घलाई पनि समस्याको एक कारकको रूपमा हेर्छन्। उनले संसद्को मत जितेको भोलिपल्ट सडकमा प्रदर्शनहरू भए।
शपथ लिए लगत्तै विक्रमसिङ्घले सरकार ढाल्ने वा सरकारी भवनहरू कब्जा गर्ने कुनै पनि प्रयास लोकतान्त्रिक गतिविधि नभएको स्पष्ट पारे र त्यस्ता गतिविधिमा संलग्न हुनेलाई कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिए। प्रदर्शनकारीहरूमा सरकारले आफू विरोधी आन्दोलनलाई क्रमबद्ध ढङ्गले बन्द गर्न सक्ने चिन्ता थियो।
बीबीसी पत्रकारमाथि आक्रमण
बीबीसीका कोलम्बोस्थित संवाददाता अनबरसन इथिराजनका अनुसार मध्यरातमा कोलम्बोमा सरकार विरोधी प्रदर्शन स्थलमा सेनाले छापा मार्ने जानकारी पाएपछि उनीहरू श्रीलङ्काली राष्ट्रपति कार्यालय अगाडि पुगेका थिए।
केही बेरमा त्यहाँ सयौँ सशस्त्र सेनाहरू र दङ्गाका क्रममा शरीर जोगाउन लगाइने पोसाकमा प्रहरीहरू आएको उनले बताए। दुई वटा फरक दिशाबाट आएका उनीहरूको अनुहार छोपिएको थियो।
“उनीहरूको उपस्थितिमा प्रदर्शनकारीले आपत्ति जनाएपछि सुरक्षाकर्मी अघि बढ्न थाले र आक्रामक बने। त्यसपछि आन्दोलनकारीहरू पछाडि धकेलिए,” इथिराजनले सुनाए।
केही बेरमै सेनाले चिच्याउँदै शिविरको पाल र अन्य वस्तुहरू भत्काउँदै नष्ट गरेको उनले बताए। गत साता ठूलो भिड पसेको राष्ट्रपति कार्यालयमा पनि सेना प्रवेश गर्यो। “अभियन्ताहरूले आउँदो शुक्रवार दिउँसो भवन हस्तान्तरण गर्ने बताएका थिए। हामीले सेनालाई पच्छ्याउँदा उनीहरूले आफ्नो बाटो खाली गर्दै अगाडि बढेको देख्यौँ।”
प्रदर्शनकारीहरूलाई तोकिएको विरोध स्थलभन्दा एक सय मिटर पर सारिएको र उनीहरूलाई छेक्न फलामे बार खडा गरिएको इथिराजनले बताए। “हामी घटनास्थलबाट फर्किरहेका थियौँ। सेनाको वरपर साधारण पोसाक लगाएर उभिएका एक व्यक्तिले अचानक मेरा सहकर्मीलाई गाली गर्दै उसको मोबाइलबाट भिडिओहरू मेटाउन भने। केही सेकेन्डमै ती मानिसले मेरा सहकर्मीमाथि मुक्का हान्न थाले र फोन समेत खोसिदिए,” उनले थपे।
आफूहरू पत्रकार भएको र आफ्नो काम गर्न आएको बताउँदा समेत उनीहरूले मतलब नगरेको इथिराजनले बताए। बीबीसीका पत्रकारमाथि आक्रमण जारी रह्यो। घटनाक्रमबारे प्रतिवाद गर्दा बीबीसीकै अर्का पत्रकारको माइक फ्याँकिएको बताइएको छ।
भिडिओहरू मेटिएपछि मात्र मोबाइलमा फिर्ता दिइयो र अर्का सैन्य अधिकारीको हस्तक्षेप पछि मात्र उनीहरूलाई फर्कन दिइएको जनाइएको छ। बीबीसीले आक्रमणको बारेमा सेना र प्रहरीबाट प्रतिक्रिया लिने प्रयास गर्यो तर कोही पनि सम्पर्कमा आएनन्। श्रीलङ्कामा गत साता घोषणा गरिएको आपत्कालीन अवस्था अझै कायम छ।
नयाँ राष्ट्रपतिको लक्ष्य
विक्रमसिङ्घले राजनीतिक स्थायित्व पुनर्स्थापना गर्ने लक्ष्य लिएका छन्। देशलाई अभूतपूर्व आर्थिक सङ्कटबाट जोगाउन तीन अर्ब डलर बराबरको ‘बेलआउट प्याकेज’का निम्ति अन्तर्राष्ट्रिय मुद्रा कोषसँग वार्ता पुनः सुरु गर्ने उनको उद्देश्य हो।
खाद्यान्न, इन्धन र अन्य आधारभूत आपूर्तिहरूको तीव्र अभावको सामना गरिरहेको त्यस देशमा महिनौँदेखि विरोध प्रदर्शन भइरहेको छ। राजपक्ष र विक्रमसिङ्घको राजीनामा माग गर्दै गत साता हजारौँ प्रदर्शनकारीले र्याली निकालेका थिए।
प्रदर्शनकारीहरूले आफ्नो सरकारी निवासमा आक्रमण गरेपछि राजपक्ष जुलाई १३ को बिहान देश छोडेर भागेका थिए। सुरुमा मालदिभ्स पुगेका उनी त्यसपछि सिङ्गापुर गए र त्यहाँबाट आधिकारिक रूपमा राजीनामा दिए।
यद्यपि, विक्रमसिङ्घले भने राजीनामा दिएनन्। राजपक्ष देश छोडेर भागेपछि उनैले कार्यवाहक राष्ट्रपतिको भूमिका बहन गरेका थिए। कार्यवाहक नेता नियुक्त भएसँगै उनले देशका सेनालाई सार्वजनिक सुव्यवस्था पुनर्स्थापना गर्न “आवश्यक पर्ने सबै कार्य गर्न” आदेश दिए।
उनले देशमा भड्किएको अशान्ति रोक्न भन्दै यो साता पनि देशमा आपत्काल जारी रहेको घोषणा गरे। छ पटक प्रधानमन्त्री भएका विक्रमसिङ्घ दुई पटक राष्ट्रपति बन्ने दौडमा पछि परेका थिए। अब उनले सन् २०२४ को नोभेम्बरसम्म राष्ट्रपतिको बाँकी कार्यकाल पूरा पाउने छन्।
श्रीलङ्काबारे जान्नुपर्ने केही कुरा
टापु राष्ट्रः दक्षिण भारतनजिकै रहेको श्रीलङ्का सन् १९४८ मा ब्रिटिश शासनबाट स्वतन्त्र भएको थियो। त्यहाँको जनसङ्ख्या २.२ करोड छ। तीनवटा जातीय समुदाय – सिन्हाला, तमिल र मुस्लिम – ले देशको ९९ प्रतिशत हिस्सा ओगट्छन्
राष्ट्रपतिको शक्ति: श्रीलङ्काका राष्ट्रपति राज्य, सरकार र सेनाको शीर्ष व्यक्ति हुन्। तर उनले संसद्मा सत्तारूढ दलको नेतृत्व गर्ने प्रधानमन्त्रीसँग धेरै कार्यकारी जिम्मेवारी बाँडफाँट गर्नुपर्छ
शासनमा एउटै परिवारः राजपक्ष परिवारले श्रीलङ्कामा वर्षौँदेखि शासन गरेको थियो। लामो समय चलेको रक्तपातपूर्ण गृहयुद्धमा तमिल पृथक्तावादीहरू सन् २००९ मा पराजित भएपछि महिन्द राजपक्ष बहुसङ्ख्यक सिन्हालीहरूबीच नायक भए। त्यतिबेला रक्षामन्त्री रहेका उनका भाइ गोटाबय राजपक्षले देश छोडेर भागेपछि राजीनामा दिएका छन्
आर्थिक सङ्कटले आक्रोशः अहिले श्रीलङ्काली जनताहरू आक्रोशित छन्। त्यहाँ उपभोग्य सामग्रीको सहज आपूर्ति हुन नसकेकाले महँगी चुलिएको छ अनि खानेकुरा, औषधि र इन्धनको अभाव भएको छ। लोडशेडिङ बढेपछि आक्रोशित मानिसहरूले राजपक्ष परिवार र उनीहरूले नेतृत्व गरेको सरकारलाई दोष लगाउँदै सडकमा प्रदर्शन गरिरहेका छन् ।
स्राेत : बिबिसीबाट साभार
काेहलपुर टुडे । ६ श्रावण २०७९, शुक्रबार ०८:२९